पुस्तक संवाद

अरु त रुचीको कुरा हो, महाभारत पढ्नै पर्छ!

नीलम कार्की निहारिकाको जन्म २०३१ सालमा पाल्पाको गोठादीमा भएको हो। उनी नेपाली आख्यानमा कलम चलाउने सशक्त महिला लेखक हुन्। उनी अहिले अमेरिकामा बस्छिन्। उनी लिखित उपन्यास ‘योगमाया’ २०७४ सालमा प्रकाशनमा आएको हो।

यो भन्दा अगाडि अर्की आइमाई (उपन्यास-२०७० ), बेली ( कथा संग्रह -२०६८ ), कागजमा दस्तखत (कथा संग्रह-२०६६ ), हवन ( कथा संग्रह-२०६३ ), ब्रेन फिभर (लामो कविता -२०६३ ), नीलम कार्की निहारिकाका कविता (कबिता संग्रह -२०६२ ), नियतिको खेल (उपन्यास -२०५३ ) र मौन जीवन (उपन्यास -२०५१ ) प्रकाशन भइसकेका छन्।

विज्ञापन

पद्मकन्या क्याम्पसबाट नेपालीमा स्नातकोत्तर गरेकी कार्की अहिले पूर्णकालीन लेखक हुन्। उनको कृति योगमायाले २०७४ सालमा मदन पुरस्कार प्राप्त गरेको छ। यस्तै २०७२ सालमा चीरहरण उपन्यासले पद्मश्री पुरस्कार प्राप्त गरेको छ। यो लगायत धेरै पुरस्कार उनले प्राप्त गरेकी छन्।

उनले आफ्नो पठन बानीबारे देश सञ्चारसँग कुराकानी गरेकी छन्।

१) अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ?

लियो टल्सटोयको वार एण्ड पिसलाई पुन अध्ययन गर्दैछु।

२) कुन समयमा पढ्नुहुन्छ?

कहीँ जाँदा, प्रतिक्षा गर्न  पर्दा या यात्रामा  जुन बेला समय मिल्छ पढ्ने गर्छु। पढिरहेको बेला जस्तो सुकै भिडभाड, हो-हल्लाले पनि मलाई डिस्टर्ब गर्दैन। पढिरहेको  बुक धेरै नै ठूलो छ भने बाहिर जाँदा बोकी हिँड्न अलि गाह्राे हुन्छ। किन्डलमा भएका या अलि पातला बुक यात्राको साथी हुन्छन्। एउटा बुक मेरो झोला मा हुन्छ नै। त्यति भएपछि जहाँ पुगे पनि आफू एक्लो भइँदैन। त्यति भएपछि समय कटाउन मुस्किल पनि हुन्न।  घरमा हुँदा कागजमा छापिएको अक्षर छोएर पुस्तकमा नै पढ्न मनपर्छ।

३) कस्तो खालको पुस्तक/लेख मन पर्छ?

अहिलेको समयमा भन्नु पर्दा इतिहाससँग नजिक भएका पुस्तकमा मन गइरहेको छ। तर सधैँ उस्तै हुँदैन।

४) मन पर्ने लेखक को हुनुहुन्छ ?

विधागत रुपमा फरक फरक मन पर्छ। धेरै हुनुहुन्छ मन पर्ने। कोही लेखनको हिसाबले मन पर्छ कोही योगदानको पक्षबाट। समग्रतामा भन्दा पनि कुनै निश्चित सिर्जना मन पर्ने पनि हुन्छ।

लक्ष्मीप्रसाद देवकोटा , विशेश्वरप्रसाद कोइराला , पारिजात , भावानी भिक्षु ,गोपालप्रसाद  रिमाल , भूपी , धच गोतामे, विजय मल्ल,  दौलत बिक्रम बिस्ट, मदनमणि दीक्षित लगायतका लेखकका सिर्जना मन पर्छन्।

त्यस्तै  टल्सटोय,  भर्जिनिया उल्फ , पर्ल एस बक, चेखोब , प्रेम चन्द …अनि वर्तमानमा लेख्निरहनु भएकामा  भिन्न–भिन्न विधाका धेरै पुस्तकका  सर्जकहरु  मन पर्छन्।

 ५. पढ्ने वातावरण कसरी बन्यो? प्रेरणा कसरी मिल्थ्यो?

आमाबाट। उहाँको प्रारम्भिक अध्ययन भारतमा भएको हो। हामी साना छँदा नै आमाले मुन्सी प्रेम चन्द , रबीन्द्र नाथ टेगोर, महादेवीको जीवन र रचना सन्दर्भमा कुरा गर्नुहुन्थ्यो। नेहरु लेटर बारे भन्नुहुन्थ्यो। महाभारत ,रामायणको कथा सुनाउनुहुन्थ्यो।

हाम्रो जीवन पद्दति, सँस्कृति, परम्पराबाट आमाबाट कथाहरु  सुन्ने ,स्वस्थानी  ब्रत कथा सुन्ने र पछि आफूले वाचन गर्ने,  पुराण लागेका बेला सुन्ने हुँदै पढ्नमा मन हुँदै  गयो।

 ६. पढेको कुनै लेख तथा कथा, उपन्यास आफ्नै जीवनमा मेल खाएको जस्तो लागेको छ?

मैले २४ वर्षअघि  लेखेको एक उपन्यास मेरो जीवनमा मिल्यो।  त्यो उपन्यासको दुई पात्र बुवा छोराको भारतमा दुर्घटना भएर मृत्यु भएको थियो। मेरो दाजु र बुवाको पनि भारतमा त्यस्तै दुर्घटना भयो।

पछिल्ल्लो समय मैले नेपालको इतिहास पढेकी थिएँ। अचम्म परेँ।

अर्को देशको व्यक्तिले लेखेको पुस्तक मेरो देशमा घटेको घटनासँग मेल खाएको पनि भेटेँ।  द गुड अर्थमा भएका कतिपय घटना मेरो देशमा घटेको घटनासँग पनि मिलेको पाएँ। त्यसैले मैले गुड अर्थ फेरि पढ्ने योजना बनाएकी छु।

७. मन परेको किताब कुन हो ?

धेरै छन्। जस्तै: माधवी, सुम्निमा, शिरिषको  फूल, मुनामदन, अनुराधा, अलिखित, ज्योति ज्योति महाज्योति, चपाईएको अनुहार, घामका पाईलाहरु, सेतो बाघ, द  गुड अर्थ, अन्ना कर्नियन,  मिसेस ड्यालोवय, गोदान, उल्फ हल, सिदार्थ आदि।

८. पुस्तक दोहोर्‍याएर पढ्ने बानी छ?

अवश्य छ। आफ्नो पहिलो पठनबाट आफू सन्तुष्ट नभएको पुस्तक, या धेरै नै सन्तोष भएको पुस्तकहरु दोहोरिने गर्छन्। माधवी नबुझेर पन्ध्र वर्ष भित्र तीन पटक पढेकी थिएँ। सुम्मिना, शिरिषको  फूल अर्को कोणबाट हेर्दै पढेँ।

कति पुस्तक आफूले लेख्ननको लागि श्रोत सामग्रीको लागि पनि पटक–पटक पढ्नुपर्छ। नबुझेर नै वार एण्ड पिस पढेकी थिएँ। अब फेरि दोहोर्‍याएर बुझ्न कोसिस गर्दैछु।

९. पढ्नै पर्ने पुस्तकहरु ?

महाभारत। अरु त आफ्नो रुचीको कुरा को। कुन विधाको कुन सर्जकको कुन किताब पढ्ने भन्ने। तर हस्तान्तरणकै लागि पनि इतिहास र समाज सँस्कृतिको किताब पढ्नुपर्छ भन्ने लाग्छ।

 १०. पढ्ने वातावरण कस्तो हुनुपर्छ ?

पहिला पढ्ने मनको वातावरण तयार हुनुपर्छ। अनि समय हुनुपर्छ। कुन खालको अध्ययनको के को लागि अध्ययन? रिसर्चको क्रममा तथ्यगत सामग्री को लागि हो भने  शान्त वातावरण चाहिन्छ। होइन भने त समय र मन को संयोग भए हुन्छ।

(देश सञ्चारमा हरेक शनिबार पुस्तक संवाद प्रस्तुत हुन्छ । यसमा पुस्तकमा लगाव भएकाहरुसँग पढ्ने आनीबानी बारे कुराकानी गरिन्छ।)

अशोज १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू