तस्बिर: बर्षा शाह/देश सञ्चार
फोटो फिचर

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि रातारात चिल्ला पारिँदै काठमाडौँका सडक

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका लागि तयारी तीव्र पारिएको छ । सरकारले राष्ट्रपति सीको भ्रमणका लागि सुरक्षा व्यवस्था चुस्त पार्न सुरक्षा निकायलाई निर्देशन दिएको छ भने अन्य व्यवस्थापकीय तयारी पनि धमाधम भइरहेको छ ।

चिनियाँ राष्ट्रपति सी दसैँलगत्तै नेपाल भ्रमणमा आउने पक्का भइसकेको छ तर उनको भ्रमणतालिका भने सरकारले सार्वजनिक गरेको छैन । राष्ट्रपति सी असोज २४, २५ या २६ गते काठमाडौँ उत्रने सम्भावना छ । उनको स्वागतका लागि सबै किसिमको तयारीमा सरकार जुटेको छ ।

विज्ञापन

काठमाडौँका सडकहरु रातारात कालोपत्रे भइरहेका छन् भने सरसफाईमा पनि विशेष ध्यान दिइएको छ । चिल्लो पारिएका सडक र सडकपेटीमा पेन्टिङ गरेर चिटिक्क पार्ने काम पनि धमाधम भइरहेको छ । सडक पेटीमा नेपाल चिनाउने विभिन्न तस्बिरहरु पनि सजाउने काम भइरहेको छ ।

चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि काठमाडौँका सडक सिंगारिँदै गरेका केही तस्बिरहरु देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले आफ्नो क्यामेरामा कैद गरेकी छन् ।