दसैँ–तिहारमा मदिरा बिक्रीवितरणमा रोक

सांकेतिक तस्बिर

डोटी– चाडपर्वलाई लक्ष्य गरी डाेटीमा स्थानीय प्रशासनले मादक पदार्थ बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको छ।

दसैँमा र तिहारमा दुई–दुई दिन मादक पदार्थ बिक्रीवितरणमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए।

विज्ञापन

मादक पदार्थ सेवनबाट हुन सक्ने गतिविधि निरुत्साहन गरी चाडपर्व व्यवस्थित बनाउने उद्देश्यले सरोकार भएका निकायसितको समन्वयमा उक्त निर्णय गरिएको उनले बताए।

दसैँमा नवमी र दशमीमा गरी ४८ घण्टा मदिरा बिक्री नगर्ने सहमति भएकोसमेत प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।

उनले भने, ‘होटेल व्यवसायी र मदिरा व्यवसायीसँग चाडवाडमा मदिरा बिक्रिबितरण बन्द गर्ने सहमति भएको छ, सोहीअनुसार सबैले नियम पालना गर्नुपर्ने छ।’

यसअघि पनि स्थानीय प्रशासनले चाडपर्वका बेला २४ घण्टाका लागि मादक पदार्थ बिक्रीवितरणमा रोक लगाउँदै आएको थियो।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा उपभोक्ता संरक्षण मञ्च, मदिरा व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि सहभागी थिए। यसैगरी स्थानीय प्रशासनकै अगुवाइमा यहाँका बजार क्षेत्रमा स्थानीय तहसहितले बजार अनुगमन गरिरहेका छन्।

यस्तै सुरक्षा व्यवस्था मजबुत बनाउन जिल्ला प्रहरी कार्यालयले जिल्लाका नौ वटै स्थानीय तहमा आठ सयभन्दा बढी प्रहरी परिचालन गरिएको बताएको छ।

अशोज १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्