घरेलु मैदानमा पीएसजीको चार गोल, नेमार छुटेनन्

गोल गरेका इकार्दी, सराबिया र नेमार

पेरिस : फ्रान्सको प्रिमियर लिग फुटबल ‘लिग वान’अन्तर्गत शनिबार राती भएको खेलमा साविक विजेता पेरिस सेन्ट जर्मन-पीएसजीले शानदार जित हात पारेको छ। घरेलु मैदानमा पीएसजीले एंजर्सलाई ४-० गोलले हरायो।

पाब्लो सराबियाले एक गोल गरे भने दुई गोलमा असिस्ट गरे।  माउरो इकार्दी, नेमार र इद्रिसा गुयेले पनि एक एक गोल गरे। २७ वर्षीय मिडफिल्डर सराबियाले १३ औँ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

विज्ञापन

इकार्दीले सराबियाको पास सदुपयोग गर्दै ३७ औँ मिनेटमा अग्रता दोब्बर बनाए। गुयेले ५९ र नेमारले ९० औँ मिनेटमा गोल गरेका हुन्। ९ खेलबाट २१ अंक भएको पीएसजी शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको नान्टेसको ९ खेलबाट १९ अंक छ। शनिबार राती भएको अर्को खेलमा नान्टेसले निसलाई १-० गोलले हरायो।

नेमारले यो सिजन घरेलु लिगमा चार गोल गरेका छन्। बार्सिलोना जाने अन्योलताबीच नेमारले सुरुका केही खेल गुमाएका थिए।।

अशोज १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्