जीप दुर्घटना भएको २० दिनपछि एक महिलाको शव भेटियो, ५ जनाकाे अवस्था अझै अज्ञात

सांकेतिक तस्बिर ।

मोरङ– संखुवासभाको खाँदबारीबाट गत भदौ ३१ गते राति बिरामी लिएर धरान आउँदै गरेको बोलेरो जीप अरुण नदीमा खसेको २० दिनपछि एक महिलाको शव फेला परेको छ।

३१ गते मंगलबार तीन महिनाको बिरामी बालक समिर श्रेष्ठको उपचारका लागि धरान आउँदै गरेको को १ ज ३७४९ नम्बरको जीप राति करिब पौने ११ बजे धर्मदेवी नगरपालिकास्थित अक्कर भीरबाट नदीमा खसेको थियो। सो घटनामा जीपमा यात्रा गरिरहेका ६ जना बेपत्ता भएका थिए।

सोही क्रममा सोमबार दिउँसो धनकुटाको महालक्ष्मी नगरपालिका दमारस्थित अरुण नदीको किनारमा महिलाको शव फेला परेको संखुवासभा जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दिउँसो स्थानीय मानिसले महिलाको शव नदी किनारमा देखेपछि चनुवास्थित प्रहरी चौकीमा खबर गरेका थिए। शव तीन महिनाको बिरामी बालक समिरकी २३ वर्षिया आमा सदिक्षाको भएको प्रहरीले जनाएको छ। प्रहरीले शवको पहिचान गरी आफन्तलाई जिम्मा लगाएकाे छ।

सो दुर्घटनामा परि समिरका २६ वर्षिय बुबा संगम श्रेष्ठ, २४ वर्षीय प्रमेश थापामगर, ४० वर्षीया कल्पना थापामगर र जीप चालक २६ वर्षीय सन्तोष विक बेपत्ता भएका थिए। उनीहरुको अवस्था अझैपनि पत्ता लाग्न सकेको छैन।

असोज २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्