दसैँमा यात्रा

जन्मथलोले भुलाउँछ यात्राको सास्ती

काठमाडौँ– दसैँमा घर जान सबैभन्दा सास्ती यतिबेला यात्रुले पाउने गरेका छन्। वर्षदिनमा आउने सबैभन्दा ठूलो पर्वमा जसरी पनि घर जानुपर्ने बाध्यता बनेको छ अधिकांश नेपालीका लागि।

दैलेखका लागि गोविन्द शाहीले पाँच गते नै बसपार्कमा तीन घण्टा लाइन बसेर १६ गतेका लागि टिकट लिएपनि दसैँमा उनले तय गरेको यात्रा सुखद हुन सकेन।

विज्ञापन

बिहीबार साँझ निर्धारित समयभन्दा एक घण्टा अगावै उनी बसपार्कमा पुगे, अनावश्यक झण्झट व्यहोर्नु नपरोस भनेर। तर आफ्नो टिकटमा भएको नम्बर अनुसार बस खोज्दा खोज्दै उनी लखतरान परे।

केही सीप नलागेपछि उनले सेक्युरिटी गार्डसँग सहयोग मागे। गोविन्द जस्तै सयौँको बस पहिचानमा खटिरहेका थिए सेक्युरिटी। बस पहिचान गर्न सुरक्षाकर्मीसँगै हिँडिरहे गोविन्द लामो समयसम्म।

पढाईका लागि बुवाआमाले पठाइदिएको रकम बचाएर उनीहरुलाई नयाँ कपडा किनिदिएका थिए गोविन्दले। तिनै कपडाले भरिएको उनको झोला अलपत्र पर्यो बसपार्कमा धेरैबेर। बस नपाउँदाको पीडा उनको अनुहारमा स्पष्ट देखिन्थ्यो।

पसिनाले भिजेका थिए उनले लगाएका नयाँ कपडा। तर पनि एकोहोर घुमिरहेका थिए रन्थनिँदै बस खोज्न। जव बस मिल्यो तव उनका आँखाबाट बरर आँसू झरे खुसीका।

नयाँ बसपार्कमा गोविन्द जस्ता सयौँ छट्पटिइरहेका थिए बस पहिचान गर्न नसक्दा।

म आफू स्वयंलाई पनि जन्मथलो सुर्खेतको बस पहिचान गर्न धौ धौ भयो, ठूल्ठूला झोला बोकेर आधाघण्टा भिडमा घुमेपछि मात्रै टिकट अनुसारको बस पहिचान गर्न सफल भएँ। तर मेरा आँखाहरु म जस्तै सास्ती पाइरहेका अन्य यात्रुतर्फ सोजिरहे लामो समयसम्म।

झापाकी ममता खनालले पाँच दिन अगावै टिकट काटिन् दसैँका लागि । पाँच बजे उनको बस बसपार्कबाट छुट्ने उनले लिएको टिकटमा लेखिएको थियो।

तर तोकिएको समयभन्दा अगावै बसपार्क पुगेकी थिइन् उनी। उनको डर पनि वास्तविकतामा परिणत भयो।  बस पहिचान गर्न असफल भएपछि उनले पनि गोविन्द जस्तै सेक्युरिटीको सहायता लिइन्। र बस पहिचान भएपछि उनले आफ्नो खुसी हाँसोबाट व्यक्त गरिन्।

साँघुरो ठाउँ, बस धेरै। यात्रुले पाइरहेको सास्तीभन्दा सक्दो धेरै टिकट बिक्री गर्ने बस सञ्चालकको धाउन्नेले गर्दा काठमाडौँको नयाँ बसपार्क यतिबेला सबैभन्दा अव्यवस्थित देखिन्छ।

त्यसका कारण सबै चाँजोपाँजो मिलाएर उपत्यकाको एकदेखि दुई घण्टाको ट्राफिक जामलाई छिचोरे यात्राका लागि बसपार्क पुग्नेहरुले थप सास्ती पाउने गरेका छन्, हातमा टिकट भएपनि।

बल्लतल्ल बस फेला पारेपनि सिट नपाउँदा रातभरि भुइँमा या मुडामा बसेर पनि घर पुगेका छन् कयौँ यात्रु। कयौँ त पहिले जस्तै छतमा यात्रा गरेको देखिए।

मसँगै एउटै बसमा यात्र गरेका सुर्खेतका एक जना बिरामी यात्रुले गुनासो गरे,‘मैले क्याविनको टिकट लिएको थिएँ। बसभित्र छिर्दा त्यहाँ ठेलमठेल गर्दै मानिसहरु बसिसकेका थिए। अव मुडामा भएपनि जान्छु। जसरी पनि जानै पर्नेछ ।’

बस सहचालकले बस्ने ठाउँ मिलाइदिन्छु भन्ने आश्वासन मात्रै दिए उनलाई। ती बिरामी रातभरी मुडामै बसे। तर जब उनी आफ्नो जन्मथलो झरे त्यसपछि उनी एकाएक मुस्कुराउँदै भने,‘रातभरि जति दुख पाएपनि आफ्नो ठाउँ आएपछि स्वर्ग जस्तै लाग्छ। अब बाआमालाई भेटेपछि सबै थकाई मेटिन्छ।’

यसो त उनीसँगै अर्का एक यात्रुले भुइँमै बसेर रात कटाए। बिहान पक एक यात्रुको सीट खालिएपछि बसका सहचालकले त्यहाँ गएर बस्न अनुरोध गरेपनि उनले मानेनन्।

भने,‘यत्रो लामो यात्र भुँइमा बसेर गरियो। अब त घर आइसक्यो किन बस्नु र? यसमै आनन्द छ।’ तर रातभरीको यात्राले उनको अनुहार थकित थियो।

सँगै यात्रा गरेकी एक महिलाले दसैँमा घर आउँदा हरेक वर्ष यस्तै दुःख खेप्दै आएको सुनाउँदै थिइन्। ‘टिकट लिँदा तपाईले राम्रो सीट पाउनुहुन्छ। यसपाली छिटो पनि पुगिन्छ भन्दै सुरुमा बस सञ्चालकले आश्वासन दिने गरेका छन् यात्रुलाई।’

तर घर जाने दिन दुःख पाएको जानकारी गराउँदा समेत सुने पनि नसुनेको जस्तै गरी पन्छिने गरेका छन्।

उपत्यकाबाट यसपाली १५ लाख भन्दा बढी मानिस दसैँका लागि आफ्नो थातथलोका लागि यात्रा गरेका छन्। तर उनीहरुमध्ये अधिकांशले यात्रामा सास्ती पाएको गुनासो गर्छन्।

टिकट नपाउने, भनसुन गरेर पाइयो भने सीट नपाउने, घण्टौँ ट्राफिक जाम छिचोल्नु पर्ने अवस्था छ। त्यसमाथि पनि बाटोमा राम्रो खाना नपाउने, शैचालयको अभावले समस्याग्रस्त भएका यात्रु सयौँ भेटिए।

केपी ओली नेतृत्वको सरकारले केही दिनअघि मात्रै नेपाललाई खुला दिसा पिसाब मुक्त राष्ट्र घोषणा गरेका थिए। तर यात्राका क्रममा शौचालय नपाएपछि कयौँले जंगल, बाटोको छेउ र पसलहरुलाई आड लगाएर दिसा पिसाब समेत गरेको भेटियो, राजमार्ग।


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

अशोज १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्