नेपाल फिर्छु म ता!

१. कस्तो रैछ अमेरिका भनिने देश थोरै केही जानियो

भौतिक सुख सुविधा अनेकन रहेछन् भन्ने पनि मानियो

मनको दाजु गरिरहन्छ गनगन हाँसेन रे मन यता

उसको चित्त बुझाउनाकन पनि नेपाल फिर्छु म ता!

 

२. मेरो विस्मृतिमा फसेन कहिल्यै नेपालका ती कुरा

बारी, खेत र गाउँबस्तीहरुमा भोग गरेका कुरा

लाइनबद्ध भएर एकेक गरी घुस्रिरहन्छन् यता

त्यसै कारणले गरिकन पछि नेपाल फिर्छु म ता!

 

३. खाने वस्तु सुपाच्य स्वस्थ छ यता नेपालभन्दा पनि

लाउने कपडा गुणस्तरीय छन् क्यै छैन कमी यता

तनको सुख यहाँ चरम छ र पनि मनमा अलि खिन्नता

पाली बस्नु निको हुँदैन कि पछि नेपाल फिर्छु म ता!

 

४. हिउँदोका बीच पातलो धरी लुगा जाडो सहिन्थ्यो कति

गर्मी थेगी नसक्नु यो शरीरले हुन्थ्यो विचित्रै अति

कार्यालय, घर, गाडी सब चिज हुँदा वातानुकूलित यता

भै नि खै किन हो अडेन मन यहाँ नेपाल फिर्छु  म ता!

 

५. आकर्षक घरभित्र बैठक ठूलो सुन्दर, सफा चट्ट छ

भित्तामा ८० इन्चको डिजिटल ठूलो टिभी टक्क छ

डाइनिङ टेबल माथि टन्न छ अनेक स्वादिष्ट फलफूल यता

मन अड्केन जति भए पनि यहाँ नेपाल फिर्छु म ता!

 

६. छुट्टीका दिनमा पकाई सबथोक राखेर फ्रिजमा भरी

हप्तौँसम्म तताई बासी चिज ती खानु कति के गरी

टाइमको त अभाव दिनहुँ खाना सुधार्ने यता

ताजा भोजन गर्न खातिर पनि नेपाल फिर्छु म ता!

 

७. सारै लिट्टी कसेर मेसिन सरी गर्ने कडा काम छ

फेर्ने फुर्सद छैन सास मज्जाले अत्यन्त हैरान छ

हरिअप म्यान हरिअप भनिकन सँगै ‘खैरै’ त्यही भुक्तछ

यस्तो झन्झटबाट निस्कन पनि नेपाल फिर्छु म ता!

 

८. श्रमको मूल्य त मिल्छ ठीक समयमा हप्तैपिछे आउँछ

देख्नै केही नपाउँदै बीचबीचै अन्तै उतै धाउँछ

कमाइ जति भयो तिर्‍यो उति सबै हात लागी शून्यै यता

यस्तो यो लफडा गरौँ किन? बरु नेपाल फिर्छु म ता!

 

९. मान्छेको छ बुझाइ यस मुलुकमा ठूलो प्रजातन्त्र छ

यहाँ जति स्वतन्त्रता अरु कुनै संसारमा अन्त छ?

देख्दामा त स्वतन्त्र हामी पनि छौँ, छौँ दास जस्तै तर

स्वाभिमान नमासिँदै ल है नेपाल फिर्छु म ता!

अशोज २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्