तथ्याङ्कमा नेपाल र अस्ट्रेलिया भिडन्त, सन्तोष मान्ने ठाउँ कति ?

काठमाडौं : विश्वकप फुटबल २०२२ को एसियाली छनोटको दोस्रो चरणको प्रतियोगितामा नेपाल बिहीबार अपरान्ह अस्ट्रेलियासँग ५-० गोलले पराजित भयो। अस्ट्रेलियाको क्यानबेरामा भएको खेलमा अस्ट्रेलियाका जेमी म्याकलरेनले ह्याट्रिक गरे। ह्यारी सौट्टरबाट दुई गोल भयो।

सुरुको २४ मिनेटमा ३-० गोलले अगाडी रहेको अस्ट्रेलियाले अन्तिम ६७ मिनेटमा २ गोल थप्यो।  छैटौँ मिनेटमा अस्ट्रेलियाले अग्रता लिएको हो। २६ वर्षीय मिडफिल्डर म्याकलरेनले सजिलै गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। म्याकलरेनले १८ औँ मिनेटमा दोस्रो गोल र दोस्रो हाफको इन्जुरी समयमा अर्को गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए। म्याकलरेन घरेलु लिग क्लब मेलबर्न सिटीका खेलाडी हुन्।

विज्ञापन

२० वर्षीय रक्षक सौट्टरको अस्ट्रेलियाको सिनियर राष्ट्रिय टोलीका लागि पहिलो खेल थियो। उनी उमेरस्तरको टोली हुँदै सिनियर टोलीमा आएका हुन्। खेलभर नेपालले एउटा पनि गतिलो आक्रमण गर्न सकेन। नेपाली खेलाडीलाई अस्ट्रेलियाको एरियामा बल पुर्‍याउनै हम्मेहम्मे पर्‍यो।

नेपाल एउटा स्ट्राइकरलाई लिएर खेलेको थियो। ६६ औँ मिनेटमा अभिषेक रिजालको स्थानमा विमल घर्तिमगरलाई छिराईएपनि अग्रपंक्तिमा फरक देखिएन। नेपालका कप्तानसमेत रहेका गोलरक्षक किरण चेम्जोङले केही गतिला आक्रमण विफल बनाएका थिए। पहिलो हाफको तुलनामा नेपालले मध्यान्तरपछि खुलेर र सुधारिएको प्रदर्शन गरेको थियो।

खेलमा अस्ट्रेलियाले ७५ प्रतिशत बल पोसेसन राखेको थियो। उसले गोलका लागि ३६ वटा आक्रमण गरेको थियो। नेपालबाट भने एउटा मात्र आक्रमण भयो। अस्ट्रेलियाले सात र नेपालले एउटा कर्नर प्रहार पाएको थियो। गोलकिपर किरणले पाँच वटा गतिला आक्रमण विफल बनाएका थिए।

समूहमा अस्ट्रेलियाको २  खेलबाट ६ अंक छ। नेपालको ३ खेलबाट तीन अंक छ। समूहमा जोर्डन र चाइनिज ताइपेई पनि छन्। पाँच टोली रहेको समूहको शीर्ष दुई टोली तेस्रो चरणमा पुग्नेछन्। अस्ट्रेलिया पछिल्ला लगातार चारसहित कुल पाँचपटक विश्वकप खेलेको टोली हो।

 

अशोज २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्