चिनियाँ राष्ट्रपति सी यात्राको तयारीले पूर्णता पाउँदै, सुपुर्दगी सन्धिले पायो अन्तिम रुप

काठमाडौँ – सुरक्षा, विकास, आपसी सहयोग र ‘कनेक्टिभिटी’ लाई केन्द्रमा राखी हुन लागेको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सकिएको दुई सातामै काठमाडौँ बेइजिङसँग सिधा उडानबाट जोडिने भएको छ।

चिनियाँ लगानीको तर नेपालमा दर्ता भएको हिमालयन एयरलाइन्सले अक्टोबर २८ देखि बेइजिङमा हालै निर्मित डाक्सिन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु हुने भएको हो।

यस्तै राष्ट्रपति सी जिनपिङको नेपाल यात्रासँग जोडेर चीनको आग्रह बमोजिम नेपालले चीनसँग सुपुर्दगी सन्धि र पारस्परिक कानूनी सहायता सम्बन्धी सहमतिलाई अन्तिम रुप दिन पनि दुई पक्ष अभ्यासरत छन्।

यो सन्धिको प्रावधान अनुसार चीन विरोधी गतिविधिमा लागेका चिनियाँ, तिब्बती या अन्य कुनै देशका नागरिकहरुको सुपुर्दगी चीनले चाहेमा नेपाल सरकारले त्यसमा सहयोग पुर्‍याउनु पर्नेछ।

यो सन्धि राष्ट्रपति सीको उपस्थितिमा होला वा उनी फर्किसकेपछि होला, त्ससबारे परराष्ट्र मन्त्रालयले केही बताउन चाहेन।

सुपुर्दगी सन्धिलाई यति महत्व दिएकोले चीन नेपाली भूमिबाट आफूविरुद्ध केही गतिविधि नहोस् भनि सुनिश्चित गर्न चाहन्छ। त्यसैले यस सन्धिलाई चीनले प्राथमिकतामा राखेको विशेषज्ञहरुको भनाई छ।

सी जिनपिङ रचित ‘बेल्ट एण्ड रोड इनिसिएटिभ्स’ अन्तर्गत नेपाल चीनको अनुदान तथा सहुलियत पूर्ण ऋणमा के–कस्ता परियोजनाहरु चाहन्छ त्यसको गृहकार्यमा परराष्ट्र मन्त्रालय जुटेता पनि त्यसले अन्तिम रुप पाइनसकेको बुझिएको छ।

त्यस्तै सी जिनपिङ विकासपथलाई अवलम्बन गर्न चिनियाँ कम्युनिष्ट पार्टीबाट दीक्षित नेपाल कम्युनिष्ट पार्टी, खासगरी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी फाउण्डेशन र त्यस अन्तर्गत एउटा विश्वस्तरीय विश्वविद्यालयको स्थापनाका लागि पनि चीनसँग सहयोगको अपेक्षा राखेको बुझिको छ।

परराष्ट्र स्रोतका अनुसार हवाई सम्पर्कसँगै बुढीगण्डकी जलविद्युत परियोजना र केरुङ काठमाडौँ रेलमार्ग निर्माणको सम्बन्धमा पनि सी यात्रामा नेपालले निर्णायक घोषण हुने अपेक्षा गरेको छ।

दक्षिण भारतको महाबलिपुरममा प्रधानमन्त्री मोदीसँग अनौपचारिक वार्ता गरी शनिबार एकरात बस्ने गरी नेपाल आउन लागेका सी आफ्नो सम्पूर्ण टोलीसहित सोल्टी होटलमा बस्ने भएका छन्।

चिनियाँ सुरक्षाकर्मीहरुसँगको सल्लाह परार्मशमा सम्पूर्ण सुरक्षा व्यवस्था सुनिश्चित गरिएको छ।

त्यस्तै राजधानीलाई सुन्दर देखाउन सडकहरु सफा र टालटुल गरिएका छन् भने ठाउँठाउँमा अस्थायी पार्क र हरियालीको आवरण पनि शहरलाई दिइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी र सीका फोटोहरु विमानस्थलदेखि सोल्टी होटलसम्मको बीचमा झुण्ड्याइएका छन्। त्यस्तै तिब्बती मुलका व्यक्तिहरुको घना आवादी रहेको बौद्ध क्षेत्रमा सुरक्षा निगरानीले तीव्रता पाएको छ।

अशोज २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्