सन्थाल नाच, पूर्वी तराईमा दसैँको रौनककाे माैलिक माध्यम

झापा – शनिबार दिउँसो झापाको विर्तामोड बजारमा एक हुल सन्थाल समुदायका मानिसहरु बाजागाजाका साथ नृत्य गर्दै पसलहरुमा दान दक्षिणा माग गरिरहेका थिए।

एकजनाले नेतृत्व गरेको उक्त टोलीमा करिब २० जना सहभागी थिए। उही नेतृत्व गर्ने मान्छे पसल–पसलमा गएर कचौरा थापिरहेका थिए। क्षमता अनुसार पसलेले दक्षिणा दिइरहेका थिए।

विज्ञापन

जब चारैतिर दसैँको रौनक सुरु हुन्छ पूर्वी तराईका आदिवासी सन्थाल बस्तीहरुमा विशेष किसिमको रौनक सुरु हुन्छ।

सन्थाल नाचका बाजागाजा सन्थाल बस्तीहरुमा बज्न थाल्छन्। दसैँका बेलामा सन्थाल समुदायका मानिसहरु मूरली, झ्याम्टा लगायतका बाजागाजा बोकेर नाच्दै गाउँदै शहर तथा गाउँ पस्न थाल्छन्।

प्रकृतिपूजक सन्थालहरू आदिकालदेखि नै हिन्दूहरूको चाड दसैँ र तिहारको बेला दासाई नृत्यमा रमाउने गर्छन्।

दसैँ र तिहारको समयमा गाउँ–गाउँमा लाग्ने मेलामा सन्थाल समुदायका मानिसहरुको नाच प्रमुख आकर्षण हुने गरेको छ। सन्थाल नाच नभएको दसैँ मेलामा कुनै रौनक हुँदैन भन्ने धेरै छन्।

झापाको गरामनी, सैनिकमोड, गौरीगञ्ज, टाघनडुब्बा, फुलवारी, महाभारा, लालपानी, शरणामती, झापाबजार, चारआली तथा लखनपुरमा पनि सन्थालहरूकाे उल्लेख्य बसोवास रहेको सन्थाल जातिका अगुवाहरू बताउँछन्।

झापा र मोरङका प्रायः सबै गाउँहरूमा सन्थालहरूले आफ्नो मौलिक सांस्कृतिक नृत्यहरु प्रर्दशन गर्ने गरेका छन्। उनीहरुको नृत्य कोजाग्रत पूर्णिमासम्म रहन्छ।

पूर्वी तराईका आदिवासी सन्थाल समुदायका मानिसहरुको दसैँ विशेष किसिमको हुने गरेको छ। उनीहरुले आफ्ना देउतालाई आफ्नो समुदायको मात्र होइन समग्र समाजकै भलाई होस् भन्ने प्रार्थना गर्ने गरेका छन्।

सन्थाल नृत्य आफ्नै जातीय भाषा, गाई जात्रे पहिरन, रङ्गीचङ्गी भाव भंगिमा रंगीन कमिज, पञ्ची, धोती जस्तो कपडा शिरमा मयूरको प्वाँख र ऐना तथा झुम्काले बनाएको फेटा लगाई, जीउमा कल्ली बाँधेर बाजागाजाको साथ एउटै ताल, सुरमा सामूहिक रूपमा छुट्टाछुट्टै समूहमा प्रस्तुत गरिन्छ।

यस नृत्यमा नाच्नेहरू सबै पुरुष सन्थालहरू हुन्छन् भने उनीहरूलाई आकर्षित गर्न जोस थप्न महिलाहरू पनि उत्तिकै सक्रिय हुन्छन्। नृत्य मध्य अवस्थामा महिलाहरूले बेलाबेलामा भुजा फ्याँक्ने गर्दछन् भने नाचिरहेका सन्थालहरू आफूलाई बहादुर सावित गर्न बिनाहात जमीनमाथि उडेका भुजा मुखैले खाने प्रयास गर्दछन्।

दसैँको फूलपातिको दिनबाट उनीहरुको देउताको विशेष पूजा सुरु हुन्छ। कनकाई नगरपालिका–८ का रमेश मर्डीले आफ्ना देउतालाई सबैको भलो होस् भन्दै प्रार्थना गर्ने गरिएको बताए।

अन्य समुदायका मानिसहरुको पूजा गर्ने परम्परा भन्दा नितान्त फरक छ दसैँमा उनीहरुको देउता पुज्ने तरिका। चारपाने झापाका मुन्सी मर्मुले पूजाका सामान बटुल्न त्यति गाह्रो नहुने बताए। उनले भने, ‘एकजो र परेवा र अलिअलि फूलपाती भए पुग्छ।’

उनीहरुको यो पूजामा आफ्नो समुदायको मात्र होइन समग्र समाजकै भलाई होस् भन्ने कामना आफ्ना देउतासँग गर्ने गरेका छन्।

तर अन्य समुदायकै परम्परा जस्तो दसैँमा मान्यजनबाट टीका लगाउने उनीहरुको पनि परम्परा छ। कन्काई नगरपालिका–८ की सुनिता हास्दाले भनिन्, ‘हामी सन्थालहरु हिन्दू हौँ। वर्षमा एकपल्ट मान्यजनबाट टीका लगाएर आर्शिवाद लिने हाम्रो पनि परम्परा छ।’

झापा मोरङ र सुनसरीमा बसोबास गर्ने सन्थाल समुदायका मानिसहरुको संख्या करीब ५२ हजार रहेको बताइन्छ।

अशोज १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्