सर्जरीपछि हार्दिक पाण्ड्याले भने, ‘छिट्टै फर्कन्छु, त्यतिन्जेल मलाई सम्झँदै गर्नु’

भारतीय क्रिकेट टोलीका अलराउण्डर हार्दिक पाण्ड्याको लण्डनमा भएको सर्जरी सफल भएको छ। उनले ट्वीटरमा यसको जानकारी दिएका छन्।

उनले ट्वीटरमा क्याप्सनसहितको फोटोसमेत पोष्ट गरेका छन्। उनले फोटोको क्याप्सनमा लेखेका छन्, ‘सर्जरी सफल भयो। तपाईँहरुको सद्भावको लागि धन्यवाद। छिट्टै फिर्ता हुनेछु। त्यतिन्जेल मलाई याद गर्दै गर्नुहोस्।’

हार्दिकलाई पहिलेदेखि नै ढाडको तल्लो भागमा दुखाईको समस्या थियो। उपचारका लागि लण्डन पुगेका उनलाई चिकित्सकले सर्जरी गर्न सुझाएका थिए।

केही महिनाअघि इंग्ल्याण्ड र वेल्समा सम्पन्न विश्वकपको समयमा लागेकाे चोटका कारण उनलाई यो समस्या फेरि बल्झिएको थियो। त्यसपछि उनी टिमबाट बाहिरीएका थिए।

हार्दिकलाई सर्जरीपछि पनि टीममा फर्कन अझै केही महिना लाग्ने बताइएको छ। यही समस्याका कारण उनी दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिजबाट बाहिर छन्। आगामी महिना बंगलादेशसँगको टि–ट्वान्टी सिरिजबाट पनि उनी बाहिरै रहनेछन्।

हार्दिकले हालसम्म भारतका लागि ११ टेस्ट, ५४ वानडे र ४० टि–ट्वान्टी खेलेका छन्। उनी २०२० मा अष्ट्रेलियामा हुने टि–ट्वान्टी विश्वकपसम्म पूर्णरुपमा तयार हुने बताइएको छ।

असोज १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्