गोल हान्ने खुट्टाको गर्मी ठाउँमा उपचार, दुबई आईपुगे म्यान युनाइटेडका फ्लप मिडफिल्डर

दुबईमा खुट्टाको उपचार गर्दै पोग्बा।

लन्डन : चोटग्रस्त खुट्टालाई जतिसक्दो चाँडो निको बनाएर मैदान फर्कन यतिबेला म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पल पोग्बा युएईको दुबई पुगेका छन्।

गर्मी ठाउँमा खुट्टालाई चाँडो निको बनाउन सजिलो हुने भन्दै उनी ३७ डिग्री सेल्सियस तापक्रम रहेको दुबईमा पुगेका हुन्। पोग्बाले आफ्ना निजी प्रशिक्षकलाई पनि साथ लिएर गएका छन्।

विज्ञापन

म्यान युनाइटेडले यो सिजन कमजोर प्रदर्शन गरिरहेको छ। पोग्बाले म्यान युनाइटेडका पछिल्ला ७ मध्ये ५ खेल गुमाएका छन् खुट्टाको चोटका कारण।

दुबईमा रहेको ट्रान्सफर्म अल्टिच्युड सेन्टरमा पोग्बाले उपचार गरिरहेका छन्। यो सेन्टर विश्व फुटबल महासंघ(फिफा)ले अफिसियल मेडिकल सेन्टरका रुपमा छनोट गरेको छ। घाइते हुने प्रिमियर लिगका खेलाडीहरु यहाँ आएर उपचार गर्ने गर्छन्।

फ्रान्सले गत विश्वकप जित्दा उत्कृष्ट प्रदर्शन गरेका पोग्बाले क्लबका लागि भने गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन्। यसै साता टर्की र आईसल्यान्डविरुद्ध हुने युरो कप छनोट खेलका लागि पनि पोग्बालाई राष्ट्रिय टोलीमा समावेश गरिएको थिएन।

२६ वर्षीय पोग्बाले यो सिजन क्लबका लागि ६ खेल खेलेपनि गोल गर्न सकेका छैनन्। गत सिजन उनले क्लबका लागि ४७ खेल खेलेर १६ गोल गरेका थिए। उनी सन् २०१६ यता म्यान युनाइटेडमा छन्।  त्यसअघि चार सिजन युभेन्ट्समा थिए। उनले राष्ट्रिय टोलीका लागि ६९ खेलमा १० गोल गरेका छन्।

म्यान युनाइटेड यो सिजन घरेलु लिगमा ८ खेलबाट ९ अंक जोडेर १२ औँ स्थानमा छ। उसले २जित, ३ हार र ३ बराबरीको नतिजा निकालेको छ।

म्यान युनाइटेडले अब प्रिमियर लिगको खेलमा लिग लिडर लिभरपुलसँग खेल्दै छ अक्टोबर २० तारिखमा।

 

अशोज २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्