९५ रनमा एक विकेट गुमाएको आयरल्यान्ड १४५ रनमा सिमित, नेपाली बलरको उत्कृष्ट कमब्याक

काठमाडौं : ओमानमा जारी पाँच देश सम्मिलित टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आयरल्यान्डले  नेपाललाई  १ सय ४६ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन जोड्यो। ९५ रनमा केवल एक विकेट गुमाएको आयरल्यान्ड त्यसपछि लगातार धरासायी बनेको थियो।

विज्ञापन

आयरल्यान्डका ओपनर पल स्टर्लिङले ५९ र एन्डी बालबिर्नेले ३८ रन बनाए।  तल्लो क्रमका स्टुवार्ट थम्पसनले २१ रन जोड्नुबाहेक अन्य दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका सन्दीप लामिछाने र अविनास बोहोराले दुई दुई विकेट लिए। करन केसी र ललित राजबंशीको नाममा समान एक विकेट रह्यो। आयरल्यान्ड्सले सात रन जोड्दा आक्रामक ब्याट्सम्यान  केभिन ओब्रायनलाई गुमाएको थियो।

खेलको दोस्रो ओभरको चौथो बलमा सन्दीप लामिछानेले ओब्रायनलाई क्याच आउट गराएका थिए। त्यसपछि स्टर्लिङ र बालबिर्नेबीच दोस्रो विकेटका लागि ८७ रनको साझेदारी भयो। आयरल्यान्डले ११ ओभर २ बलमा केवल एक विकेट गुमाएर ९५ रन जोडेको थियो। दोस्रो विकेटका रुपमा बालिबिर्नीलाई ललितले आउट गरेपछि आईरिस टोली एकाएक दबाबमा आएको थियो।

अन्तिम ओभरमा आयरल्यान्डले करन केसीलाई २ छक्कासहित १८ रन लिएको थियो। सन्दीपले चार ओभरमा २१ रन दिए। ललितले चार ओभरमा २३ रन दिए। अविनासले चार ओभरमा २२ रन खर्चिए। ४७ बलमा दुई छक्का र ६ चौका हिर्काएका स्टर्लिङलाई करन केसीले आउट गरेका थिए। करन र दीपेन्द्र सिंह एेरीले एक एक रनआउट समेत गराए।

अघिल्ला दुवै खेलमा जित हात पारेको नेपाल उच्च मनोबलमा छ। नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो। पहिलो खेलमा हङकङलाई हराएको आयरल्यान्ड दोस्रो खेलमा घरेलु टोली ओमानसँग स्तब्ध भएको थियो।

तेस्रो खेलमा पनि नेदरल्यान्ड्सलाई हराएको थियो। ओमानजस्तै नेपाल पनि आयरल्यान्डविरुद्ध जित हात पार्ने प्रयाशमा हुने छ।

प्रतियोगितामा नेपालको ब्याटिङ लय बाहिर देखिएको छ। अघिल्लो खेलमा नेदरल्यान्ड्सविरुद्ध अन्तिम ओभरमा १७ रन आवश्यक हुँदा तल्लोक्रमका करन केसी एक्लैले त्यति रन जोडेर नेपाललाई रोमान्चक जित दिलाएका थिए।

ब्याटिङतर्फ पारस खड्का, विनोद भन्डारी र आरिफ शेखको प्रदर्शन सन्तोषजनक छ। पवन सर्राफ, रोहित पौडेल र दीपेन्द्रसिंह एेरी लय बाहिर छन्।

तालिकामा ओमान २ खेलबाट चार अंक जोडेर शीर्षस्थानमा छ। आयरल्यान्डको ३ खेल र नेपालको दुई खेलबाट पनि समान ४ अंक छ।

अशोज २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू