सरकारले कांग्रेसलाई च्यालेञ्ज गर्योः कोइराला

वीराटनगर – नेकपा सरकारले एकपछि अर्को भौतिक आक्रमण गर्दै नेपाली कांग्रेसलाई चुनौति दिइरहेको कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बताएका छन्।

विराटनगरमा शुक्रबार आयोजित विजयादशमी शुभकामना आदानप्रदानका क्रममा डा.कोइरालाले संवैधानिक मौलिक हक अधिकारलाई कुण्ठित गर्दै दुईतिहाइ बहुमतको सरकारले मुलुकमा दण्डहिनता र हिंसालाई बढावा दिँदै गएको आरोप लगाए। उनले भने, ‘बहुमतको मात चढेको सरकारले नेपाली कांग्रेसका नेता कार्यकर्तालाई आक्रमण गर्दै च्यालेञ्ज गरेको छ।’

कार्यक्रममा उनले गएको डेढमहिनामा बाँकेमा जिल्ला सभापति किरण कोइराला, तनहुँमा केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालमाथि त्यसैगरि चितवनमा अभियानकर्ता ज्ञानेन्द्र शाहीमाथिको सांघातिक आक्रमण गर्दै सरकारले आफ्नो कमजोर मानसिकता प्रदर्शन गरेको बताए।

लोकतन्त्रमा दिनदहाडै अभिव्यक्ति स्वतन्त्रता हनन् गर्दै शाहीलाई मार्न नेकपाका कार्यकर्ता भीडेको उनले स्पस्ट पारे। अभिव्यक्तिको स्वतन्त्रतामाथि बन्देज लगाउने सरकारको नियतले लोकतन्त्रनै धरापमा पर्ने देखिएको उनले प्रस्टाए।

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र र संघीयता धरापमा पार्न पूर्वराजा तथा विप्लव समूह सक्रिय रहेको भन्ने कुरामा असहमति जनाएका नेता कोइरालाले भने, ‘गणतन्त्र र संघीयता धरापमा कसैले पार्दैछ भने त्यो सरकार आफैंले पार्दैछ। त्यसमा दुईमत छैन।’

त्यसैगरि पूर्वसभामुख कृष्णबहादुर महराको घटनाबाट प्रतिनिधिसभा पंगु भएको बताएका नेता कोइरालाले शक्ति पृथकीकरणमा प्रधानमन्त्रीले कार्यपालिकालाई बलियो बनाउँदै लगेको आरोप लगाए।

कार्यपालिकामार्फत प्रधानमन्त्री ओलीले सबै अधिकार आफ्नो निहीतमा राखेपछि मुलुकमा झन् भ्रष्ट्राचार मौलाएको उनको भनाई छ।

प्रधानमन्त्रीको कार्यकालप्रति टिप्पणी गरेका कोइरालाले, वाइडबडी विमानकाण्डमा रविन्द्र अधिकारी निर्दोष भएको भए, मुख्य दोषी अझैपनि किन सार्वजनिक गर्न नसकेको भन्दै प्रश्न गरे।

कार्यक्रममा अर्का केन्द्रीय सदस्य अमृत अर्यालले वर्तमान सरकार भ्रष्ट्राचारलाई प्राथमिकता दिँदै अघि बढेको बताए। उनले अरुण तेश्रो जलविद्युत योजनाको २५ अर्व रुपैयाँको निर्माण ठेक्का प्रधानमन्त्रीले बिना प्रतिस्पर्धा चीनको कम्पनी गेजुवालाई दिएर भ्रष्ट्राचारलाई बढावा दिएको आरोप लगाए।

असोज १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्