सलाहमाथी फेरि खत्रा ‘ट्याकल’, आक्रमण गर्ने हाम्जाबारे क्लोप भन्छन् : नर्कजस्तै खतरा

हाम्जाको ट्याकलबाट लड्दै सलाह।

लन्डन : लिभरपुलका स्ट्राइकर मोहम्मद सलाह सँधै विपक्षी रक्षापंक्तीलाई टाउको दुखाई बन्ने गर्छन्। पछिल्लो समय लिभरपुलका सफलतामा निर्णायक बनिरहेका यी खेलाडी खत्रा ‘ट्याकल’को शिकार बनिरहेका छन्।

दुई वर्षअघि युरोपियन च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडका सर्जियो रामोसले खेलको सुरुवातमै लडाएपछि सलाहले मैदान छाड्नु परेको थियो। त्यही चोटले उनी झन्डै विश्वकपमा सहभागी हुन सकेनन्।

विज्ञापन

त्यसयता आफ्ना घुँडा र कुर्कुचा जोगाएर खेल्न सलाहलाई कम्ता सकस छैन। शनिबार राती इङ्लिस प्रिमियर लिगअन्तर्गत लेस्टर सिटीविरुद्ध भएको खेलमा सलाहको कुर्कुचा चोट पुन बल्झिएको बताइएको छ। खेल बराबरीतर्फ धकेलिरहेका बेला  ८८ औँ मिनेटमा हाम्जा चौधुरीले सलाहलाई ट्याकल गरेका थिए। त्यसको केही मिनेटमै सलाह मैदान छाड्न बाध्य भए।

धन्न, जेम्स मिल्नरले इन्जुरी समयको पाचौँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई रोमान्चक जित दिलाए। यो सिजन लिभरपुलले घरेलु लिगका सबै ८ खेल जितेको छ। खेलपछि लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले हाम्जालाई ‘नर्कजस्तै खतरा’को संज्ञा दिए। यी २२ वर्षीय मिडफिल्डरले विपक्षीलाई निशाना बनाउने गरेको विगत कोट्याउँदै उनले सम्हालिएर खेल्न सुझाव दिए।

सलाहले चालु घरेलु लिगमा ८ खेलमा चार गोल गरेका छन्। समग्रमा उनले यो सिजन १२ खेलमा ६ गोल गरेका छन्। रामोसबाट भएको गम्भिर ट्याकलपछि सलाहको गोलको गति कम भएको छ। त्यस सिजन उनले प्रिमियर लिगमा ३२ गोलसहित सिजनभर ४४ गोल गरेका थिए। गत सिजन उनले प्रिमियर लिगमा २२ र समग्रमा २७ गोल गरेका थिए।

अशोज १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्