यस्ताे छ, प्रदेश–१ का मुख्यमन्त्री र प्रदेश प्रमुखकाे दसैं याेजना

माेरङ– बडादसैँको आगमनसँगै प्रदेश एकका शीर्ष तहका पदाधिकारी दसैँ मनाउन आ–आफ्नो तयारीमा जुटेका छन्। प्रदेश एकका प्रदेश प्रमुख प्रा‍.डा. गोविन्दबहादुर तुम्बाहाङले राजधानी विराटनगरमै टीका लगाउने योजना बनाएका छन्।

दसैँका लागि प्रदेशकी फर्स्ट लेडी संगीता सुब्बा प्रदेश निवासमा आइसकेकाले दसैँको रौनक बढेको उनका सह–स्वकीय सचिव विशाल लिम्बुले जानकारी दिए। गएको वर्ष परिवारमा जुठो परेकोले टीका ग्रहण गर्न नमिलेको तुम्बाहाङ परिवार यसपटक भने धनकुटास्थित निवास पनि पुग्ने तयारीमा रहेको छ।

विज्ञापन

यद्यपी, साईतको टीका भने विराटनगर कोशी प्रोजेक्टस्थित निवासमै लगाउने कार्यक्रम छ। दसैँको लागि छोरी डा. आस्था सुब्बा पनि विराटनगर आइसकेकी छिन्। अर्कोतर्फ अष्ट्रेलियामा रहेका छोरा अभिषेक सुब्बा भने दसैँ कार्यक्रममा अनुपस्थित रहने छन्।

निवासमा साइतको टीका लगाएपछि दिउँसो करिब २ बजे प्रदेश प्रमुख तुम्बाहाङ धनकुटा प्रस्थान गर्नेछन्। २०१४ सालमा धनकुटाको तांगखुवा ३, बन्चरेमा जन्मिएका तुम्बाहाङले दाजु धर्मलाल लिम्बू, टंकप्रसाद लिम्बू र लक्ष्मी सुब्बाको हातबाट टीका थाप्नेछन्। परिवारका कान्छा सदस्य उनी दसैँ नेपालीहरुको ठूलो चाड भएकाले सबैले सद्भावसाथ गच्छे अनुसार मनाउनुपर्ने बताउँछन्।

मान्यजनबाट आशिर्वाद लिने र सानालाई आशिर्वाद दिने प्रचलनले यस पर्वको गरिमा थप बढाएको बताउने प्रमुख प्राडा तुम्बाहाङ दसैँले सबैलाई एक सुत्रमा बाध्ने गरेको उल्लेख गर्छन्। धनकुटामा दाजुहरुको हातको टीका थापिसकेपछि उनी पुनः विराटनगर फर्कनेछन्। यसपटक उनी इलामस्थित ससुराली भने जाने कार्यक्रम नभएको सह–स्वकीय सचिव विशालले बताए।

दसैँको टीका रातो अक्षेतामा लगाउँदै आएका प्रमुख तुम्बाहाङ मांसाकारी हुन् र दसैँमा स्वस्थ्यलाई ख्याल राख्दै खानपानमा जोड दिन सुझाव दिन्छन्। आमाको तिथी परेको हुनाले तुम्बाहाङ परिवारको एकादशी र द्वादशी भने माछामासुरहित हुनेछ।

त्यसैगरि प्रदेश एकका मुख्यमन्त्री शेरधन राई भने यसपटक दसैँका लागि भोजपुर घरमा बाबुआमाको हातको टीका लगाउने योजनामा छन्। दसैँ माैसममा भर पर्ने बताएका मुख्यमन्त्री राईले सफा मौसम भए घर पुग्ने र वर्षा भए विराटनगरमै दसैँ मनाउने अवस्थामा छन्। दसैँमा सेतो टीका लगाउने राई परिवारमा मुख्यमन्त्री राई अविवाहित छन्।

त्यसैगरि, आन्तरिक मामिला मन्त्री तथा कानून मन्त्री हिक्मत कार्की भने दसैँको कार्यक्रम झापास्थित गौरादह नगरपालिका घरमा मनाउने तयारीमा छन्। सोमबार प्रधानमन्त्री केपी शर्मा ओली झापा आउने भएकाले स्वागतका लागि र त्यसपछि टीकाका लागि मन्त्री कार्की घर पुग्ने योजनामा रहेको उनका स्वकीय सचिव रवि खनालले जानकारी दिए।

मन्त्री कार्कीले साइतको टीका ८५ वर्षिया आमा जानुकादेवि कार्कीकाे हातबाट लगाउने छन्। त्यसपछि उनले दाजु दिपक कार्कीबाट टीका ग्रहण गर्नेछन्। अन्जना कार्की पाण्डे श्रीमतिसहित आयुषा, आरोही छोरी र एक छोरा आरोहण पनि दसैँका लागि काठमाडौँबाट गौराहद पुगिसकेका छन्।

साईतको टीका लगाएर मन्त्री कार्की एकादशी विराटनगर फर्कने कार्यक्रम रहेको छ। कार्की परिवारमा माछामासु चल्ने गरेको छ।

अर्कोतर्फ सामाजिक विकास मन्त्री जीवन घिमिरेको दसैँ विराटनगर नै हुनेछ। साथीभाई तथा परिवारसँग समय निकाल्दै दशमीको दिन उनी व्यस्त रहने छन्।

त्यसैगरि उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियत सुनसरीस्थित निवासमा दसैँ मनाउने योजनामा छन्।

 

अशोज १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्