हुम्लामा यस वर्ष कोदोको उत्पादन बढ्ने

सिमकोट– यस वर्ष हुम्लामा किसानहरुले लगाएको कोदोको उत्पादन वृद्धि हुने अनुमान गरिएको छ।

कोदोमा कुनै रोग नलागेको र आवश्यकता अनुसार पानी परेको हुँदा कोदोको उत्पादनमा उल्लेख्य वृद्धि हुने कृषि प्राविधिकहरुले बताएका छन्।

विज्ञापन

सात रोपनी बारीमा कोदो लगाएका सर्केगार्ड गाउँपालिका वडा नम्बर २ का किसान दानबहादुर फडेराले बारीमा लगाएको कोदो देखेर सन्तुष्टि व्यक्त गरेका छन्। यस पटक आफ्नो बारीमा कम्तीमा १५ क्वीन्टल कोदो फल्ने उनको विश्वास छ।

यस्तै खार्पुनथा गाउँपालिका वडा नम्बर ३ रायाका किसान जसबहादुर बुढा पनि कोदो खेती सप्रेकाे देखेर निक्कै खुसी देखिएका छन्। आफूले लगाएको कोदोको उत्पादनमा वृद्धि भएर खाद्यान्न समस्या पनि कम हुने उनको विश्वास छ।

फडेरा र बुढा मात्र होइन हुम्लामा अधिकांश किसानहरु कोदो बाली देखेर निक्कै खुसीसमेत देखिएका छन्। हुम्लाको नाम्खा गाउँपालिकाका वडा नम्बर ५ र ६ बाहेक सबैतिर कोदो फल्ने हुँदा प्रत्येक घरधुरीले कोदो खेती गर्ने गर्छन्। हुम्लामा कोदो सात वटै गाउँपालिकामा फल्ने कृषि ज्ञान केन्द्रले जनाएको छ।

यसमा पनि विशेष गरेर सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुलीमा बढी फल्ने गरेको छ। गत वर्ष ५ सय ४७ हेक्टर जमिनमा कोदो लगाएको भए पनि उत्पादन भने ४ सय ३५ मेट्रिकटन उत्पादन भएको थियो।

यस पटक त्यसको १५ प्रतिशतले कोदो उत्पादनमा वृद्धि हुने सिमकोट गाउँपालिकाको कृषि शाखाका प्रमुख नेत्र बहादुर शाहीले बताए।


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

अशोज २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्