फोटो फिचर

दसैँ मान्न फर्कनेहरु

बुटवल– वर्षदिनमा लै लै
हर्षका दिन यी लै लै
दसैँ तिहार चाडबाड
खुशीले सारा भर्‍यो नि संसार …

सुगम पोखरेलको गीत गुञ्जिन थालेको छ । चाडपर्व मनाउन आउनेहरु यही गीत गुन्गुनाएजसरी बसपार्क छिर्छन् । आफू पुग्ने ठाउँको गाडी खोज्छन्, यताउता गर्छन्। झोला, पोकापन्तुरा बोकेका अभिभावकका हात समाउँदै बालबच्चाहरु उत्सुक भएर यताउता हेरिरहेका देखिन्छन् ।

पश्चिम क्षेत्रकै सबैभन्दा धेरै ठाउँका लागि गाडी छुट्ने बुटवलको बसपार्कमा घर फर्किनेहरुको ताँती छ । कसैका मुहार हसिला, रसिला देखिन्छन् । कसैका अनुहारमा भने निराशाको पोको ।

अनेक सम्झना, खुशीका पोका, उत्साह र उमंग बोकेर घर फर्किनेहरुको लाम छ बसपार्कमा । वर्षदिनका कथाकहानी, सुख–दुःखका पन्तुरा फुकाउँदै आफन्तहरु, साथीभाईहरु भेट्न र आशिर्वाद लिन अनेक झन्झट र झमेला झेल्दै यात्रा तय गर्न तयार देखिन्छन् सबैजना ।

हिन्दुहरुको ठूलो चाड बडादसैँ मनाउन फर्किनेहरुलाई सुविस्ता दिन बस, जीप व्यवसायीहरुले मेसो मिलाएका छन् । प्रहरी प्रशासनले गुनासो सुन्ने डेक्स खडा गरेका छन् ।

जागिर र अध्ययनको चाप र तनाब बिसाउनका लागि पनि उपयुक्त मानिने यो चाड घुमघामका लागि पनि उत्तिकै ‘फेमस’ छ । वर्षभरिका सुखदुखका पोका बोकेर घर फर्किएकाहरु फेरि उही दिनचर्या सम्हाल्न आइपुगुन्जेल सानाठूला शहरहरु उनीहरुलाई पर्खिरहनेछन् ।
दसैँको शुभकामना, खुशी र सुखी रहनुहोला ।

असोज १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्