नेपालविरुद्ध अस्ट्रेलिया ५-० गोलले विजयी : सुरुका २३ मिनेटमा ३ गोल, अन्तिम ६७ मिनेटमा २ गोल

काठमाडौँ –  विश्वकप फुटबल २०२२ को एसियाली छनोटको दोस्रो चरणको प्रतियोगितामा नेपाल अस्ट्रेलियासँग ५-० गोलले पराजित भएको छ। अस्ट्रेलियाको क्यानबेरामा भएको खेलमा अस्ट्रेलियाका जेमी म्याकलरेनले ह्याट्रिक गरे। ह्यारी सौट्टरबाट दुई गोल भयो।

सुरुको २४ मिनेटमा ३-० गोलले अगाडी रहेको अस्ट्रेलियाले अन्तिम ६७ मिनेटमा २ गोल थप्यो।  छैटौँ मिनेटमा अस्ट्रेलियाले अग्रता लिएको हो। २६ वर्षीय मिडफिल्डर म्याकलरेनले सजिलै गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका हुन्।

विज्ञापन

१८ औँ मिनेटमा अस्ट्रेलियाले अग्रता दोब्बर बनायो। म्याकलरेनले नै हेडमार्फत गोल गरे। २३ औँ मिनेटमा ह्यारी सौट्टरले कर्नरबाट आएको बलमा हेडमार्फत गोल गरे।  ५९ औँ मिनेटमा सौट्टरले अस्ट्रेलियालाई ४-० गोलले अगाडि बढाए। इन्जुरी समयमा गोल थप्दै म्याकलरेनले ह्याट्रिक पुरा गरे।

डीफेन्सिभ खेलेको नेपालले अस्ट्रेलियाको गोलपोष्टसम्म एकपटक पनि आक्रमण गर्न सकेन।

समूहमा अस्ट्रेलियाको २  खेलबाट ६ अंक छ। नेपालको ३ खेलबाट तीन अंक छ। समूहमा जोर्डन र चाइनिज ताइपेई पनि छन्। पाँच टोली रहेको समूहको शीर्ष दुई टोली तेस्रो चरणमा पुग्नेछन्।

अशोज २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्