‘वार’को व्यापार सात दिनमा २०० करोड

एजेन्सी– ऋतिक रोशन र टाइगर श्राफको मुख्य अभिनय रहेका चलचित्र ‘वार’ले बक्सअफिसमा आक्रमक व्यापार गरेको छ। चलचित्रले सात दिनमा २०० करोडको व्यापार पूरा गरेको छ।

बुधबारबाट प्रदर्शनमा आएको ‘वार’ले सात दिनमा दुई सय करोडको आँकडा पार गरेको हो। बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर ‘वार’ले सात दिनमा २ सय १६ करोड ६५ लाख कमाई गरेकाे जानकारी दिएका छन्।

तीन दिनमा १०० करोडको व्यापार गरेको चलचित्रले पाँच दिनमा डेढ सय करोड र सात दिनमा २०० करोडको व्यापार गरेको हो।

सिद्धार्थ आनन्दको निर्देशनमा बनेको चलचित्रमा ऋतिक र टाइगरका साथै अभिनेत्री वाणी कपुरको पनि अभिनय रहेको छ। चलचित्र यशराज फिल्मको व्यानरमा बनेको हो।

चलचित्रलाई समीक्षकहरुले उत्कृष्ट भएको बताएका छन्। चलचित्रको एक्सन मात्रै नभएर कथाबस्तु र निर्देशकीय क्षमताको तारिफ गरिएको छ।

असोज २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्