३४ लाख बराबरको अवैध कपडासहित तीन जना पक्राउ

वीरगञ्ज– भारतबाट तस्करी गरी ल्याइएको करिब ३४ लाख बराबरकाे अवैध कपडासहित बारा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ सानो ईटवाल टोलबाट ३३ लाख ९० हजार मूल्य बराबरको अवैध कपडासहित आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ५ बस्ने ३४ वर्षीय रामतरन यादव, सोही ठाउँका २९ वर्षीय जयमंगल यादव र ४५ वर्षीय हेमचन्द्र तिवारीलाई पक्राउ गरेको हो।

विज्ञापन

सिम्रौनगढ–६ सानो ईटवाल टोलका मोजाहिर मियाँको घरमा भारतबाट तस्करी गरी भित्र्याइएको कपडा भण्डारण गरी राखेको अवस्थामा ईलाका प्रहरी कार्यालय सिम्रोनगढले छापमारी उक्त परिमाणको कपडासहित ती जनालाई पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए।

प्रहरीले कपडा तस्करीमा प्रयोग गरिएको ४ वटा भारतीय र एउटा नेपाली मोटरसाईकललाई समेत नियन्त्रणमा लिएको छ।

प्रहरीले तस्करीमा प्रयोग गरिएको बी आर ०५ एम २०३०, बीआर ०५ ई ६७३५, बीआर ०५ एफ ६७११, बि आर ०५ एफ ८७५  नम्बरका भारतीय माेटरसाइकल र बा ४८ प २२३ नम्बरको नेपाली मोटरसाईकल नियन्त्रणमा लिएको हो।

अवैध कपडासहित मोटरसाईकल आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रहरी उपरीक्षक खनालले बताए।

अशोज २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्