के थियो ‘सभामुख’ महराको दसैँ योजना?

काठमाडौँ – कृष्णबहादुर महरा बुधबारदेखि निवर्तमान सभामुख भइसकेका छन्। आइतबार बेलुका संसद सचिवालयकै एक महिला कर्मचारीमाथि जबरजस्ती करणी गरेको आरोप लागेपछि उनले आफू सम्बद्ध सत्तारुढ पार्टी नेकपाको निर्देशनमा मंगलबार नैतिकताका आधारमा राजीनामा दिए।

उपसभामुख शिवमाया तुम्बाहाम्फे समक्ष बुझाएको राजीनामाबारे संसद सचिवालयले बुधबार सूचना निकालेर जानकारी दिएपछि उनी पदमुक्त भइसकेका छन्।

दसैँको मुखमा राज्यको पाँचौ वरियता क्रममा रहेको सभामुख जस्तो गरिमामय पद गुमाउनु पर्दा यति बेला महरा घोर पछुतो मान्दै बालुवाटारस्थित सरकारी निवासमा दिन कटाइ रहेका छन्। आम नेपाली दसैँको रमझममा रमाइ रहँदा यो वर्षको दसैँ महरा र उनको परिवारका लागि ‘दशा’ बनेर आएको छ।

असोज २ गते संघीय संसदको वर्षे अधिवेशन अन्त्य भएसँगै महरा ‘दसैँ मुड’मा आइसकेका थिए। उनलाई बलात्कारीको आरोप लगाउने महिलाले आइतबार बेलुका महराले ‘आज मिलेर दसैँ मनाऔँ’ भन्दै रक्सी खान प्रस्ताव गरेको बताएकी छिन्।

तर, महरा परिवार यति बेला ब्राण्डेड रक्सी खाने र रमाइलोसँग दसैँ मनाउने अवस्थामा छैन। दसैँ मनाउने भन्दा पनि उनीहरु बालुवाटारको सरकारी निवासबाट कति बेला सर्न पाइएला भन्दै डेराको खोजीमा लागेका छन्। उनले बिहीबार नै सुरक्षाकर्मी फिर्ता गरेको गृहमन्त्रालयले जनाएको छ।

२०४८ सालदेखि नै सांसद भएका र २०६२/६३ को जनआन्दोलपछि उप्रधानमन्त्रीसहित ६ मन्त्री बनेका महराले अहिलेसम्म काठमाडौँमा घर नजोडेको उनी निकट व्यक्तिहरु बताउँछन्।

महरा परिवार यस वर्ष आफन्तजनको निधनका कारण टिकाटोलो गरेर दसैँ मनाउने तयारीमा थिएनन्। तर ४१ वर्षे राजनीतिक यात्राको उत्कर्षमा रहेका महराले दसैँमा आफ्नो निर्वाचन क्षेत्र दाङ र गृह जिल्ला रोल्पा जाने तयारी गरेका थिए।

त्यसैअनुसार उनले आफ्ना सचिवालयमा रहेका व्यक्ति र सुरक्षाकर्मीलाई पनि तयार अवस्थामा रहन भनेका थिए।

निवर्तमान सभामुख महरा निकट स्रोतले देश सञ्चारसँग भने, ‘यो दसैँमा उहाँले दाङ र रोल्पा जाने तयारी गर्नुभएको थियो। तर घटनापछि सबै योजना लथालिंग भएका छन्। कहाँ जाने के गर्ने भन्ने केही सोच्न सकिएको छैन।’

उनी फूलपाती (शनिबार) दाङ जाँदै थिए।

दसैँमा आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँग भेटघाट गर्ने र विकास निर्माणका कामको निरीक्षण गर्ने तयारीमा महरा थिए। स्रोतका अनुसार उनी दसैँ लगत्तै काठमाडौँ फर्किने योजनामा थिए।

तर, अप्रत्यासित घटनाले निवर्तमान सभामुख र उनको परिवार तनावमा छ, दसैँका लागि बनाइएका सबै योजना अलपत्र परेका छन्। यो वर्ष मात्र होइन उनीहरुका लागि आउँदा दसैँहरु पनि एउटा नरमाइलो क्षणको रुपमा रहने भएको छ।

अशोज १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू