ब्लग

कतै झुक्किएर सी जिनपिङ ‘तीनकुने’ पार्कभित्र नपसुन्!

चार दिन भएको थियो म ‘कोटेश्वर– तीनकुने’काे बाटो नहिँडेको। फूलपातीको साँझ कार्यालयबाट निस्केर घर जान हिँडे। सहकर्मी प्रतिभा चन्दसँग स्कुटरमा पछाडि बसेर हामी बानेश्वरतिर लाग्यौँ। सानो काम थियो, सक्कियो।

एक्कासी पिङको कुरा निस्कियो। हामीलाई नजिक पर्ने ठाउँ तीनकुने थियो। प्रतिभाले फोनमा पिङ छ भन्ने ‘कन्फर्म’ गरेपछि हामी त्यतैतिर लाग्यौँ।

नजिक–नजिक पुगेपछि हामी दंग पर्‍यौँ। खुल्ला दायाँदेखि बाँयासम्म देखिने तीनकुनेको चौर वरपर त माटोको अग्ला ढिस्का थिए। एक किसिमले रातारात टापुको अकार लिएको थियो। त्यसैले एयरपोर्ट जाने बाटोपट्टिबाट स्कुटर घुमाएर एक चक्कर लगाइयो। पिङ देखियो तर टापु बाहिरबाट कहाँनिर छ भन्ने भेउ पाउन सारै गाह्राे भयो।

हामीले चौरमा जाने बाटो भेटेनौँ, त्यहाँ पाँच/सात जना ठूला–ठूला हुर्किएका बिरुवा रोप्दै थिए। चौरमा पुग्न फुटपाथबाट खोल्सा कटेर कसरी जाने अन्यौल थियो। काम गर्दै गरेका एक जना दाईले हामीलाई ‘यहाँबाट आऊ’ भने।

फुकुवा माटोको त्यो पहाडमा ढुङ्गाका टुक्रा अनि इट्टाका चोइटा सराबरी थिए। उक्नलाई एक पाइला माथि उचाल्यो बगेर फेरी माटोसँगै तल आइपुगिन्थ्यो। त्यो माटोको थुप्रो उक्लन हामीलाई सारै अफ्ठेरो पर्‍यो।

दुई दिन अगाडि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले ‘तीनकुनेलाई रातारात पार्क बनाउनु’ भन्ने आदेश दिएका थिए। छिमेकी देश चीनबाट राष्ट्रपति सी जिनपिङ आउँदैछन्। एयरपोर्टमा अवतरण गरेपछि उनी तीनकुने कै बाटो हुँदै सोल्टी होटल जानेछन्। राष्ट्रपति सीलाई कुनै सुन्दर ठाउँ त देखाउनै पर्‍यो।

जे भएपनि ‘फस्ट इम्प्रेशन’ आकर्षक हुनुपर्‍यो।

यो भन्दा अगाडि अर्का छिमेकी देशका प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा यो चौर जस्ताले बारिएको थियो।

माटोको पर्खाल कटेर चौरमा टेकेपछि त्यहाँको अवस्था देख्न सकिन्छ। लामाे घाँस घुँडासम्म आइपुग्छ। अलि पर छरिएका फोहोर, अव्यवस्थित सामान अनि दसैँको माहोलमा हरियो घाँसमा चरिरहेका ५०, ६० ओटा बोका, च्याङ्ग्राकाे मोलमोलाई गरीरहेका ग्राहक अनि साहू।

त्यहाँबाट बाटोमा गुडेका गाडी अलि पर–पर मात्र देखिन्थे, नजिक आएपछि पर्खालले छेक्थ्यो।

म सानो हुँदाको कुरा हो, जतिबेला मैले आमालाई काममा सहयोग गर्न सक्दिनथे। पसल र घर फरक–फरक ठाउँमा भएकोले मेरो ममी घरमा त्यति समय दिन भ्याउनुहुन्थेन।

दाईहरुलाई स्कूल होमवर्क अनि खेल्दैमा भ्याइनभ्याई हुन्थ्यो। दसैँ आएपछि घरको सरसफाई गर्न ममीको आदेश आउथ्यो। दाईहरु चङ्गा उडाउन छोडेर मन नलागी–नलागी घर सफा गर्न थाल्थे।

सानो दाई ‘सर्टकट’ तरिका अपनाउँथ्यो। धेरै जस्ता सामानलाई खाटको मुनी कोचिदिन्थ्यो र खाटको वरपर तन्ना झोल्याइदिन्थ्यो। एक साँझ ममिले खाटको तन्ना पल्टाएर दाईलाई देखाउँदै भन्नुभएको थियो, ‘यो झोल्लिएको तन्ना खस्यो भने के हुन्छ?’

हिजोआज काठमाडौँ श्रृंगारिएको देख्दा मलाई यो कुरा स्मरणमा आइरहन्छ। माइतीघरको वरपर सवारीको चाप त जहिले पनि धेरै छ। त्यहाँ वरपरको खाल्डोमा धेरैपल्ट म पनि परेकी छुँ। धन्न अहिलेसम्म कुनै दुर्घटना भएको छैन।

त्यो खाल्डो हिजोको आजै बनेको होइन तर पुरिनलाई चाहीँ सी जिनपिङ आउनुपर्‍यो।

नरेन्द्र मोदीको नेपाल भ्रमणकाे समयमा म सम्झन्छु भद्रकाली नजिकको आकाशे पुल र फुटपाथमा दुई ओटा पानी ट्याङ्कीले धुलो पखाल्दै थिए। ट्याङ्कीमा काठमाडौँ महानगरपालिका लेखिएको थियो।

खुसी भएँ र भिडियो बनाए। फेरी झल्यास्स याद आयो यो नियमित अथवा थपिएको सरसफाई कार्यक्रम होइन, मोदी स्वागतको तयारी हो।

चिनियाँ राष्ट्रपतिकाे स्वागतको लागि यो पटक पनि काठमाडौँ महानगरपालिका नै लागिपरेको छ। त्यसैले तीनकुनेको निर्माणाधिन पुलमा कागजका पेटिङ्ग वाल उठेका छन्।

बाटोको डिलहरु सेतो, पहेँलो अनि कालो रंगले रंगिएको छ। महानगरपालिकाका अनुसार एयरपोर्ट र महानगरपालिका अगाडि दुईओटा गेट बन्दैछन्। बाटो छेउछाउमा हुने विज्ञापन बोर्डमा नेपालका राष्ट्रपति र प्रधानमन्त्रीका तस्बिर देखिने छन्। बिच–बिचमा सी पनि देखिएलान्।

फेरी फर्किऔँ तीनकुनेतर्फ,

ती माटाका पर्खालमा धमाधम चाइनिज दुबो टाँसिएको छ। ठाउँ–ठाउँबाट छिर्ने ठाउँ बनाइएको छ। बाहिरबाट हेर्दा पर्खाल भित्र सारै नै सुन्दर चीज लुकाएर राखिएको जस्तो लाग्छ।

यो क्षेत्रलाई पार्क बनाउने भनेर धेरै अगाडिदेखि लबिङ भएको हो। केही समय अगाडि चौरको छेउछेउमा टायल आधा टाँसेर छोडिएको पनि थियो। मोदी आउँदा छेकिएको जस्ता पाता एक–एक गरी निकालिएका थिए।

त्यही भएर यो पाली नयाँ जुक्ति लगाइएको छ, माटोका पर्खाल लगाएर बिरुवा रोप्ने। तर यो बिरुवाको आयु कति लामो होला यो भन्न सक्किन्न। पार्क बनाउन जिम्मेवारी दिएका ओलिले सी फर्केपछि त्यसको रेखदेखको जिम्मेवारी कसलाई देलान्?

फुसफुसे माटो आफै ‘फिक्स’ भएको छैन, त्यसमाथि बिरुवा सर्नु पर्ने बोझ छ। अनि बाहिरबाट आलोमाटो सहितको दुबाेको चपराले बेरिदिएको छ। देख्दा त राम्रै देखिन्छ, तर टिक्छ कति? सी जिनपिङ आउँदासम्म बोटहरु नओइलाउलान् ? हुन त चाइना सिंगाे रुखलाई अर्को ठाउँमा सार्छ रे। उनी ठूलो मिशनमा आउँदैछन्। सानो कुरामा ध्यान पनि नजाला उनको।

नेपालको भूमिमा अवतरण गर्ने बित्तिकै देखिने ‘तीनकुने पार्क’ मा ‘सी’लाई भर्खरै विरुवा सारिएकोमा अचम्म नलाग्ला, ‘हाम्रो सिको गरेछन्’ भनेर दंगिएलान् भनेर आश गरौँ। तर त्यही बाटो आउँदा तीनकुने पार्क भित्र पस्न मन गरे भने हाम्रा कुटनीतिज्ञले के भनी टार्लान्?

असोज २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्