ब्लग

त्यो दसैँले भर्ने उर्जा र स्मृतिका ताजा पलहरु

त्यो घर

सुर्खेत वीरेन्द्रनगरपालिका वडा १२ को नेवारे गाउँमा म तीन कक्षामा पढ्दै गर्दा मेरो जन्मथलो जर्वुटाबाट परिवार झर्यो। तर त्यो जर्वुटा हुँदै नलखोला र त्यो भन्दा पनि माथि दैलेख जाने बाटोको पहाडहरुमा पुग्नुपर्ने बाध्यता खासगरी दसैँका बेला हुन्थ्यो।

पसिना पुस्दै करिव चार घण्टा ठाडो उकालो हिँडेपछि जंगल कम भएका पहाडहरु देखिन्थे, प्राय रातो रंगले ढाकिएका । तिनै पहाडका फेँदतिर लागेर कम्मर कसेर केहीबेर खनेपछि निस्कन्थ्यो सेतो रंगको माटो ‘कमेरो’ ।

विज्ञापन

पालैपालो खन्थे आमा, माइजु र काकीहरुले सबैको भारी पुग्ने गरी । गहु्गो यति हुन्थ्यो कि ओसिलो, आधा थैलो माटो पनि बोक्न मुस्किल पथ्र्यो । ओरालो लागेपछि लगलगी खुट्टा काँप्थे, नाम्लोले खुम्चिएको निधारबाट पसिना झरिरहन्थ्यो, पुस्दापुस्दै रातो हुन्थ्यो।सँगै हिडिरहेकाहरुलाई हेरेपछि आँट आउँथ्यो अघि बढ्न।

घर पुगेपछि कहिलेकाँही त हनहन्ती ज्वरो नै आउँथ्यो। तर भिजाएको भोलिपल्ट कमेरोको रङ अझै सेतो देखिन्थ्यो। सबेरै बाँसको भर्याङ बनाएर घरको माथि माथि कमेरो छ्याप्दै जानुहुन्थ्यो आमा, त्यसको मुनिबाट लाइन मिलाएर रातो माटोले लिप्दै जान्थे म । सुक्दै जाँदा पुरै घर नै उज्यालो हुन्थ्यो ।

त्यो देखेपछि मात्र दसैँ भित्रिएको अनुभव हुन्थ्यो । मन फुरुङ हुन्थ्यो। दसैँसम्म घरका भित्तामा दाग नलागोस भनेर हामी होसियारपुर्वक हिँड्थ्यौँ, टिका थाप्न आउँदा ताकि फुपुहरुले त्यसको बयान गरुन भनेर।

फुफूहरु करेसाबारीमा पुग्दै गर्दा भन्नुहुन्थो, ‘कति राम्रो बनाएको घर । कहाँबाट ल्याएको यति सेतो कमेरो?’ हरेक वर्ष यसरी नै आउँथ्यो दसैँ । कमेरो बोक्न दिदी, दाई र म पालैपालो आमाको पछि धेरै वर्षसम्म लाग्यौं ।

अहिले पहाडको माथिमाथि पुग्यो भने त्यो मेरो जस्तै दसैँमा खुसी दिने घरहरु भेटिन्छन् तर निकै कम।

समय परिवर्तनशिल छ, भयो पनि । प्रविधि भित्रियो, घर रंगाउने आवश्यक सबै सामग्रीले ठाउँ पाए बजार हुँदै गाउँका घरहरुमा ।

र, माटोका घर बिस्तारै पक्कीमा परिणत हुँदै गए । कमेरोलाई एक पटक लगाएपछि तीन चार वर्ष टिक्ने ‘कलर’ ले विस्तापित गर्दैछ । घरहरुमा थपिएको आधुनिकताले दशैँको रौनक पनि फेरिएको छ ।

पहेँलो फ्रक

भन्नै परेन दसैँ भन्नासाथ नयाँ लुगा । त्यही भएर पनि हामीहरुका लागि दसैँको आगमन विशेष हुन्थ्यो । त्यसका लागि आमाबुबा खुव मेहेनत गर्नुहुन्थ्यो वर्षभरी । नवरात्र सुरु भएपछि बुवाको झोला छामछुम गर्न थाल्थ्यौँ, उहाँ बजारबाट आउनासाथ ।

बर्सेनि दसैँमा नयाँ लुगा पाउने गरे पनि एउटा दसैँको भने विशेष सम्झना आइरहन्छ । त्यो वर्ष बुबाले मलाई फूलैफूलको बुट्टाले भरिएको पहेँलो फ्रक ल्याइदिनु भएको थियो । त्यो फ्रक देखेर मेरा साथीहरु समेत दंग परेका थिए । साथीहरुले नै मन पराए पछि मेरो भुइँमा खुट्टा थिएन । त्यसलाई खुव जतन गरेर लगाएँ मैले ।

दसैँ भन्नासाथ ती मिठा पलहरु मानसपटलमा अझै पनि छाइदिन्छन्। हुन त अहिले नयाँ कपडा लगाउन दसैँ नै कुरिरहनु पर्ने अवस्था छैन । तर, कतिपयलाई त नयाँ लुगाका लागि दसैँ नै कुर्नुपर्ने अवस्था विद्यमान छ । सरकारी तथ्यांकले नेपालीको औसतमा बर्सेनि वृद्धि भएको देखाए पनि धनी र गरिबबीचको खाडल गहिरो र फराकिलो हुँदै गएको छ ।

गरिबीले त्यो बेला नयाँ कपडाका लागि दसैँ कुर्ने म जस्ता अहिले पनि थुप्रै छन् । कतिपयलाई त एकसरो लुगा किन्न अहिले पनि मुस्किल छ । आर्थिक अभाव मात्र गरिबी होइन, राज्यको स्रोतबाट बन्चित तथा सिमान्तकृत हुनु र सामाजिकरुपमा बहिष्कृत हुनु पनि गरिबी नै हो । र, यस्तो परिस्थिति भोग्न बाध्यहरुको हिस्सा नेपाली समाजमा अझै पनि ठूलो छ । जसले आगामी ११ वर्षपछि नेपाललाई पनि विकसोन्मुख मुलुकबाट विकसित मुलुकमा उभ्याउने ओली सरकारको लक्ष्यलाई गिज्याइरहेको छ ।

पिङमा मच्चिँदा

घरको आडैमा ठूलो आँपको बोट थियो। जब दसैँ आउँथ्यो त्यो वरिपरि झुम्मिन्थे छिमेकी र दिदीबहिनी। दाजुभाइले तीन-चार दिन लगाएर बाटेको हरियो बाबियोको पिङ मच्चाउँदा मिल्ने आनन्दको सीमा असिमित थियो।

वर्षमा एक पटक त खुट्टा टेक्नै पर्छ भन्दै आमाले एक्लैले पिङ खेलेको, दिदीहरुले हौसिँदै आम्नेसाम्ने भएर पिङ मच्चाएको दृश्य लोभलाग्दो देखिन्थ्यो। पिङले शरीर पनि फुर्तिलो बनाउथ्यो, नयाँ उमंग थप्थ्यो।

मामा घर जाँदा त झन् ठूलो पिङमा हुने गथ्र्यो । टीका थाप्न आउने सबै पिङमा मच्चिएरै जान्थे। दसैँमा बाटेको पिङ तिहारसम्म रहन्थ्यो। कसैकसैले तीजमै हालको पिङ तिहारसम्म टिकाउँथे।

अहिले त्यस्ता पिङ बिरलै देखिन्छन् । त्यस्तै पिङमा धोको फेर मच्चिने रहर मरेको छैन । मान्छे, घर र गाडीले भरिएका शहररुमा त्यस्ता पिङ भेट्नु दुर्लभ नै हुन्छ । हुन त स्वच्छ हावा लिने र एकै छिन टहलाउने ठाउँ त भेट्न मुश्किल हुने शहरमा त्यो अपेक्षा राख्नु पनि बेकार नै हो । त्यसो त गाउँमै पनि पहिलेका बाबियोले डोरीले बाँधेका पिङलाई प्लास्टिकका पिङले विस्थापित गर्दै लगेका छन् ।

हजुरआमा र आर्शीवाद

दसैँमा पनि टिकाको दिन त झन् विशेष रमाइलो हुने नै भयो । सँगसँगै घर बनाएर बसेका काका काकी, ठूलो बुवा ठूली आमाहरुसहित कहिले हाम्रो त कहिले उहाँहरुको घरमा जम्मा हुन्थ्यौँ टीकाको साइत छोप्न ।

सबैभन्दा पहिले पाको उमेर भएकाहरुको हातबाट टीका थापिन्थ्यो । सबैले लगाउँदै गएपछि निधार पुरै भरिन्थ्यो रातो टीकाले, कालो कपालमा पहेँलो जमरा छप्पकै हुने, दाजुभाइको त गलामा समेत जमराको माला हुन्थ्यो । दक्षिणा भने नयाँ नोट। हराउला भन्ने उत्तिकै पिर ।

बुबातिरका आफन्तको हातबाट टीका थापेपछि मामाघर तर्फ उक्लिन्थ्यौं । पुरै सुर्खेत उपत्यका सर्लक्कै देखिने डाँडामा थियो मामाघर । अरु दिन भन्दा टीका दिन भने बढी नै हतार हुन्थ्यो मामाघर जान । चर्को गर्मी र चिसो सिरेटो कुनै परवाह हुन्थेन । मामाघर पुग्नासाथ बारीमा हरिया काँक्रा खोजीखोजी सिंगै खाँदाको मज्जा बेग्लै हुन्थ्यो।

आगनमा गुन्द्रीमाथि नयाँ पाखी ओछ्याएर काँसको थाल भरी टीका, जमरा र दक्षिणा राखेर हजुरआमा हामीहरुलाई पर्खिरहनु हुन्थ्यो । हामीलाई देख्ना साथ मिलेका सेता दाँतसहित हाँँस्दा उकालो थकाई एकाएक बिर्सन पुग्थ्यौं ।

दसैँको दिनमा सकेसम्म सबै आफन्तको हातको टीका लगाउने चलन थियो । हजुरआमाले मुस्कुराउँदै दीर्घायुको कामना गर्दा, उज्ज्वल भविष्य र स्वस्थ जीवन होस् भन्दै दिएका आर्शिवाद सुन्दा अनौठो लाग्थे । साँझ झमक्कै भए पछि मात्र मामाघरबाट फर्किन्थ्यो ।

निधारमा टीका लगाउँदा लगाउँदैै मामाले रमाइलोको लागि हाम्रो गालामा पनि टीका लगाउन भ्याउनुहुन्थ्यो। तर निधार र गालामा ती हातहरु नपरेको वर्षौँ भयो । खासगरी हजुरआमाको त्यो हाँसो र आशिर्वाद । दसैँ प्रसंग आउनासाथ ती सबै यादहरु ताजा भएर आउँछन् ।त्यसमा पनि हजुरआमाको ।

अब त मामाघर गए पनि हजुरआमाका ती सम्झनाहरु मात्र भेटिएलान् ।  उहाँले भौतिक शरीर छाडेको दुई वर्ष बितिसकेको भन्दा पनि पत्याउन गाह्रो पर्छ। सम्झिदा मन भारी हुन्छ । काम, पढाई र करिअरको खोजीमा म जस्तै धेरैले परिवार र आफन्तहरुबाट टाढिनु परेको छ । धेरैलाई दसैँमा छुट्टी पाउन पनि मुस्किल पर्छ । काम गर्न विदेशीनेहरुको त यतिबेला कति खल्लो होला ।

सोच्दा पनि अत्यास लागेर आउँछ । तर, भौगोलिक हिसाबले टाढा भए भने प्रविधिले आफन्तजनबाट टाढा हुनुको न्यास्रो केही हदसम्म कम गर्न सघाएको छ । सूचना प्रविधि, दुरसञ्चार र इन्टनेटको विकासले हाम्रा गाउँहरु संसारसँगै जोडिएका छन् । त्यही प्रविधिको सहयोगले कतिपयले इन्टरनेटबाटै आफन्तजनबाट टीका थापेर पनि चित्त बुझाएका छन् ।

त्यसमाथि गाउँघरमा पहिले जस्तो संयुक्त परिवार भेटिन्नन् । विवाह गरेको केही समयमै बुढा बा-आमालाई छोडेर भिन्नै बस्ने सामान्य हुँदै आएको छ। जसले गर्दा बुढ्यौँली जीवन निरस बनेको छ । र, जसले गर्दा गाउँघरको पुरानो रौनक हराउँदै गएको छ भने वृद्धाआश्रम क्रमशः भरीभराउ बन्दै गएका छन् । आँसू झरिरहन्छ यति बेला त्यहाँ आश्रय लिएकाहरुबाट।

निलो आकाशको चंगा

सानोहुँदा चंगा उडाउन कसलाई मन लाग्दैन र ? रंगीविरंगी चंगा अनि थाम्न नसक्ने लट्टाई । कहिले डाँडामा त कहिले त्यसैमाथि खफ्टेर बसेका ढुंगामा बसेर खुलेको आकाशमै चंगा पुर्याउन गरेको प्रतिस्पर्धाको सम्झना गाढा छ अहिलेपनि ।

काठमाडौँ आए पछि त्यस्तो अवसर एकदुई चोटी मात्र पाइयो । दाजुभाई चंगा बनाउ बस्त रहँदा हामी दिदीबहिनी भने घरधन्दा छिटो सक्न लागिरहेका हुन्थ्यो ।

निधारमा रातो टीका र टाउकोमा जमरा अनि नयाँ कपडा लगाएर चंगा उढाउँदा आफू पनि चंगासँगै हावामा कावा खेलेको जस्तै अनुभव हुन्थ्यो ।

अचेल सहरमा मात्रै होइन गाउँमा पनि चंगा कमै उडाईन्छ । चंगाको कक्का बनाउन र माजा बेर्न व्यस्त हुने हातहरु मोबाइल र भिडियो गेम व्यस्त रहन्छन् ।

धान काटेपछिको आनन्द

दसैँका दिन फुर्सदिलो बन्न त्यो भन्दा अघिनै धान काटेर सक्नु पर्थ्यो । धान पनि ठिक्क समयमा पाक्थ्यो । र, आमाबुबा खेतालासँगै धान काट्न कस्सिनुहुन्थ्यो । तर त्यहाँ चर्चा भने दसैँकै हुन्थ्यो, नयाँ कपडादेखि मिठा खानेकुराका परिकारसम्म ।

दसैँ अघि काटेको धान एउटा गरा तासतुस पारी, लिपपोत गरी कुन्यु बनाइन्थ्यो । दसैँको टीका सकेपछि सबेरैदेखि धान झाँट्न थालिन्थो । तर दसैँमा आफन्तलाई मिठो खुवाउनु पर्छ भन्दै आमा एक्लैले धान झाँटेर एक थैलो चामल ठिक पार्नु हुन्थ्यो । त्यसैबाट चिउरा कुट्न छिमेकीको घर धाउनुहुन्थ्यो ।

मामाघरमा जाँदा पनि त्यसैगरी स्वागत गरिन्थ्यो नयाँ चामलका परिकार। त्यो बेला गाउँतिर मकै, कोदो, फापरका परिकार पनि खान पाइन्थ्यो । अहिले अधिकांशका ठाउँमा दसैँका बेला धान पाक्दैन ।

जानकारहरुले जलवायु परिवर्तनका कारण समयमै पानी नपर्ने र धान रोप्न ढिलो हुने हुँदा त्यो पाक्न पनि समय लाग्ने गरेको बताउने गरेका छन् । त्यसमाथि आधुनिककरणसँगै धान रोप्ने मात्रै होइन झाँट्ने पनि उपकरण भित्रिएका छन्।

तर पनि त्यस्ता उपकरण दुई—चार सय घरमा मात्र सीमित छन् । हुन त गाउँमा भर्खरै फलेका धानका परिकार भन्दा पनि चाउचाउ, विस्कुट, अनेक पेय पदार्थ लगायत ‘जंकफुड’ बोलबाला छ । त्यस्ता तयारी खानेकुराले एकातिर गाउँघरको मौलिक संस्कृति र परम्परालाई फितलो बनाउँदै लगेका छन् भने अर्कोतर्फ सर्वसाधारणको स्वास्थ्यमाथि पनि प्रहार गरिरहेका छन् ।

यात्राले दिने उर्जा

पहिले पनि स्कुल र कलेजले दसैँदेखि तिहारसम्मै विदा दिन्थे । अनि टिका लगाउन आमाबुबाको साथ लागेर टाढा रहेका आफन्तलाई भेट्न जान्थ्यौँ । जति टाढाको यात्रा भए पनि कहिल्यै थकान महसुस हुँदैनथ्यो । सार्वजनिक बसको झ्यालबाट जति हेर्यो त्यति नयाँ ठाउँ, गाउँ, सहर र अनुहारहरु देखिने ।

ठाउँ ठाउँमा बिसाउँदै उकालो ओरालो घुईकिने बसबाट हरियो बनजंगल, पानी झरिरहेका ससाना खोलाहरुको दृश्य देख्दा मन नै रोमान्चित हुन्थ्यो । त्यो बेला अहिले जस्तो सजिलै ती दृश्य क्यामेरा र फोनमा कैद गर्न पाइने।

तर पनि स्मृतिमा स्थायी रुपमा बसेका ती सुन्दर तस्बिरहरु अझै पनि आँखासामु दौडिरहन्छन् । बसको बाटो सकिएपछि हामी उकालो हिँड्थ्यौँ लहरै लागेर । भोक लाग्दा आमाले बोकेको ‘कोसेली’ खुब मिठो लाग्थ्यो, तिर्खा लाग्दा गाउँलेले सफा पानी सित्तैमा दिन्थे।

अब कहाँ पाउनु त्यस्तो यात्रा र उकालो ओरालोको रमाइलो ? उही कहिलेकाहिँ ‘हाइकिङ’ र ‘टे«किङ’ ले कहाँ मेट्थ्यो ति दिनको न्यास्रो ? तर, पनि दसैँतिहार आउनासाथ बिदाको मौका छोपेर वनभोज गएको र छमछमी नाचेका स्मृतिका पलहरु पनि एकाएक ताजा हुनपुग्छन् । र, आफूलाई पनि चाडपर्वमा डुबेको महसुस हुनथाल्छ । अहिले यात्रा गर्न या वनभोज खान दसैँ त कुर्नु पर्दैन । तर दसैँका बेला गरिने यात्रा आफैमा सुन्दर हुन्छ, यो बेलाको मौसमले गर्दा पनि।

अशोज १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्