इब्राहिमोभिचको ९ फिट अग्लो शालिक, भन्छन् : स्विडेनमा मेरो शालिक न्युयोर्कको स्टेचु अफ लिबर्टीजस्तै

माल्मो (स्विडेन) : चार वर्ष लगाएर बनाइएको स्विडेनका महान् फुटबल ज्लाटन इब्राहिमोभिचको शालिक मंगलबार अनावरण गरिएको छ।

इब्राहिमोभिच जन्मिएको स्विडिस शहर माल्मोमा राखिएको उक्त शालिक स्वयं  इब्राहिमोभिचले अनावरण गरेका हुन्। शालिकको उचाई ८ फिट ९ इन्च रहेको छ।

विज्ञापन

स्विडेन फुटबल संघले आफ्ना सर्वकालिन सर्वाधिक गोलकर्ताको सम्मानमा उक्त शालिक तयार गरेको हो। स्विडिस कलाकार पिटर लिन्डेले तयार गरेका हुन्। चाँदीले बनाइएको शालिकको तौल पाँच सय केजी रहेको छ।

माल्मो रंगशालामा उक्त शालिक राखिएको छ। गोल गरेपछि इब्राहिमोभिचको सेलिब्रेसन स्टाइललाई फोकस गर्दै शालिक तयार गरिएको छ।

इब्राहिमोभिच स्विडेनले जन्माएको अहिलेसम्मकै महान् फुटबलर हुन्। सन् २००१ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले ६२ अन्तर्राष्ट्रिय गोल गरेका छन्।

नेदरल्यान्ड्सको आयाक्स, इटालीको युभेन्ट्स, स्पेनको बार्सिलोना, इङ्ल्यान्डको म्यानचेस्टर युनाइटेड र फ्रान्सको पेरिस सेन्ट जर्मनबाट उनले खेलेका छन्। एक वर्षयता उनी अमेरिकाको मेजर लिग सकर क्लब एलए ग्यालेक्सीका लागि खेलिरहेका छन्।

शालिकको अनावरण समारोहमा उपस्थित हजारौँ समर्थकलाई सम्बोधन गर्दै इब्राहिमोभिचले भने- जब तपाई  न्युयोर्क जानु हुन्छ तपाई स्टेचु अफ लिबर्ट देख्नु हुन्छ। जब तपाई स्विडेन आउनु हुन्छ ज्लाटनको शालिक देख्नु हुने छ।

अशोज २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्