
टोटनह्यामको खराब प्रदर्शन यात्रा रोकिएको छैन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार बेलुका भएको खेलमा माउरिसिओ पोकेटिनोको टिम टोटनह्याम अवे मैदानमा ३–० ले पराजित भएको छ । घरेलु टोली ब्राइटनले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा थप एक गोल गरेर टोटनह्यामलाई स्तब्ध बनाएको हो ।
तेस्रो मिनेटमा नै निल माउपेले गोल गरेर ब्राइटनलाई अग्रता दिलाए । ३२ औँ मिनेटमा आरोन कोनोलीले गोल गरेपछि ब्राइटनले अग्रता दोब्बर पारेको हो ।
दोस्रो हाफमा टोटनह्याम खेलमा फर्किने प्रयासमा देखियो तर सफल हुन सकेन । ६५ औँ मिनेटमा कोनोलीले व्यक्तिगत दोस्रो गोल गरेपछि ब्राइटनले ३–० को अग्रता लियो । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र ब्राइटन विजयी भयो । पराजित भएको टोटनह्याम ८ खेलबाट ११ अंकसहित छैटौँ स्थानमा छ ।
टोटनह्याम यसअघि गएको मंगलबार च्याम्पियन्स लिगको समूह चरण अन्तर्गतको खेलमा जर्मन क्लब बार्यन म्युनिखसँग ७–२ ले पराजित भएको थियो ।
टोटनह्यामले प्रिमियर लिगमा पछिल्ला १० अवे खेलमा पराजय बेहोरेको छ । पछिल्लो पटक गएको जनवरी २० मा फुलह्यामलाई उसकै मैदानमा २–१ ले पराजित गरेको थियो ।
यसैबिच टोटनह्यामका कप्तान तथा गोलरक्षक ह्युगो लोरिस निलको प्रहार रोक्नका लागि जम्प गर्ने क्रममा नराम्रोसँग मैदानमा पछारिए । उनलाई लगतै स्ट्रेचरमा राखेर अस्पताल लगिएको थियो । उनको हातमा गम्भीर चोट लागेको जनाइएको छ ।