गोपालको मुस्कानको पछि लाग्दा…

सपना न्यौपाने–

बिहान साँझ चिसो चिसो मौसम सुरु भइसकेको छ। दिउँसो अलिअलि पसिना आउन छोडेको छैन गर्मीले गर्दा। सानेपा स्थित कार्यालयबाट विशालनगर घर जान हत्तारिएको थिएँ म । टेकुबाट माइक्रो चढ्ने गरी लम्किरहेको थिएँ असोजको ५ गते ।

अचानक कसैले मेरो हात समात्यो दिदी भन्दै । म झसंग भएँ । र झट्ट फर्किए । एक जना बालक मेरो आँखामा टुलुटुलु हेर्दै थिए। करिब १३ वर्षका । ‘सरी’दिदी नरिसाउनु ल । म रिसाएको पक्कै थिएँ ।

विज्ञापन

एउटा अपरिचित मानिसले पछाडिबाट तर्सिने गरी हात समात्दा को रिसाउन्न होला र ? तर मेरो रिस शान्त भयो जब उनको ख्याउटे अनुहार हेरेँ, आधा शरीर ढाकिएको थोत्रो, ठाउँठाउँमा च्यातिएको कपडा थियो उनको । महिनौँ दिन नखाएको जस्तो देखिन्थ्यो अनुहार। उनलाई मैले शान्त हुँदै सोधे, ‘किन यसरी तर्सिने गरी मेरो हात समातेको ?’ उनी मौन रहे केहीबेर। मैले फेरि सोधे,‘ किन के भयो? ’

उनले मेरो हात छोडे । अनि दुईहात जोड्दै लगातार भने,‘ दिदी मेरो नाम गोपाल हो । म यही बाग्मती किनारमा बस्छु । मलाई एक हजार रुपैयाँ दिनुहोस न् । म हजुर आमासँगै बस्छु । सानो भाइ पनि छ । उहाँलाई लगातार खोकी लागेको छ । दसैँ पनि आयो । सबैले नयाँ कपडा लगाएको देखेपछि नरमाइलो लाग्छ ।’

उनको कुरा सुनेपछि म अवाक भएँ । कसरी विश्वास गर्ने ? एउटा अपरिचित मानिसलाई । त्यो पनि सडकमा काम गर्ने बालकलाई । मेरो मनलाई त्यो आफैले सोधेँ । फेरि विश्वास नगरौँ कसरी ? उनको बोली उनको अनुहार र शरीररले देखाएको पनि त थियो। गरिबीको मारमा उनी कसरी पिल्सिरहेका छन् भन्ने देखाएको थियो।

त्यस दिन मेरो भाइको जन्मदिन थियो । उसलाई सम्झिए ।

उसको जन्मदिन मनाउन मैले केके किनेर लग्ने जिम्मा थियो। त्यो सबै सम्झिए । तर गोपालको अनुहार हेरेपछि मेरा हात पर्सतिर पुगे । म छक्क परे । मसँग एक हजार रुपैयाँको नोट मात्रै थियो। त्यो सबै उनलाई दिएमा मलाई गाडी भाडा पनि बच्दैन थियो । खै किन हो त्यो सबै कुरा छोडिदिए र उनलाई एक हजारको नोट थमाए। उनले मुस्कुराउँदै भने,‘ दिदी बाँकी भएको पैसा तपाईलाई दिन्छु है। तपाईको अफिस मैले देखेको छु । मैले तपाईँलाई धेरैदिन देखि पछ्याएको थिएँ । तर त्यो बेला पैसा माग्न सकिन ।

तर उनको कुरामा मलाई विश्वास थिएन। तिम्रो हजुरआमाको ख्याल गर है भन्दै अघि बढेँ। माइक्रो आयो । चढेँ । मनमा डर थियो । भाडा थिएन । सहचालक आएर पैसा मागे माइक्रो हिडेँको केहीबेरमा । उनलाई झुट बोल्न आएन । भने,‘आज एक जना सडकमा काम गर्ने बच्चाले आफ्नो हजुरआमालाई औषधि किन्न एक हजार चाहियो भन्दै मागे । मसँग त्यति मात्रै थियो दिए। सरी भाइ ।’

उनले मलाई एकछिन हेरे। हाँस्दै पछाडि गए पैसा उठाउन । माइक्रोबाट झरेपछि उनलाई धन्यवाद दिए । तर भाई रिसाउने हो कि घरमा केक नलिएर जाँदा भन्ने डर मनमा थियो।

घर पुग्नासाथ भाईले दिदी केक कुन फ्लेभरको हो भनेर सोध्यो । म चुपचाप आफ्नो कोठामा गए । मैले केक नल्याएको छनक उसले पाइसकेको थियो सायद । त्यही पनि उ मेरो पछि लागेर मेरो कोठामा आयो । उसलाई बिस्तारै भने,‘ बाबु आज अच्चम भयो । एक जना बच्चाले एक हजार रुपैयाँ माग्यो उसको हजुरआमालाई औषधि किन्न र दसैँ मनाउन । मैले त नाई भन्न सकिन । सरी भाइ।’ भाइ अब रिसाउने भयो भन्ने लागेको थियो।

तर भाइले भन्यो,‘ किन भनेको सरी । तपाईँले राम्रो काम गर्नु भयो । केक नकाट्दैमा जन्मदिन मनाइँदैन र?।’ मलाई निकै आनन्द लाग्यो। मन खुसी भयो। भोलिपल्ट त्यही समयमा घर जान लागेको थिए, कार्यालयको गेटबाट निस्कदै थिए। त्यो भाइ दिदी भन्दै म नजिक आए एक्कासी अघिल्लो दिनजस्तै तर्सिने गरी । र भने,‘ दिदी हजुरआमालाई दुई सय ५० को औषधि किने, भाइलाई २५० को कपडा किनिदिए। नरिसाउनु ल मैले पनि नयाँ चप्पल किने ? बाँकी २५० छ । लिनुहोस्।’

म फेरि अवाक भएँ । मैले विश्वास गरेको थिएन उनले पैसा फिर्ता दिन्छन् भन्ने । मेरो खुसीको सीमा थिएन। उनलाई नजिकै रहेको रेस्टुरेन्टमा लगेर टन्न खाजा खुवाए । उनी निकै खुसी भए। मैले उनलाई भने,‘ अब तिमी खुसी छौँ ।’ उनले भने,‘ खै दिदी कमाउन समस्या छ । सडकमा काम गर्ने हामी कहिले छाक टर्छ कहिले टर्दैन । हजुरआमा र भाइलाई पाल्नु छ । दसैँ आउँदा सबैभन्दा नरमाइलो लाग्छ ।’

उनले त्यसो भनिरहँदा अघिपछि सडकमा देखिने र माग्दै हिँड्ने बालबालिकालाई सम्झिए । जसको घरबारको ठेगान छैन । दसैँ जस्ता चाडपर्वमा उनीहरु निरास मात्रै हुन्छन्। सरकारी तथा गैसरकारी संस्था थुर्पै छन् जसले यस्ता बालबालिकाको हकहितकालागि काम गरेको भन्छन् । तर यस्ता बालबालिका सडकमा देखिने क्रम अझै बढेको जस्तो लाग्छ । गरिब या सडकमा जीवन गुजारा गर्नेलाई मुस्कुराउने हक छैन र ?उनीहरुको सुरक्षित जीवनको जिम्मा कसले लिन्छ र कहिले?

मेरो मनले प्रश्न सोध्यो । तर जवाफ भेटेन । भर्खरै मात्र एउटा दैनिक पत्रिकामा उपत्यकाका रहेका सडक बालिका यौनशोषणमा परेको भन्दै समाचार छापिएको थियो । त्यो सम्झिएँ । किन यी बालबालिकाको हकअधिकार संरक्षणका लागि देखिने गरी कसैले काम गर्दैन । अनगिन्ती प्रश्न सोधिरहेको थियो मेरो मनले ।

गोपालले मलाई झस्काए,‘ दिदी किन टोलाएको । घर जान ढिलो होला नि? ’ उनलाई चुपचाप हाँस्दै बिदा गरे । फर्किदै मुस्कराउँदै उनी पर पुगे।

अशोज १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्