लगातार विश्वकप खेलिरहेको अस्ट्रेलियासँग नेपालको भिडन्त आज

काठमाडौँ – विश्वकप फुटबल २०२२ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको प्रतियोगितामा नेपालले बिहीबार अस्ट्रेलियासँग खेल्दै छ। समूहको तेस्रो खेलमा नेपालले अस्ट्रेलियासँग खेल्न लागेको हो। अस्ट्रेलियाको क्यानबेरामा हुने यो खेलमा नेपाललाई अस्ट्रेलियामा रहेका नेपालीहरुको पनि समर्थन रहने छ।

पहिलो खेलमा कुवेतसँग ७-० गोलले पराजित भएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २-० गोलले हराएको थियो। समूहमा जोर्डन पनि रहेको छ। प्रतियोगिता होम एन्ड अवे आधारमा हुने छ।  समूहका शीर्ष दुई टोली  तेस्रो चरणमा पुग्नेछन्।

विज्ञापन

अस्ट्रेलिया र नेपाल अन्तर्राष्ट्रिय फुटबलमा पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन्। दक्षिण एसियाली फुटबलमै संघर्ष गरिरहेको नेपाललाई अस्ट्रेलियासँगको खेल अपेक्षाभन्दा पनि अनुभव हात पार्ने अवसर हुने छ।

नेपालले गत सेप्टेम्बरमा चाइनिज ताइपेईलाई उसकै मैदानमा हराएर करिब एक वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा पहिलो जित हात पारेको थियो। यता नेपाललाई फराकिलो अन्तरले हराएको कुवेतलाई  ३-० गोलले हराएर अस्ट्रेलियाले छनोट प्रतियगितामा सुखद् सुरुवात गरेको छ। त्यसअघिका ठिक दुई खेलमा अस्ट्रेलिया पराजित भएको थियो यूएई र दक्षिण कोरियासँग।

अस्ट्रेलिया सन् २००६ को विश्वकपयता लगातार विश्वकपमा सहभागी छ। त्यसअघि उसले अन्तिमपटक र पहिलोपटक सन् १९७४ मा विश्वकप खेलेको थियो। एसियाबाट छनोट खेल्न पाउने व्यवस्था भएपछि अस्ट्रेलिया पहिलो प्रयाशमै विश्वकपमा सहभागी भएको थियो एसियाबाट सन् २००६ मा। उक्त संस्करणमा अस्ट्रेलिया अन्तिम १६ सम्म पुगेको थियो जुन अहिलेसम्मकै उसको सबैभन्दा ठूलो सफलता हो विश्वकपमा।

अस्ट्रेलियन टोलीका धेरै खेलाडीहरु युरोपका क्लबहरुमा खेल्ने गर्छन्। टोलीको सबैभन्दा अनुभवी स्ट्राइकरका रुपमा रहेका म्याथ्यु लेक्की जर्मनीको बुन्डेसलिगा क्लब हर्था बीएससीका लागि खेल्छन्। लेक्कीले अस्ट्रेलियाका लागि ६२ खेलमा ११ गोल गरेका छन्। अस्ट्रेलियन फुटबलका महान् खेलाडी टिम काहिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्याश लिएपछि टोलीको अग्रपंक्ति सम्हाल्ने जिम्मा लेक्कीलाई नै छ।

टिम काहिलले राष्ट्रिय टोलीका लागि एक सय ८ खेलमा ५० गोल गरेका थिए। अस्ट्रेलियालाई ३२ वर्षपछि विश्वकपमा फर्काउन र त्यसपछि लगातार सहभागिता गराउन यी स्ट्राइकरको भूमिका महत्वपुर्ण रहेको थियो।

चाइनिज ताइपेईविरुद्ध दुवै गोल गरेका अन्जन विष्ट आशा गरिएका खेलाडी हुन्। सिनियर राष्ट्रिय टोलीबाट ३४ खेलमा ८ गोल गरेका विमल घर्तीमगरले अपेक्षित प्रदर्शन गर्न सकिरहेका छैनन्। यसैगरि अर्का अनुभवी खेलाडी नवयुग श्रेष्ठले सिनियर राष्ट्रिय टोलीका लागि २६ खेलमा ६ गोल गरेका छन्।

टोलीका सबैभन्द अनुभवी खेलाडी किरण चेम्जोङ र रोहित चन्द हुन्। गोलरक्षक किरण कप्तान समेत हुन्। मिडफिल्डर रोहित र किरण दुवैसँग विदेशका स्तरीय लिगमा खेलेको अनुभव छ।

सन् २०१४ को विश्वकपको एसियाली छनोटमा नेपालले एसियाका बलिया टोलीहरुमा गणना हुने जोर्डनसँग दोस्रो चरणमा प्रतिस्पर्धा गरेको थियो। जोर्डनको मैदानमा भएको खेलमा नेपाल ९-० गोलले पराजित भएको थियो। पछि, नेपालको मैदानमा भएको खेल भने बराबरीमा सकिएको थियो। त्यतिबेला गोलरक्षक किरण नै थिए। सिनियर राष्ट्रिय टोलीका लागि किरणले ६२ र रोहितले ६० खेल खेलेका छन्। अन्य सबै खेलाडी ३/४ वर्षयता मात्र सिनियर राष्ट्रिय टोलीमा भित्रिएका हुन्।

 

 

अशोज २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्