विचार

मानसिक स्वास्थ्य र यसका सवालहरु

विश्व स्वास्थ्य संगठनले गरेको स्वास्थ्यको परिभाषालाई गहिरिएर हेर्ने हो भने मानसिक स्वास्थ्य एउटा अभिन्न अंगको रुपमा प्रस्तुत भएको पाउँछौँ।

तथापि मानसिक स्वास्थ्यलाई विश्व जगतमा स्थापित हुन धेरै समय लाग्यो। तर पनि संसारका विकसित मुलुकहरुले मानसिक स्वास्थ्यमा निकै ठूलो फड्को मारिसकेका छन्। फलस्वरुप विद्यालय स्तरदेखि नै मानसिक एवं मनोसामाजिक सवालका विषयहरु मध्यनजर गरेर पाठयक्रमहरुमा समेत समावेश गरिएका छन्।

यसले गर्दा विकसित देशहरुमा मानसिक एवं मनोसामाजिक समस्याहरु छँदै छैनन् भन्ने होइन। समस्या छन्, तर त्यसका बारेमा कुराकानी हुन्छ। त्यहाँका मानिसले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्ने गरेका छन्। तर हाम्रो जस्तो विकासोन्मुख देशमा भने मानसिक स्वास्थ्यका बारेमा अझै पनि खासै वास्ता गरिएको छैन। हामी र हाम्रो देश अझै पनि समाजमा विद्यमान स–साना कुराहरुमा नै अल्मलिनु परेको अवस्था छ।

वैज्ञानिक शिक्षाको अभावमा हाम्रो देशमा किशोरीहरुमा हुने शारीरिक परिवर्तनको विषयलाई महिनावारीलाई “छाउपडी” को संज्ञा दिएको छ। यसले गर्दा किशोरीहरुमा शारीरिक परिवर्तनलाई सही रुपमा बुझ्न सक्ने अवस्था छैन। फलस्वरुप उनीहरुमा आफ्नै शारीरिक परिवर्तनलाई लिएर मनोसामाजिक उल्झनको अवस्था या समस्याको अवस्थामा आउने गरेको छ। यस्तो प्रथालाई जोगाइराख्न विभिन्न वाद र धर्म जस्ता कुराहरुको भूमिका अहम् छ। परम्परा र वैज्ञानिक पक्षलाई मिलाउन नसक्दा समस्या हुने गरेको छ।

यसैगरी समाजमा विद्यमान कु–परम्परामा पर्छ, बोक्सी प्रथा। जहाँ महिलालाई बोक्सीको आरोपमा विभिन्न लान्छना लगाई दोहोराे यातना दिइरहेका घटनाहरु अझै पनि देखिन्छ। यसले उनीहरुमा मनोसामाजिक अवस्थामा गम्भीर प्रभाव पारेको हुन्छ।

यसरी मनोसामाजिक समस्या या उल्झनको अवस्थामा रहेकाहरुले उपयुक्त मनोसामाजिक या मनोवैज्ञानिक सहयोग पाउने अवस्था छैन। उनीहरु समाजमा प्रचलित विभिन्न व्यक्तिहरु जस्तै धामी, झाँक्री, माताहरुको प्रपञ्चमा पर्ने गरेका छन् । यसकै कारण बेलाबेलामा विभिन्न दुर्घटनाहरु भएका छन्।

नेपालमा मानसिक स्वास्थ्यकाबारेमा जागरणको इतिहास छिमेकी मुलुकहरुको तुलनामा त्यति लामो भने छैन्।

सन् १९६१ देखि मात्र हाम्रो देशमा यसको प्रारम्भ भएको हो। तर छिमेकी मुलुक चीनको तुलनामा विगत १० वर्षमा हामी छिटो यो अभियानमा दौडन भने सफल भएका छौँ। तर साढे चार वर्षअघिको भूकम्प पश्चात मानसिक स्वास्थ्यको महत्व थप बुझेको महशुस हुन्छ। र राष्ट्रिय स्तरमा नै विभिन्न व्यक्ति तथा संस्थाहरु लागि परेका छन्।

हाल नेपाल सरकारले पनि दीगो विकास लक्ष्यमा मानसिक स्वास्थ्यलाई प्रमुख रुपमा राखेको छ। सरकारले यही प्रक्रिया अन्तर्गत आत्माहत्यालाई सन् २०३० सम्ममा प्रति लाख जनसंख्यामा १६.५ बाट घटाएर ४.२ मा लैजाने प्रतिवद्धता गरेको छ।

तर एकल प्रयासले पक्कै पनि यो सम्भव भने देखिँदैन। मानसिक स्वास्थ्यलाई ख्याल नगर्दाको विकराल अवस्थाकाे आत्महत्यालाई कम गर्नका लागि हातेमालोको खाँचो छ, सबै सरोकारवाला निकायहरुकाे बिचमा।

सबैभन्दा पहिले त मानसिक स्वास्थ्यका बारेमा सचेतना फैलाउनु आवश्यक छ। सबै उमेर, वर्ग र लिङ्गका समुदायमा सचेतनाको आवश्यकता देखिन्छ। अझै पनि सबै क्षेत्रमा मानसिक एवं मनोसामाजिक अभिमुखिकरणका कार्यक्रमहरुको अभाव नै देखिन्छ र परिवारमा कुनै पनि व्यक्तिलाई मानसिक समस्या छ भने सिंगो परिवारले नै थप पीडा भोग्नुपर्ने अवस्था अझै पनि विद्यमान नै छ।

मानसिक सेवा अन्तर्गत खुलेका आवासीय सेवा गृहहरु, पुनर्स्थापना केन्द्रहरु दक्ष जनशक्तिको अभावमा छन्। नेपाल सरकारले गर्नुपर्ने अनुगमन समेत फितलो हुँदा संचालकहरुकै गैर जिम्मेवारीपूर्ण व्यवहारले गर्दा आवासीयमा सेवा लिइरहेका सेवाग्राहीहरु नै थप मारमा परेका छन्।

मानसिक तथा मनोसामाजिक स्वास्थ्य सेवामा अटाउन नसकेको अर्को वर्ग अपांगता र विशेष परिस्थितिका पूर्ण अपांगता भएका व्यक्तिहरु तथा तिनका परिवारले भोगेका तनावपूर्ण पाटाहरु हुन्। यो कुरा त शायदै सरकारको ध्यान समेत परेको होला। केही संघ संस्था र व्यक्ति विशेषहरुले स्वतस्फूर्त रुपमा केही काम गरेका छन्। तर पर्याप्त छैन।

आत्तिहाल्नु पर्ने अवस्था छैन। किनकी देशमा सकारात्मक सोच लिएर अगाडि बढेका धेरै व्यक्तिहरु छन्। अवश्य पनि सरकारकाे मानसिक एवं मनोसामाजिक क्षेत्रको रकम र योजना अपुग छन्। तर सबैले यो क्षेत्र र प्रवर्द्धनका लागि चासो देखाउने हो भने केही वर्षमै ठूलो सफलता प्राप्त गर्न पक्कै सकिनेछ।

(यो सामग्री लेख्ने रमा कार्की मानसिक एवं मनोसामाजिक सु–स्वास्थ्यको राष्ट्रिय अभियान नेपालकी राष्ट्रिय संयोजक हुन्।)

असोज २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्