डाक्टर दुई किसिमका हुन्छन्, एउटा सुई लाउने अर्को फुँईं लाउने: प्रधानमन्त्री ओली

झापा– प्रधानमन्त्री तथा झापा क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य केपी शर्मा ओलीले फुँईं लाउने डाक्टरका विभिन्न प्रकारका तर्कका कारण सामाजिक सदभाव बिथोल्ने किसिमका काम भइरहेको बताएका छन्।

दसैँको शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गर्दै सोमबार उनकै गृहनगर झापाको दमकमा उनले कतिपय कुतर्कले सामाजिक सदभावलाई भड्काउने काम भइरहेको बताए।

प्रधानमन्त्री ओलीले डा. बाबुराम भट्टराईलाई लक्षित गर्दै भने, ‘एकजना फुँईं लगाउने डाक्टरले दलितहरुले दसैँ मान्नु हुँदैन। हिन्दु धर्म तिमीहरुले त्याग्नुपर्छ भन्दिए। तर छुवाछुत प्रथा कर्मकाण्डीहरुले ल्याएको प्रथा हो। हिन्दु धर्मले छुवाछुत गर्नु भनेको छैन।’

उनले वर्णाश्रम व्यवस्था हिन्दु धर्मको अनिवार्य अंग नभएको बताए। कुनै विषयमा विद्यावारिधी गरेकै व्यक्तिले उक्त कुरा भनेको उनले दाबी गरे। प्रधानमन्त्री ओलीले भने, ‘उहाँलाई धर्मको ज्ञान रहेनछ।’

प्रधानमन्त्री ओलीले असोज १३ गतेबाट देश खुला दिसामुक्त भएको र केही समयभित्रै निरक्षरता उन्मुलन भएको ‘साक्षर नेपाल’ घोषणा गर्ने बताए।

उनले भने, ‘अर्को सालबाट स्कूल जाने बालबालिका स्कूल बाहिर नहुने व्यवस्था गर्दैछौँ। भीखमंगा नभएको देश घोषणा गर्दैछौँ।’

प्रधानमन्त्री ओली दसैँ, तिहार तथा छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन झापा आएका हुन्।

शुभकामना कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले दसैँ नेपालीहरुको विशिष्ट चाड भएको उल्लेख गरे। सानालाई माया र ठूलाबाट आशिर्वाद लिने एकमात्र चाड दसैँ भएको उनले बताए।

उनले भने, ‘वर्षभरि मनमुटाव लिएको छ भने पनि दसैँले ती सबै हटाइदिन्छ।’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस एवं राप्रपाका नेता कार्यकर्ताहरु पनि ठूलो संख्यामा उपस्थित थिए।

बामपन्थी पार्टीको सरकार गठन भएपछि विपन्न नागरिकको जीवनमा परिवर्तन शुरु भएको ओलीले बताए। उनले हुने खानेहरूको भन्दा पनि हुँदा खानेहरूको जीवनमा परिवर्तन देखिएको बताए।

भौतिक पूर्वाधारदेखि विकासका हरेक पक्षमा सरकारले प्राथमिकता दिएको भन्दै उनले परिवर्तनको प्रभाव देख्न धैर्यता गर्नुपर्नेमा जोड दिए।

अशोज २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्