चिनियाँ राष्ट्रपतिको भ्रमण चाड जस्तै, नागरिकको साथ मिल्ने अपेक्षा: मन्त्री बाँस्कोटा

काठमाडौँ– चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणको तयारी पूरा भएको सरकारले जनाएको छ।

दुई देशबीचको सम्बन्ध र सहकार्य बिस्तार तथा थप मजबुद बनाउनका लागि महत्वपूर्ण अवसर रहेकाले सी को भ्रमणलाई चाडकै रुपमा मनाउने तयारी भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताएका छन्।

विज्ञापन

मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सी को भ्रमण नागरिकस्तरमा समेत अपेक्षा गरिएको भ्रमण रहेकाले नागरिक तहबाट पनि सहयोग मिल्ने आश रहेको बताए।

भ्रमणलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको उनले जानकारी दिए। भ्रमणका क्रममा कनेक्टिभिटी, अरनिको राजमार्गको स्तरोन्नती, केरुङ–छहरे सुरुङ मार्ग, रेल मार्ग, विद्युतको अन्तरदेशीय ट्रान्समिशन लाइन बिस्तारसहितका विषयमा छलफल तथा सहमति हुने उनले जानकारी दिए।

यस्तै चीनसँग जोडिएका उत्तरी सीमा नाका किमाथाङ्का, कोरल्ला र हिल्साको स्तरोन्तीका बारेमा पनि छलफल हुने मन्त्री बाँस्कोटाले जानकारी दिएका छन्। तर उनले सुपूर्दगी सन्धिका सम्बन्धमा भने अनविज्ञता प्रकट गरे।

कतिपय विषयले पूर्णता वा परिपक्क स्वरुप लिन समय लाग्ने बताउँदै सुपूर्दगी सन्धिमा सी कै भ्रमणका बेला सम्झौता नहुने संकेत पनि उनले गरेका छन्। दुई देशबीचको छलफलको क्रममा नयाँ विषयहरु पनि आउन सक्ने उनले बताएका छन्।

रेल मार्गबारे पनि छलफल हुने बताएका उनले त्यसले ठोस रुप लिने अवस्था भने नरहेको तर्फ संकेत गरे। पहिले डिपिआर बनेपछि नै यो विषयले गति लिन सक्ने मन्त्री बाँस्कोटाले उल्लेख गरेका छन्।

उनले राष्ट्रपति सी को भ्रमणले नेपाल र चीनबीचको पुरानो सम्बन्धलाई लोभलाग्दो अवस्थामा लैजाने बताए। सी लाई स्वागत गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी नै विमानस्थल पुग्ने संकेत पनि मन्त्री बाँस्कोटाले दिएका छन्। सी आउँदो शनिबार नेपाल आएर आइतबार फर्किने छन्।

अशोज २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्