नेपालका सन्दीप लामिछाने र दक्षिण अफ्रिकाका डेल स्टेन एउटै टोलीबाट खेल्ने

काठमाडौ :अस्ट्रेलियाको बिग बास लिग-बीबिएलका लागि  लगातार दोस्रो सिजन नेपालका सन्दीप लामिछानेलाई आबद्ध गरेको मेलबर्न स्टार्सले दक्षिण अफ्रिकाका महान् फास्ट बलर डेल स्टेनलाई पनि अनुबन्ध गरेको छ।

स्टेन पहिलोपटक बीबिएलका लागि आबद्ध भएका हुन्। उनले बीबिएलको सुरुका कम्तिमा ६ खेल खेल्नेछन्। त्यसपछि इङ्ल्यान्ड र दक्षिण अफ्रिकाबीच शृखंला रहेकाले स्टेन टोलीमा समावेश भए उनले बीबिएल छाड्नुपर्ने शर्त छ।

विज्ञापन

स्टेनले गत अगस्टमा टेस्ट  क्रिकेटबाट सन्याश लिएका थिए। टीट्वेन्टी र एकदिवशीयका लागि भने उनी राष्ट्रिय टोलीबाट उपलब्ध हुन सक्नेछन्। लगातारको चोटका कारण उनी टोलीबाट नियमित खेल्न सकिरहेका छैनन्।

स्टेन दक्षिण अफ्रिकाका सर्वाधिक सफल टे्स्ट क्रिकेट बलर हुन्। चोटका कारण स्टेनले गत अप्रिलयता खेल्न सकेका छैनन्। यसबीचमा उनले विश्वकप पनि गुमाउनु परेको थियो। नोभेम्बरमा दक्षिण अफ्रिकामा हुने क्रिकेट लिग मेजान्सी सुपर  लिगमार्फत स्टेन खेलमा फर्कँदैछन्।

दक्षिण अफ्रिकाबाट यसपटक एबी डे भिलियर्स र क्रिस मोरिस बीबिएलका लागि आबद्ध भइसकेका छन्। भिलियर्सले ब्रिसबेन हिट र मोरिसले सिड्नी थन्डरबाट खेल्नेछन्।

यो सिजन मेलबर्न स्टार्सले आबद्ध गरेका दोस्रो विदेशी खेलाडी हुन् स्टेन। साविक उपविजेतासमेत रहेको मेलबर्न स्टार्सले आगामी डिसेम्बर २० मा ब्रिसबेन हिटसँग खेल्दै प्रतियोगिता सुरुवात गर्ने छ।

अशोज २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्