गर्भपतन गराउनेको संख्या बढ्यो, अधिकांश २० वर्षमुनिका

धनगढी – कैलालीमा सुरक्षित गर्भपतन गराउने किशोरीको संख्या अत्याधिक देखिएको छ। गर्भपतन गराउनेमा २० वर्षमुनिका किशोरीको संख्या बढी छ।

जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार हालसम्म जिल्लामा गर्भपतन गराएकामध्ये २० वर्षमुनिका किशोरीको संख्या एक हजार एक सय ८४ अर्थात ९ दशमलव ८९ प्रतिशत रहेको छ।

विज्ञापन

आर्थिक वर्ष २०७५/७६ मा गर्भपतन गराएका दुई हजार आठ सय ९२ मध्ये दुई सय ४१ जना (आठ दशमलव तीन प्रतिशत) २० वर्षमुनिका किशोरी रहेका छन्।

त्यस्तै, आर्थिक वर्ष २०७४/७५ मा ४ हजार ४ सय ८३ ले गर्भपतन गराएकोमा ४ सय ७६ जना (१० दशमलव ६१ प्रतिशत) २० वर्षमुनिका किशोरी रहेका छन् भने आर्थिक वर्ष २०७३/७४ मा ४ हजार ५ सय ९६ जनाले गर्भपतन गराएकोमा ४ सय ६७ जना (१० दशमलव १६ प्रतिशत) २० वर्षमुनिका किशोरी रहेका छन्।

सरकारबाट स्वीकृति लिएर सुरक्षित गर्भपतन गराउने संस्थाहरुले औषधि खुवाएर र शल्यक्रियामार्फत गर्भपतन गराउने गर्छन्। कैलालीमा औषधिभन्दा शल्यक्रियामार्फत गर्भपतन गराउनेको संख्या उच्च छ।

आर्थिक वर्ष २०७५/७६ मा एक हजार चार सय ८४, आर्थिक वर्ष ०७४/७५ मा दुई हजार सात सय ४९ र आर्थिक वर्ष ०७३/७४ मा दुई हजार नौ सय ६१ महिलाले शल्यक्रियामार्फत गर्भपतन गराएका थिए ।

त्यस्तै, औषधि खाएरभन्दा शल्यक्रियामार्फत गर्भपतन गराउने २० वर्षमुनिका किशोरीहरु बढी रहेको तथ्याङ्कले देखाउँछ। आर्थिक वर्ष २०७५/७६ मा एक सय ११, आर्थिक वर्ष २०७४/७५ मा दुई सय ८८ र ०७३/७४ मा तीन सय ४१ किशोरीले शल्यक्रियामार्फत गर्भपतन गराएको कैलाली स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ।

नेपालमा सरकारले गर्भपतनलाई कानूनी मान्यता दिएपछि गर्भपतन गराउनेको संख्या बढेको छ। गर्भपतनले कानूनी मान्यता पाउनुअघि नेपालमा असुरक्षित तथा लुकिछिपी अनिच्छित गर्भपतन गराएका मध्ये धेरै जसो गर्भवती महिलाले जोखिम बेहोर्नु परिरहेको थियो।

२०१४ को तथ्याङ्क अनुसार नेपालमा वार्षिक एक लाख ८६ हजार एक सय ४४ जना अर्थात ५८ प्रतिशतले असुरक्षित गर्भपतन गराउने गरेको उल्लेख छ।

नेपालमा कुल मातृ मृत्युमध्ये ७ प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनको कारणले हुन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार १९ प्रतिशत महिलाहरु अनिच्छित गर्भ हुने गरेको छ।

नेपालमा सन् २०१५–२०१६ मा अनुमानित एक लाख ६० हजार पाँच सय ६६ प्याकेट गर्भपतनका औषधि खपत भएको देखिन्छ, जसमध्ये ७ प्रतिशत गर्भपतनका औषधि नेपालमा दर्ता नभएका औषधि रहेका छन् ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले गर्भवती हुन नचाहने अवस्थामा अकस्मात गर्भ बसेमा महिलालाई सुरक्षित बनाउन गर्भपतन सेवा ल्याइए पनि अहिले समाजमा यो फेसन जस्तै बनेको बताए।

चिकित्सकको राय सल्लाह सुझाव बिना नै जथाभावी औषधि किनेर सेवन गर्ने प्रवृति बढेको बताउँदै उनले भने,‘स्थानीय तहबाटै असुरक्षित गर्भपतनलाई शून्यमा झार्न पहल गरिनुपर्छ।’

सेती प्रादेशिक अस्पताल धनगढीकी स्वास्थ्यकर्मी यशोदा ढकालले जसले र जहाँ पनि अहिले गर्भपतनका औषधि बिक्री गरिरहेको बताइन्। चिकित्सकको सल्लाह बिना यसरी औषधि सेवन गर्दा महिलाको स्वास्थ्य जोखिममा पर्ने गरेको उनको भनाइ छ।

धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा संयोजक खगेन्द्र बमले किशोर किशोरीमा गर्भपतनको असर, सुरक्षित हुने तरिका लगायतका बारेमा जनचेतना फैलाउन आवश्यक रहेको बताए। विद्यालय तहमै यसबारे शिक्षा फैलाउनु पर्ने उनी सुझाउँछन्।

कैलाली स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले कलिलो उमेरमा शारीरिक सम्बन्ध राख्ने तथा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न झन्झन्ट मान्ने कारण पनि गर्भपतनको संख्यामा उल्लेख्य बृद्धि आएको बताउँछन्।

अशोज २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्