मेस्सीबिनाको अर्जेन्टिनासँग बराबरीमा रोकियो जर्मनी, २ गोलको अग्रता जोगाउन सकेन

बर्लिन : मैत्रिपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा दुई पूर्व विश्व च्याम्पियन जर्मनी र अर्जेन्टिनाबीच बुधबार राती बराबरी भएको छ। घरेलु मैदानमा भएको खेलमा जर्मनीले अर्जेन्टिनासँग २-२ गोलको बराबरी खेल्यो।

खेलमा २-० गोलको अग्रता लिएर पनि जर्मनीले जोगाउन सकेन। सर्जी जिनाब्रीले १६ र काई हेभर्ट्जले २२ औँ मिनेटममा गोल गर्दै जर्मनीलाई २-० गोलले अगाडि बढाएका थिए। तर लुकास अलारियोले ६६ र लुकास ओकाम्पोसले ८५ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा ल्याएका थिए। यो खेलका लागि मेस्सी अर्जेन्टिनी टोलीमा थिएनन्।

सन् २०१४ को विश्वकपको फाइनलमा भिडेयता यी दुई टोली दोस्रोपटक मैत्रिपुर्ण खेलमा प्रतिस्पर्धा गरेका हुन्। विश्वकपको फाइनलमा जर्मनीसँग १-० गोलले पराजित भएको अर्जेन्टिनाले त्यसको केहि महिनापछि भएको मैत्रिपुर्ण खेलमा भने ४-२ गोलको नतिजा निकालेको थियो।

मैत्रिपुर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा जर्मनीले अहिलेसम्म अर्जेन्टिनालाई हराउन सकेको छैन। सन् २००२ मा अर्जेन्टिनाले १-० गोलले हराएको थियो भने सन् २००५ मा भएको प्रतिस्पर्धा २-२ गोलको बराबरीमा सकिएको थियो। सन् २०१० को विश्वकप अघि भएको खेलमा अर्जेन्टिनाले १-० गोलले हराएको थियो

तर मुख्य प्रतियोगिताहरुमा भने प्राय जर्मनीले अर्जेन्टिनालाई निराश बनाएको छ। विश्वकपको १९९० को फाइनल, २००६ र २०१० को क्वाटरफाइनलमा जर्मनीले नै अर्जेन्टिनालाई हराएको थियो।

असोज २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्