मान्छेको दसैँ पशुको दशा

आचार्य लक्ष्मण भण्डारी –

हामी यतिखेर रमाइरहेका छौँ । हाम्रा वरपर मानिसहरु भेट भएर आपसमा शुभकामना आदानप्रदान गर्ने क्रम तीब्र बनेर गएको छ । दसैँको विशेष अवसर भनेर विद्यालयदेखि सरकारी कार्यालयसम्म सबै बन्द भएका छन् ।

मानिसहरु आफ्नो व्यस्ततालाई बिर्सिएर विश्रामको आनन्दमा डुबिरहेका छन् । घरमा विभिन्न प्रकारका भोजनका परिकारहरु तयार हुँदै छन् । विभिन्न ठाउँमा छरिएर रहेका दाजुभाइ, दिदीबहिनी, इष्टमित्र र छरछिमेकीहरु एकै ठाउँमा भेला भएर मनोरञ्जनमा व्यस्त देखिन्छन् । हरेक टोलहरु प्रसन्न छन्, हरेक गाउँहरु प्रसन्न छन् र प्रायः सबै मानिस प्रसन्न देखिन्छन् ।

मान्छे यति प्रसन्न भएर विजयादशमीको तयारी गरिरहँदा हाम्रै घर वरपर पालेर राखिएका खसी, बोका, बाख्रा, राँगा, भैँसी, कुखुरा, हाँस आदि पशुप्राणी र जीव जनावर भने आफ्नो मृत्युको प्रतीक्षा गरी बसिरहेका छन् । ती सबै पशु मान्छेको उत्सका सामग्री भएका छन् । यस्तो लाग्छ, यी पशुको अभावमा मान्छेका लागि कुनै पनि उत्सव उत्सवजस्तो लाग्दैन । यस्तो लाग्छ, यी सबै पशुप्राणी केवल मानिसको मनोरञ्जनका सामग्री हुन्, रमाइलो र प्रसन्नताका विषय हुन् ।

कसैको बिहे होस्, जीव जनावरको मासु नभै पूरा हुन सक्दैन । व्रतबन्ध पनि पशुको रगत नभई पवित्र हुँदैन । दशैँ, तिहार, तीज जुन पर्व होस्, पशुको आँसु नपिई मान्छेलाई पर्वजस्ता लाग्दैनन् । घरमा कोही पाहुना आओस्, पशुको मासु नभई स्वागत राम्रो हुन सक्दैन । कुनै विद्यार्थी परीक्षामा उत्तीर्ण होस्, मासु नभई उसले कसैलाई खुशीयाली बाँड्न सक्दैन । लड्डु, पेँडा, स्याऊ, सुन्तलाका साथमा उसको खुशीमा साथ दिनेहरु अत्यन्त कम छन् ।

पशुको आँसुमा मान्छेको मस्ती

घरमा नयाँ कपडा किनेर ल्याउँदा पनि मासुबिना घर फर्कन मन लाग्दैन । कुनै कर्मचारी या हाकिमलाई केही गरिदिए बापत धन्यबाद दिने तरिका पनि मासु बनेको छ । कुनै सफलता, खुशी, उत्सव, चाड, पर्व, बिहे, ब्रतवन्ध, सबैमा मासु अविभाज्य र अनिवार्य आवश्यकता बनेर देखा परेको छ । यसरी, पशुको जीवन मान्छेको खुशीका लागि बनेको हो झैँ देखिन्छ ।

आचार्य लक्ष्मण भण्डारी

आज मानिसका उत्सवहरु निमुखा, बेकसुर र निरपराध पशुपक्षी, जीव र जनावरहरुका रगत, आँसु र मासुले मात्र पूरा हुने अवस्था आएको छ । यसरी हेर्दा, पशुहरुको अर्को जीवन नै छैन । केवल मान्छेका लागि बाँच्नु, उसको खुशीका लागि जीवन धान्नु र उसकै खुशीका लागि जीवनलीला समाप्त गर्नु अधिकांश घरपालुवा पशुहरुको नियति बनेको छ ।

जुन घरमा मासु पाक्दैन, त्यो घर असभ्यजस्तै बन्ने अवस्था आएको छ । सागपात खाएर जीवन धान्न खोज्नेहरु आज ‘जङ्गली’ भएका छन् । हिंसाले सभ्यताको रुप ग्रहण गरेको छ । मारकाटबिना मान्छेले खुशी मनाउन नसक्ने भएपछि उसको यही हिंसावृत्तिलाई आज उसले कथित सभ्यताका रुपमा विकास गर्ने दुश्चेष्टा गर्दैछ ।

के साँच्चै नै पशु मान्छेका लागि मात्र बाँचेका हुन् ? के यीनको जीवनको कुनै अर्थ छैन ? बोल्न नसकेर के यी पशुप्राणीले मानवीय हिंसाको वृत्तिलाई अनुमोदन गरिरहेका छन् ? यी प्रश्नहरुतिर गहिरिएर सोच्ने फुर्सद कसैमा देखिँदैन । यी प्रश्नहरुमाथि एकोहोरिने हो भने साँच्चै नै हामीले हामीभित्रको जङ्गली वृत्ति कुन हदसम्म मौलाएको रहेछ भनेर स्पष्ट बुझ्न सक्दछौँ ।

दसैँ आउन दुई, तीन महिना बाँकी हुँदैदेखि मान्छे आफ्नो कामप्रति शिथिल देखिन थाल्दछ । विभिन्न कार्यालयमा काम गर्ने मानिसहरु पनि बिदा सम्झिएर भएको जाँगरलाई आलस्यमा बदलिदिने गर्दछन् । दुई, तीन महिनादेखि नै प्रायः को चित्त मांसाहारमा केन्द्रित हुन थाल्दछ । केटाकेटीहरु पनि दसैँमा मासु खान पाइन्छ भनेर जिब्रो उदाएर बस्न सुरु गर्दछन् । मानिसहरु कसैले वर्षदिनदेखि नै दसैँको नाममा खसी र बोकाहरु तयार पारेर राखेका हुन्छन् भने कसैले बजारबाट किनेर आवश्यकता पूरा गर्दछन् ।

यहाँ पनि मानिसका बीचमा प्रतिस्पर्धा हुने गर्दछ । कसको घरमा धेरै मासुको पहाड बनाउने ? कसले धेरै निरपराध पशुको आँसु र रगत पिउने ? जसले धेरैभन्दा धेरै पशुप्राणीको हत्या गरेर रगतको पहाड बनाउन सक्यो उसले नै दसैँ राम्रोसँग मनाउन सक्यो भन्ने अर्थ लाग्दछ । दसैँको बेलामा जसले धेरैभन्दा धेरै रगत र आँसुमा पौडन सक्यो, उसैले धेरै दसैँ मनाएको र सभ्यताको संरक्षण गरेको ठान्ने समाज विकसित भएर गएको छ ।

जीवन सबैभन्दा प्रिय

हामीकहाँ हिंसालाई सभ्यता बनाइएको छ । हिंसा गर्न नसक्नेहरु कायर भएका छन्, आँसु र मासु देखेर रुनेहरु अपमानित भएका छन् । कुनै प्रतिरोध गर्न नसक्ने, अत्यन्त कमजोर र निरीह पशुहरुको रगत, मासु र आँसुमाथि नुन, मसला, तेन, भुटुन राखेर अनेका परिकार बनाई खानेहरुभन्दा बलवान, साहसी, र सभ्य आज दोस्रो कोही देखिँदैन ।

जीवनको अधिकार सबै अधिकारहरुको पनि अधिकार हो । मान्छेका लागि जसरी जीवन सबैभन्दा प्रिय र सुरक्षित हुनुपर्ने विषय हो, मान्छेबाहेकका पशुप्राणी र जीवजनावरका लागि पनि त उनीहरुको जीवन सबैभन्दा प्रिय विषय होइन र ? जीवनले नै सबै अधिकार र कर्तव्यको आवश्यकता महसुस गर्ने हो । यदि हामीसँग हाम्रो जीवन नै छैन भने हामी हाम्रो खुशी, प्रसन्नता, अधिकार, कर्तव्यलगायतका कुरा कसरी गर्न सक्छौँ र !

हामीभित्र हामीबाहेक कसैको पनि जीवन मूल्यवान छ भन्ने लाग्दैन । मनुष्यबाहेकका सबै जीवजनावर, पशुपक्षी, कीटपतङ्ग र बोटबिरुवाको कुनै अर्थ छैन भन्ने मान्यतामा नै सम्भवतः यति धेरै हिंसा र हत्याहरु भएका छन् । जुनदिनसम्म हामीमा आफूलाई छोडेर अरुलाई पनि उत्तिकै महत्त्व दिने चेतनाको उदय हुँदैन, तबसम्म हाम्रा कारण हामी स्वयम्, समाज र सम्पूर्ण प्राणी जगत् दुखित, अशान्त र तनावपूर्ण रहने क्रम सायद रोकिने छैन ।

पशुप्राणीप्रतिको हिंसाले मानिसमा त्रूmरताको विकास भएको छ । त्यही क्रूरताका कारण अब पशुलाई छोडेर ऊ मानिसमाथि नै जाइलाग्न सुरु गरेको छ । हिंसा चाहे कुनै पनि किसिमको किन नहोस्, त्यो हामीभित्र संस्कारका रुपमा विकसित भएर गइरहेको हुन्छ । त्यही संस्कारको प्रभावमा नै हामी र हाम्रा व्यवहारहरु देखापर्ने गर्दछन् । आजको समाजमा शान्ति र अमनचयन चैन ।

जता हेर्‍यो उतै अशान्ति, जता हेर्‍यो उतै तनाव, जता हेर्‍यो उतै लडाईँ र जता हेर्‍यो उतै झगडा । हामीले हरेक समय हिंसालाई मूल्य दिएका छौँ, त्यसैले हिंसा यति मूल्यवान् भएर गएको छ । हामीले निरन्तर क्रुरताको चिन्तन गरिरहका छौँ, यसैले हिंसा र बलियो भएर गएको छ ।

मासु पनि प्रसाद ?

जहाँ पवित्र चाडपर्व र उत्सवहरुमा पनि रगतको खोलो बग्ने गर्दछ, जहाँ पूजा र प्रार्थना पनि पशुहरुको रगतको टिका लगाएर गर्ने गरिन्छ, त्यहाँको समाज प्रेमपूर्ण, शान्त, सुन्दर र सभ्य कुनै पनि हालतमा हुन सक्दैन । जहाँका मान्छे पशुको आँसु, रगत र मासुको प्रसाद बनाएर घरमा आएका पाहुनाको स्वागत गर्दछन्, ती देश, समाज र सभ्यताहरु कहिल्यै प्रेमपूर्ण, अहिंसात्मक र आपसी सद्भावले पूर्ण हुन सक्दैनन् । मासु कहिल्यै प्रसाद बन्न सक्दैन ।

हामीले हाम्रा इन्द्रियका इच्छा, चाहना र वासनाका आधारमा विशिष्ट चिन्तक, विश्लेषक र बुद्ध पुरुषहरुका आशयलाई बङ्ग्याउने गरेका छौँ । भगवान् बुद्धले पूर्णतः अहिंसाको पक्षमा वकालत गर्नुभएको छ । कुनै पनि बहानामा कसैको हत्या हुनु राम्रो कुरा होइन भन्ने बुद्धको दर्शनमा कुनै विकल्प छैन । तर बुद्धका कतिपय चेलाहरुले पशुप्राणीको हत्यालाई हिंसा मानेका छैनन् ।

ओशोले सम्भोगबाट समाधितिर जाने जुन विधिको चर्चा गर्नुभएको थियो त्यसलाई विकृत बनाएर उहाँका कतिपय अनुयायीहरु सम्भोगमै केन्द्रित भएर बसेका छन् । दसैँका अवसरमा स्वयम्भित्रका विकार र विकृतिहरुको बध गर्नुपर्दछ भन्ने विशिष्ट दर्शनलाई पशुको बलिसँग जोडेर कुप्रथाको विकास गरिएको छ ।

यी सबै व्यक्तिका इन्द्रियको निर्देशन, चाहना र इच्छाका कारण दूषित बनाइएका परम्परा हुन् । ओशोका विचारमा ती विशिष्ट ऋषिमनिषी, विशिष्ट, बुद्ध पुरुषले भनेका कुरालाई सतहबाट बुझेर व्यवहार गर्दा सुन्दर परम्परा, दर्शन र मान्यताहरु पनि कुप्रथामा बदलिने गर्दछन् । दसैँका अवसरमा पनि भएको यही हो । मान्छेले सगरमाथाबाट भनेका कुरालाई जमिनको सतहबाट विश्लेषण र व्यवहार गर्‍यो ।

मान्छेले जिब्रोले दसैँको मूल्यलाई बुझ्ने काम गर्‍यो, मस्तिष्कले होइन । जिब्रोले दसैँको मूल्य र मान्यता व्याख्या गर्दा निरीह पशुप्राणीहरु आज यसरी शहीद बनेर मासुमा बदलिएका छन् । संसारमा जति पनि कुप्रथाहरु जन्मिएका छन्, इन्द्रियको विजयका कारण जन्मिएका छन् ।

वास्तविक प्रथा, प्रचलन, र परम्पराहरु विवेक र चेतनाका माध्यमले जन्मने गर्दछन् । तर विवेकको गहिराईबाट जन्मिएका परम्पराहरु पनि जब इन्द्रियका सतहबाट प्रयोगमा आउँछन्, अनि यस्तै हुन्छ, निरीहहरु काटिन थाल्दछन्, कुनै नियम र अनुशासनको मूल्य हुँदैन र सवैत्र अराजकता र अव्यवस्थाको जन्म हुन्छ ।

जतिबेला भगवान रामले रावणमाथि विजय प्राप्त गर्नुभएको थियो, त्यतिखेर, केवल मानिसहरु मात्र थिएनन् । त्यो त यस्तो क्षण थियो जहाँ कुनै असभ्यता बाँकी थिएन । असभ्यतामाथि सभ्यताले विजय प्राप्त गरेको थियो । पशुहरुमा सबैभन्दा असभ्य मानिने बाँदर हो । त्यतिखेर बाँदर पनि प्रसन्न थिए । बाँदरले पनि विजयको दसौँ दिनमा मानिसले जत्तिकै प्रसन्नता र शिष्टताका साथ रावणमाथि रामको विजयको उत्सव मनाएका थिए।

उत्सव सबैका लागि

सबै पशुप्राणी, बोटबिरुवा, कीटपतङ्ग प्रसन्न थिए किनकी कयौँ वर्षदेखि रावणको हिंसा र असभ्यताको कालो छायामुनि समस्त पशुप्राणी, पक्षी र वनस्पति समुदाय बाँच्न विवश थियो । सोझा, निमुखा र बोल्न अनि मन खोल्न नसक्ने सबैमाथि रावणको एक छत्र शासन कायम थियो ।

अत्यन्त बर्बर, असभ्य, जङ्गली र हिंस्रक रावण परम्पराप्रति प्रेम, अहिंस्रक, सभ्य र मानवीय राम—परम्परा हावी भएको त्यो क्षण वास्तवमा उत्सवको क्षण थियो । त्यो उत्सवमा मान्छेसँगै सबै पशु र प्राणीले खुशी साटासाट गरेका थिए, कोही कसैका बीच विभेद थिएन । शायद, त्यही नै रामराज्यको पूर्व झलक थियो ।

उत्सव सबैका लागि हो । उत्सवको धर्म नै सबैको सेवा र कल्याण हो । कोही व्यक्ति समूहभन्दा बाहिर रहेर पनि खुशी हुन सक्छ, स्वयम्मा । उसले आफैभित्र उत्सव मनाउन सक्ला, साधुहरुजस्तै साधनाको उच्चतामा तर उनीहरुले प्रसन्नताको प्रभाव वरपर रहेको अन्य पशुप्राणी र बोटबिरुवा पनि पर्दछ । दसैँ हाम्रो यस्तै उत्सव हो, जहाँ हामी सबै एकसाथ रमाउनुपर्ने हो, प्रसन्न हुनुपर्ने हो । केवल मान्छे मात्र होइन, अस्तित्वका तमाम सदस्यमा यसको सकारात्मक प्रभाव पनुपर्दछ ।

कुनै पनि मानवीय सभ्यतामा उत्सवभित्र हिंसा पर्दैन किनकि मानवीय मूल्यभित्र हिंसा पर्दैन । हो, दानवी उत्सवहरुमा हिंसा समेटिन सक्छ, अपराध समेटिन सक्छ । उत्सव पूण्यको प्राप्ति हो, पापको होइन । उत्सव पवित्रताको उपलब्धि हो, अपराधको होइन । हामी पापको भारी बोकेर उत्सव मनाइरहेका छौँ, अपराध र हिंसाको डोको बोकेर दसैँ मनाइरहेका छौँ ।

दसैँ दशामा बदलिने कारण

जहाँ प्रेमलाई घृणा गरिन्छ र घृणालाई प्रेम गरिन्छ, के त्यसलाई हामी उत्सवको नाम दिन सक्छौँ ? जहाँ निर्दोषितालाई दण्डित गरिन्छ र दोषलाई पुरस्कृत गरिन्छ, के त्यसलाई पनि हामी उत्सवको नाम दिऊँ ? त्यसैले, हामीकहाँ हाम्रा उत्सवहरु पीडा लिएर आएका हुन्छन् । अभाव र दारिद्रय लिएर आएका हुन्छन्, रोग र वैमनस्य लिएर आएका हुन्छन् ।

त्यसै, ‘दसैँ’ आज ‘दशा’ मा बदलिएको छैन । हामीले दसैँको मानवीय आधारलाई नै कुल्चेर दसैँ मनाइरहेका बेला मानवीयता कसरी संरक्षण हुन सक्छ ? लोभानि र पापानीको दर्शनमा विकसित दसैँले कसरी आपसी सद्भाव वृद्धि गर्न सक्छ ?

अब बिस्तारै अस्पतालहरुले काम पाउँछन् । पशुप्राणीको रगत, मासु र आँसु परेका पेटहरुमा हुने अप्राकृति प्रतिक्रियामा थुपै्र स्वस्थ मानिसहरु पनि रोगका शिकार बन्न पुग्दछन् । दुर्घटनाहरुमा वृद्धि भएका समाचारहरु पनि सम्भवतः धेरै पढ्न पाइने छन् । दसैँका बेलामा मानिसहरु आपसमा लडेर मरे अरे भन्ने पनि सायद नसुनीरहन सकिने छैन । जुवा र तासहरुमा मानिसहरु लड्दा आपसी लडाइँका कारण अङ्गभङ्ग भए भन्ने खबर पनि हाम्रा लागि पुरानो बन्नेछ ।

के यसैलाई दसैँ भन्ने ? सबै कुरा घाटा नै घाटा ! के यही हो दसैँ ? अरुलाई रुपैयाँ पैसाको धाक लगाउने र कमजोरलाई ऋण गरेर घिऊ पिउन बाध्य बनाउने पर्बलाई हामी विजयादशमीको नाम दिन सक्छौँ ?

यसैले, आउनुस्, दसैँको विज्ञान र आध्यात्मको आधारमा टेकेर यसलाई मनाऔँ । सादगी, सात्विकता र सुन्दरता दसैँका विशेषता हुन् । सबैभन्दा, हिंसामाथि अहिंसाको विजय हो यो । हामीभित्र पनि कयौँ हिंसात्मक वृत्ति छन् । ती वृत्तिमाथि विजयी बनेर विजयादशमी उत्सव मनाउन सकिन्छ । हामी जबसम्म हाम्रो विवेक पराजित भइरहने छ र विजयी भइरहनेछन्, इन्द्रियहरु, त्यतिन्जेलसम्म हाम्रो दसैँ दसा बनिरहनेछ । यदि हाम्रा इन्द्रियमाथि विवेक विजयी भयो भने त्यही ‘दसा’ हाम्रो ‘दसैँ’ को उत्सवमा बदलिने छ ।

मान्छेका लागि पशुहत्या गरी मासु खान पाउनु ‘दसैँ’ होला, तर पशुका लागि यो दशा हो । कसैका लागि दशा, कसैको दसैँ कसरी बन्न सक्छ ? समाजमा अन्याय, अत्याचार, शोषण र बेइमानी गर्नेहरु हार्दा सत्यका पक्षपातीले दसैँ मनाएको महसुस गर्लान, तर बेकसुर प्राणी मारेर खानेहरूलाई कहिल्यै विजेता मान्न सकिन्न । दसैँ मानिसको मात्रै होइन, पशुप्राणीसहित सबैको दसैँ हुनुपर्छ । मान्छेको दसैँ पशुका लागि दशा बन्न हुँदैन ।

तपाईँलाई आफ्ना सम्पूर्ण ‘दसा’हरुलाई ‘दसैँ’मा बदल्ने शक्ति प्राप्त होस् । तपाईँ स्वयम्का विजेता बनेर समाजतिर प्रस्थान गर्ने क्रममा अपूर्व सफलता मिलोस, दसैँको अवसरमा धेरैधेरै शुभकामना !!!

असोज १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्