१२ लाख बराबरको पटाका बाेकेकाे गाडीसहित तीन जना पक्राउ

वीरगञ्ज– दीपावली निजिकएसँगै बाराका विभिन्न नाका प्रयाेग गरेर तस्करहरुले भारतबाट अवैध रुपमा पटाका भित्र्याउने गरेकाे पाइएकाे छ।
सोहीक्रममा बारा प्रहरीले ठूलो परिमाणमा भारतबाट तस्करी गरेर ल्याइएको अवैध पटाकासहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले पटाका तस्करी गर्ने कार्यमा प्रयोग गरिएको एउटा बोलेरो गाडीसमेत नियन्त्रणमा लिएको छ।
प्रहरीले बाराको कलैया उप–महानगरपािलका वडा नम्बर १३ छोटकी फुलवरिया टोलबाट १२ लाख रुपैयाँ बराबरको पटाकासहित जितपुर–सिमरा उपमहानगरपािलका वडा नम्बर १८ बडहर्वा टोलका २० वर्षका सुकमान लामा,कलैया उपमहानगरपािलका वडा नम्बर १ का २० वर्षका वीरेन्द्र यादव र सोही ठाउँका मोतिबाग टोलका १८ वर्षका रुपेश दासलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई विभन्न ब्राण्डका ८ बोरा पटाकासहित पटाका तस्करीमा प्रयोग भएको ना ४ च ६९५९ नम्बरको एउटा बोलेरो गाडी नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रिञ्जत सिंह राठौरले जानकारी दिए।
पटाकासहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार बिस्फोटक पदार्थ सम्बन्धी कसुरमा जिल्ला अदालत बाराबाट म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाइएको राठौरले बताए।