ब्लग

मेरा लागि बाआमाले सामाजिक बन्धन ताेडे

दसैँ सबैका लागि खास हुन्छ। मेरा लागि त झनै विशेष छ। हरेक वर्ष आउने दसैँले मलाई मेराे जीवनकाे त्याे विशेष दिनकाे सम्झना दिलाउँछ। जुन दिन अहिले पनि मेरो मनसपटलमा ताजा छ।

करिब १० वर्ष अगाडिको मेरो त्यो दसैँ पनि साथिहरुसँग पिङ् खेलन जानु, गृहकार्य गर्नु, नयाँ लुगा लगाउनु, मासु पोलेर खानुले झन् रमाइलो भइरहेको थियो।

विज्ञापन

असोज महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौँ दिन अथार्त दशमीका दिन आफूभन्दा ठुलाबडाको हातबाट टीका जमरा लगाउने गरिन्छ। हो, म त्यही दिनको प्रतिक्षामा थिएँ। घरकी सबै भन्दा सानी म। टीका लगाएर सबैले धेरै दक्षिण दिने गर्थे।

दसैँ सुरु भएको आठाैँ दिन आर्थात अष्ठमीको दिन म पनि दादासँग बिहानै उठेँ। धारामा गएर नुहाइ धुवाई गर्यौँ। त्यतिन्जेल बुवाको नित्यकर्म सकिसकेको थियो। हामी दाजु बहिनी मिलेर गृहकार्य गर्यौँ। खाना खायौँ र फेरी खेल्नका लागि गाउँतिर हानियौँ।

घर फर्किँदा साँझ भइसकेको थियो। मुवाको भनाईलाई पालना गर्दै हामी दाजु बहिनीले हातमुख धोयौँ र खाना खानाका लागि भान्सातर्फ लाग्यौँ।

त्यो दिनको खाना खोइ कि हो, मलाई निकै मिठो लाग्यो। मासु, रोटी र दही म मिठो मानेर खाँदै थिएँ। खाँदाखाँदै एक्कासी मलाई पिसाबले च्याप्यो। खाँदै गरेको खाना छोडेर म जुरुक्क उठेँ, अनि ट्वाइलेट तिर लागेँ।

ट्वाइलेट घरदेखि अल्लि टाढा भएकाले मलाई त्यहाँसम्म पुग्न मन लागेन र घरको छेउमै भएको चौउरमा पिसाब फेर्नका लागि टुसुक्क बसेँ। पिसाब फेरेर उठ्दै गर्दा पिसाब फेरेको ठाउँ र अन्डरवेयर रगतले लट्पट्टिएको देखेँ। त्योभन्दा अगाडि मलाई त्यस्तो अनुभूति कहिल्यै पनि भएको थिएन। म आत्तिएँ। त्यो ठाउँबाट उठेर फेरी भान्सामा जान सकिन।

धेरै बेरसम्म म नफर्किएको देखेर मलाई खोज्न आएकी मेरी मुवालाई मैले भन्न सकिन। तर जसरी पनि भन्नु त थियो नै, मुवाले धेरै पटक सोधेपछि मैले मेरो पिसाबमा रगत देखिएको बताएँ।

मेरो यो कुरा सुन्ने बित्तिकै उहाँको मुखबाट फ्याट्ट निस्कियो,‘पर्सिको दसैँ छ, छ्या आजै के भा’को होला।’

यति भनेपछि फेरी उहाँको मुखबाट निस्कियो,‘नानी तँ त नछुने भइछस् नी!’ मुवाको कुरा सुनेर मलाई झन् डर लाग्यो।

अब के हुन्छ? किनकी म भन्दा अगाडि ठूली मुवाको छोरी पहिलो पटक महिनावारी हुँदा सात  दिनसम्म अँध्यारो कोठामा बस्नु परेको थियो। मैले सोचेँ,‘अब म पनि त्यसैगरी अँध्यारो कोठामा बस्ने?’ दिज्जुले त्यो सात दिनसम्म बुवा अनि दादाको मुख हेर्न नपाएको कुरा मेरो मानसपटलमा घुम्न थाल्याे।

म दादासँग छुट्टिएर बस्न सक्दिन थिएँ। ऊसँग खेल्न जान, धुम्न जान, अनि दिउँसोमा अम्बा खान जान मलाई एकदमै रमाइलो लाग्थ्यो। अनि… अनि म बुवालाई नहेरी कसरी बस्न सकुला र? उसो त बुवाकी प्यारी म।

नयाँ लुगा लगाएर टीका लगाउने अनि मेला जाने मेरो यो वर्षको सपना अधुरै हुने कुराले मन कटक्क खाइरहेको थियो। याे कुरा सम्झेर मन बेस्सरी दुख्यो।

म रुन थालेँ। रुँदै मुवालाई मलाई अँध्यारो कोठामा नराख्न आग्रह गरेँ। अब भने मुवालाई अप्ठ्याराे पर्‍याे क्यारे। छाेरीलाई अँध्यारो कोठामा राखौँ भने वर्षमा एक पटक आउने चार्ड, नराखौँ त चलिआएको चलनलाई कसरी नकार्ने? यही दुविधाले मुवालाई सोच्न बाध्य बनायो।

उसो त मेरो मुवा आफैँमा एक स्वास्थ्यकर्मी। उहाँलाई महिनावारीको बारेमा घरपरिवारका अन्य सदस्यलाई भन्दा धेरै ज्ञान थियो। तर पनि मुवालाई सामाजिक बन्धनले बाँधेको थियो। मुवाको मौनतालाई मैले फेरी चिर्न खोजेँ। उहाँले मलाई नरुन आग्रह गरेपछि मनमा केही आशा पलायो।

चौउरबाट आमा–छोरी घर तिर लाग्यौँ। म मुवाको पछाडि–पछाडि लागेँ र भान्साको ढोकामा ट्क्क उभिएँ। मुवासँगै भित्रै जाने आँट मैले गर्न सकिँन। कतिबेला भित्र बोलाउलान् र भित्र जाउँला भन्ने आशाले ढोकामै उभिरहेँ।

बुवा र मुवाले के कुरा गरे कुन्नि मैले सुन्न पाइँन र चासो पनि राखिँन।

त्यतिकैमा भित्रबाट बुवाको आवाज आयो,‘नानी भित्र आइज।’ मलिन भएको मेरो अनुहारमा एकाएक चमक आयो। म भित्र गएँ। बुवा र मुवाले महिनावारी भएको कुरा कसैलाई नभन्नु भनेर सिकाउनु भयो। मैले पनि खुसी हुँदै उहाँहरुको कुरामा सहमति जनाएँ।

महिनावारी भएको पहिलो दिन केही गाह्रो त भयो नै तर पनि म आफू लुक्नु नपरेकोमा दङ्ग थिएँ।

भोलीपल्ट अर्थात महिनावारी भएको दोस्रो दिन बिहान दादाले मलाई उठायो। उठ्ने बित्तिकै मैले दादाको मुख हेरेँ। तर मलाई मनमा लागिरहेको थियो, दादालाई हेरेर केही हुने पो हो की? तर उसलाई केही भएन। अन्य दिनभन्दा त्यो दिन म केही ढिलो भने उठेँ।

हात मुख धोएँ। ‘नानी अम्बा टिप्न जाम्’ दादाले मलाई आग्रह गर्‍याे तर त्यस दिन भने मैले उसको आग्रहलाई सिधै नकारिदिएँ। बरु बसेर गृहकार्य गर्न थालेँ। खानाखाने समय भएपछि अन्य दिनमा जस्तै उसैगरी हामी सबै जना सँगै बसेर खाना खायौँ। अनि नुहाइ धुवाइ गरेँ। फ्रेस भएँ।

अब भने मलाई थाहा भयो। पक्कै पनि म त्यो अँध्याराेसँग जुध्नु पर्दैन। तर मनमा डर लागिरहेको थियो, टीका लगाउन पाउँछु की पाउँदिन। मैले यो कुरा मुवालाई सोध्ने आँट गरिन पनि। त्यो दिन त्यसै बित्यो। म खुसी थिएँ। अरुको भन्दा मेरो पहिलो महिनावारी फरक थियो। मेरो परिवारले मेरो लागि सामाजिक बन्धन तोडेको थियो।

महिनावारीको तेस्रो दिन अर्थात टीकाको दिन मुवासँगै उठेँ। हामी नुहाउन धारामा गयौँ। नुहाएर घर आयौँ। मुवालाई भान्सामा काम गर्न सघाएँ। पहिलाको जसरी नै भान्सामा मुवासँग काम गरेँ। मलाई टीका लगाउन नपाइने हो की भन्ने डरले मनमा डेरा जमाइराखेको थियो। ‘नानी अब जाऊ, दादा र तिमी तयार हुँदै गर।’ मुवाको यो वाक्यले म झसङ्ग भएँ।

मुवाले भने अनुसार दादा र म नयाँ लुगा लगाएर तयार भयौँ। देवीको छेउमै पहेँलै उम्रिएका जमरा काटेँ र रातो टीका पनि तयार पारेँ। अब मलाई यो वर्षको दसैँ अझै खास लाग्न थाल्यो। महिनावारीका बेला गर्न नहुने भनिएका सबै नियम मैले तोड्दै गएकी थिएँ।

बुवा–मुवा र दादाको हातबाट टीका लगाएँ। यति मात्र नभएर घरमा टीका लगाउन आएका सबै आफन्तको हातबाट पनि टीका लगाएँ। टीका पश्चात हामी सबैले खाना खायौँ।

टीकाकै दिन घरदेखि केही टाढाको मन्दिरमा ठूलो मेला लाग्ने गर्छ। सबै जना उक्त मेलामा जाने याेजना बनाउन थाले। उनीहरु जाँदा मेरो मन कहाँ थामिन्थ्यो होला र? हतार–हतार खाना खाएर म पनि मेला जानका लागि तयार भएँ। मेलामा पुगेँ।हामीले मन्दिर परिक्रमा गर्‍याैँ। दक्षिणा पाएको पैसाले दादा र मैले मेलामा आफूलाई मन परेका सामान किन्यौँ र साँझ घर फर्कियौँ।

महिनावारीको मेरो पहिलो अनुभूति अरुको भन्दा बिल्कुलै फरक भयो। त्यसपछिका दिन पनि उसै गरी बिते।

भनिन्छ, महिनावारी नबार्दा पाप लाग्छ रे। तर मलाई आजको दिनसम्म पनि त्यो पाप भोग्नु परेको छैन। हामीले सबैले स्कुलमा पढ्ने गर्छौँ, महिनावारी एउटा प्राकृतिक प्रकृया हो। तर त्यही कुरालाई कयौँले आफैमा लागू गर्न सकिसकेका छैनन्।

त्यसैले त म हरेक दसैँमा यही कामना गर्ने गर्छु। ‘मेरो परिवार जस्तो सबैको परिवारले महिनावारी भएकी छोरीलाई स्वीकार्न सकोस्, र कुनै पनि महिलाले महिनावारी कै कारण अकालमा ज्यान गुमाउनु नपरोस्।’

दशमीको दिन भगवतिले दानव शक्तिमाथि विजय हासिल गरेको खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टीका र जमरा लगाउने गरिन्छ। सायद त्यसै दिन मैले पनि एउटा विजय हासिल गरेको थिएँ।

सोच बदलौँ, सुरुवात आफैबाट गरौँ। यही छ, सबैलाई दसैँको मेरो शुभकामना।

अशोज २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्