संसदले निकाल्यो महरा पक्राउ परेको सूचना, अब सांसदको हैसियत पनि खोसियो

बलात्कार आरोप लागेका कृष्णबहादुर महरालाई पक्राउ गरेर लैजाँदै प्रहरी । तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – संघीय संसद सचिवालयले निवर्तमान सभामुख एवं सांसद कृष्णबहादुर महरा जबरजस्ती करणी उद्योगमा पक्राउ परेको सूचना निकालेको छ।

बिहीबार दसैँपछि कार्यालय खुलेको पहिलो दिनमै सचिवालयले महरालाई करणी उद्योगमा पक्राउ गरिएको जानकारी महानगरीय प्रहरी वृत्त बानेश्वरबाट प्राप्त भएको जनाएको हो।

संसद सचिवालयमा महरा पक्राउ परेको जानकारी प्राप्त गरेको सूचना जारी गरेसँगै महराले प्रतिनिधिसभा नियमावली २४४ को उपदफा ३ अनुसार सांसदको रुपमा कुनै काम गर्न नपाउने र सेवा सुविधा समेत रोकिने भएको छ।

संसद नियमावलीअुनसार फौजदारी अभियोगमा कुनै सांसद पक्राउ परेमा उसले अभियोगबाट अदालतबाट निर्दोष ठहर नहुन्जेल वा सजाय नभोगिन्जेल पदीय हैसियतले काम गर्न पाउँदैन। महराले सभामुख पदबाट भने असोज १४ गते नै राजीनामा दिइसकेका छन्।

 

 

असोज २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्