अनुभूति

जीवन एउटा उपहार हो, यो उपहारलाई सदुपयोग गर्न सक्नुपर्छ

म कुनै विज्ञ होइन। तर पनि म आफूले बुझेको र भोगेको कुरा सुनाउँछु।

म अहिले धेरै खुसी छु।

म आफैले आफूसँग वाचा गरेकी छु। म सधैँ आफ्नो स्वास्थ्यको ख्याल राख्नेछु। जिन्दगीले मलाई जिउनका लागि दोस्रो अवसर दिएको छ।

पछिल्लो समय सबैलाई स्वास्थ्यको महत्व बताउने गरेकी छु। जुन मैले केही वर्ष अगाडि मात्र थाहा पाएकी थिएँ। तपाईंहरुले पनि यो थाहा पाउन जरुरी छ।

मलाई स्वास्थ्यको बारेमा धेरै ज्ञान पनि थिएन र कुनै जिज्ञासा पनि थिएन। सायद एउटा बलिउड एक्ट्रेस भएका कारण पनि हुन सक्छ।

फिल्म स्टार वा एक्टरको लाइफ स्टाइल जस्तो हुन्छ, मैले पनि त्यसरी नै बिताइरहेकी थिएँ। सधैँ काममा व्यस्त भएँ, शरीरको ख्याल गरिन। मेरो शरीरले खोजिरहेको आरामको महशुस मैले गर्न सकिनँ।

मैले स्वास्थ्यको महत्व त्यतिबेला मात्र थाहा पाएँ, जब म क्यान्सरको अन्तिम स्टेजमा पुगेकी थिएँ र अस्पतालको बेडमा सुतिरहेकी थिएँ।

क्यान्सरको अन्तिम स्टेजमा पुगेपछि मात्र मलाई स्वास्थ्य कति महत्वपूर्ण रहेछ भन्ने कुरा थाहा भयो। त्यो बेला म अगाडि आएर सबैलाई क्यान्सरको बारेमा जनचेतना फैलाउन चाहन्थे। कोही पनि बिरामी भएर अस्पतालको बेडमा सुत्नु नपरोस्।

मलाई लाग्छ, जीवन एउटा उपहार हो। यो उपहारलाई हामीले सदुपयोग गर्न सक्नु पर्छ। सही तरीकाले जिउन सिक्नुपर्छ।

चाहे तपाईसँग जतिसुकै पैसा किन नहोस्, तपाई स्वस्थ हुनु भएन भने त्यो पैसाको कुनै महत्व हुँदैन। त्यसैले स्वास्थ्य भनेकै सबैभन्दा ठूलो सम्पत्ति हो। त्यो सम्पत्तिको उतरदायित्व हामी आफैले लिनुपर्छ।

म अझै विस्तृत रुपमा बुझ्दैछु, कसरी अझै स्वस्थ हुने।

रोगी जीउलाई कसरी निको पार्ने मैले बुझ्दै गएँ। धेरै डाक्टरहरुलाई भेटेँ।

सामान्यतया हामी सर्ने र नसर्ने रोग भनेर दुई प्रकारले चिन्ने गरेका छौँ। पहिला–पहिला सर्ने रोग धेरै देखा पर्थ्याे भने पछिल्लो समय नसर्ने रोग धेरै देखिन थालेको छ।

त्यसैले म भन्ने गर्छु, रोग लाग्नबाट बचौँ। यसका लागि हामीले सबै भन्दा पहिला हामीले हाम्रो लाइफस्टाइल परिर्वतन गर्न जरुरी छ। हामीले कुन कुरालाई कसरी लिन्छौँ? त्यही सबैभन्दा ठूलो प्रश्न हो।

स्वस्थ लाइफस्टाइल के हो? स्वस्थ हुनका लागि शरीरिक मात्र नभएर मानसिक र भावनात्मक रुपमामा पनि फिट हुन जरुरी हुन्छ। मलाई लाग्छ, हामीले गर्ने हरेक कुरा एक अर्कासँग जोडिएका हुन्छन्।

शरीरिक रुपमा स्वस्थ हुनका लागि हामीले स्वस्थकर तरकारी तथा फलफूलहरुको जति सक्यो त्यति धेरै सेवन गर्नुपर्छ। यो सँगसँगै राम्रो आहारको अति आवश्यक पर्छ।

सबैले आफ्नो आहारको बारेमा सोच्नुपर्छ। यदी तपाईंहरु मलाई सुन्नुहुन्छ भने ९० प्रतिशत अर्गानिक खानेकुराको सेवनले स्वस्थ रहन मद्दत गर्छ। अर्को महत्वपूर्ण कुरा भनेको नियमित व्यायम गर्न जरुरी छ।

घरको कामहरु गर्नुस्। अझ सबैभन्दा महत्वपूर्ण कुरा दैनिक ८ देखि ९ घण्टा सुत्ने गर्नुस्। हामी कमै मानिसहरुमा यो बानी छ, तर हामीले यति सुत्नुपर्छ नै। निद्राले तनावलाई कम गर्न मद्दत गर्छ।

स्वस्थ हुनका लागि दैनिक ८ देखि ९ घण्टा सुत्नु, राम्रो आहारबिहार, दैनिक व्यायाम अनि सकारात्मक सोचाई राख्नुपर्छ।

हामी मानव हौँ, प्रत्येकले दुःख, पीडा भोगिरहेका हुन्छौँ। तर पनि ती दुःख पीडालाई ट्याकल गर्न सक्ने क्षमता हामी सबैमा हुन्छ। यो बेलामा मेडिटेशन गर्न सकिन्छ, जसले तनावलाई कम गर्ने काम गर्छ।

बिरामी हुँदा मनोवलले ठूलो भुमिका खेल्ने गर्छ। यो बेला मनोबल बलियो पार्नुपर्छ।

(भाष्कर–तेजश्री स्मृति प्रतिष्ठानद्वारा  बुधबार आयाेजित एक कार्यक्रममा मनिषा कोइरालाले दिएको मन्तव्यको सम्पादित अंश)

असोज १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्