चोरीमा संलग्‍न रहेको भन्दै प्रहरी निरीक्षक विभागीय कारबाहीमा

जनकपुरधाम-धनुषामा एकजना प्रहरीका कर्मचारी विभागीय कारवाहीमा परेका छन्।

एक्साभेटरको पाटपुर्जाको चोरीको कार्यमा संलग्न रहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक अवधकिशोर ओझालाई विभागीय कारबाही हुने भएको छ।

गत फाल्गुनमा पोखरी खनेर जंगलको जग्गामा क्षति र्पुयाएको भन्दै वन कार्यालयले मिथिला नगरपालिकाको पोखरीयाबाट एक्साभेटर समातेर प्रहरीलाई जिम्मा लगाएको थियो।

तर एक्साभेटर मालिक जनुलाल महतोले प्रहरीले बालुवा बासिङ्ग उद्योगीसँग मिलेर करिब ६ लाख बराबरको पाटपुर्जा बिक्री गरेको भनेर प्रहरीमा उजुरी दिएको थियो। उजुरी परेपछि प्रदेश प्रहरी कार्यालय जनकपुरले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

जिल्ला वन कार्यालयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको एक्साभेटरका पाटपुर्जा हराएको घटनामा प्रहरी निरिक्षक ओझाको दोष देखिएको भन्दै प्रदेश प्रहरी कार्यालय जनकपुरले उनलाई कारबाहीका लागि सिफारिस गर्न लागेको हो।

प्रहरी उपरीक्षक उमाशंकर पंजियारको संयोजकत्वमा ३ सदस्यीय छानबिन समितिले पाटपूर्जा चोरीको घटनामा प्रहरी निरीक्षक ओझा दोषी देखिएको ठहर गरी उनलाई विभागीय कारबाही गर्ने निष्कर्षमा पुगेको बताइएको छ।

छानविन समितीले बिहीवार प्रदेश २ का प्रहरी प्रमुख प्रद्युम्‍न कुमार कार्कीलाई प्रतिवेदन बुझाएको छ। चोरीको घटनामा प्रहरी निरीक्षक ओझा दोषी देखिएको पंजियारको नेतृत्वमा रहेको समितीले निष्कर्ष निकालेको प्रहरी स्रोतले जनाएको छ।

असोज १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्