यहाँ दसैँ होइन ‘सिकाली जात्रा’ मनाइन्छ (फोटो फिचर)

देशभर दसैँको रौनकले छाइरहँदा ललितपुरको खोकनाबासीमा भने सिकाली जात्राको चटारो छ। यहाँ दसैँकोभन्दा पनि प्राचीनकालदेखि मनाउँदै आइरहेको नेवार समुदायको पर्व सिकाली जात्रा धुमधामका साथ मनाइन्छ। त्यसैले यहाँका खेतहरुमा सिकाली जात्राको उत्साह देखिन्छ

यहाँका स्थानीयहरु पनि सिकाली जात्राका लागि एकजुट भएर काममा लागि रहेका छन्। खास गरी नेवार समुदाय अन्तर्गत डंगोल र महर्जनहरुको बसोबास रहेको खोकनामा प्राचिन कालदेखि नै सिकाली जात्रा मनाउँदै आएको छ।

विज्ञापन

खोकनाबासीहरुले आफ्नो आराध्यदेव र इष्टदेवका रुपमा खोकनाको मुख्य भागमा रुद्रायणीको मन्दिर रहेको छ।जुन मन्दिरलाई सिद्धिकाली पनि भनिन्छ।रुद्रायणीलाई हिन्दु तथा बौद्धमार्गीले समान रुपमा आदर गर्ने परम्परा रहेको छ।

यसका साथै सिकाली जात्रा परम्परागत नाँच, देवीको पूजा अनि आफन्त भेला भएर भोज खाने, रमाइलो गर्ने परम्परा रहेको छ।

खोकनामा परम्परागत जात्रा सञ्चालनका लागि तगु, सलागु र जगु गरी तीनवटा गुठी रहेका छन्। सिद्धिकाली अर्थात सिकाली जात्रा असोजको शुक्ल पक्ष तृतीयाको दिन हुन्छ। यो जात्रा नौ दिनसम्म नाँच गानका साथ चल्छ।

जात्राको सुरुवात अन्तर्गत प्रतिपदाको दिन गुठीका चार–चार जना कुमार केटालाई नुवाई धुवाई गरी गाउँ परिक्रमा गराइन्छ। उनीहरुले खोकनाको सिकाली चौर स्थित मन्दिरमा पूजा गर्छन्।

कुमार केटाले हरेक दिन नुहाउने र बेलुका मात्र एक छाक खाना खाने गर्छन्। भात खान पाउँदैनन्, अदुवा चाकु चिउरा, भट्मासलगायत मिसाइएको खाना खुवाउने चलन रहेको स्थानीय हरिराम डङ्गोलले जानकारी दिए।

मन्दिरका पूजारीलाई थकाली भनिन्छ। थकालीले रुद्रायणी मन्दिरमा हरेक दिन पूजा गर्छन्।सिकाली चौरमा ४ दिसम्म थकालीले पूजा गर्ने चलन छ। दोस्रो दिन पनि व्रत बसेका कुमार केटाहरुले रुद्रायणीको पूजा गर्छन्।उनीहरुलाई गुठियारले थकाली अर्थात् पूजारीको घरमा बसोबास गर्ने व्यवस्था मिलाएका हुन्छन्।

तृतीयाका दिन खोकनाका ३ वटै गुठीका गुठीयारहरू दिनभरि व्रत बस्छन्। त्यस दिन रुद्रायणी स्कूलको छेउ खेतबाट खोकना प्रवेश गर्न गेटछेउमा बली दिइन्छ। पूजा गरेर ३ वटा गुठीको राँगाका बली दिने गरिन्छ। गुठियारहरुले रागाको मासुको छोयला बनाउने र भोज खाने चलन छ। साझ पनि राँगाको मासुकै छोयला बनाएर भोज खाने चलन छ।

जात्राको चौँथो दिन पनि चार–चार जना कुमार केटाहरूले सिकाली चौरमा गएर पूजा गर्छन् यो दिन पनि प्रत्येक गुठीघर अगाडि राँगा काटिन्छ। गुठीघरमा राँगाको मासु पकाइन्छ र त्यसलाई सिकाली चौरमा लगेर भोज खाने चलन छ। राति गुठीघरमा वीरभद्र घ्याम्पो देउता प्रतिस्थापन गरिन्छ।

खोकनामा सिकालीको मुख्य जात्रा पाँचौ दिन हुन्छ।यो दिन रुद्रायणी मन्दिरबाट मुर्ति निकालेर खटमा राखिन्छ। खोकनाबासीहरुले घर घरबाट आएर पूजा खटमा राखिएको रुद्रायणीको पूजा गर्छन्।

साँझ सरकारी तहबाट उपलब्ध गराइएको राँगाको बली दिइन्छ र भोज खाने चलन छ। साँझ पनि खटमा मुर्ति राखेर जात्रा गरिन्छ र मुर्तिलाई पुनः मन्दिरभित्र पहिलेकै ठाउँमा राखिन्छ।

जात्राको छैटौँ दिन सबै गुठियारहरु सिकाली चौरमा जम्मा भएर रुद्रायणी गुठीका ४६ जवान देउता खलकले देवी नाच नाँच्छन् । वीरभद्र, महाकालीका रूपमा देउता खलकलाई तान्त्रिक विधिबाट निकालिन्छ। उनीहरू सिकाली चौरबाट नाच्दै गाउँ परिक्रमा गर्छन्।

जात्राका क्रममा विभिन्न गुठीहरुले देवीको मुर्ति झिक्ने र निकाल्ने गर्छन्।सप्तमीको दिन कोइलाछीमा देवताको नाँच गरिन्छ। यो दिन गुठियारका ४६ जनाले धार्मिक वस्त्र धारण गरेर नाँच नाच्ने गर्छन् ।

जात्राको आठौं दिन रुद्रायणीको मुर्तिलाई बाहिर निकालेर पूजा गरिन्छ र साँझ पुनः मन्दिरमा प्रतिस्थापन गरिन्छ।नवौँ तथा अन्तिम दिन खोकनाबासीले आ-आफ्नो घरमा पूजा गर्ने र भोज खाने गर्दछन्। यसरी खोकनाबासीले आफ्ना जात्रा सम्पन्न गर्छन्।

       


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।