चिनियाँ राष्ट्रपतिको भ्रमणका लागि उच्चस्तरीय सुरक्षा

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनफिङको दुई दिवसीय राजकीय भ्रमणका लागि उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको सरकारले बताएको छ । अति विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको हो ।

आवश्यक तयारीको सिलसिलामा दैनिक सुरक्षा समन्वयात्मक छलफल चलिरहेको र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रपति कार्यालयसम्म र बस्ने होटलसम्मको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । सो क्षेत्रमा सुरक्षासहित आवश्यक तयारीस्वरुप रिहर्सलसमेत भइरहेको उनले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीले असोज २५ र २६ गते नेपालको दुई दिवसीय राजकीय भ्रमण गर्ने तयारी छ । उनको सुरक्षाका लागि काठमाडौँको जिल्ला सुरक्षा समितिको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना सहभागी सुरक्षा समन्वय समितिले आन्तरिक सुरक्षाको जिम्मा लिएको छ । नेपाली सेनाका बलाधिकृत रथीको नेतृत्वमा समिति बनाएर सुरक्षाको प्रबन्ध मिलाइएको छ ।

उक्त समितिले विभिन्न चरणमा बैठक बसेर आवश्यक तयारी गरेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । जसले मुख्य सुरक्षाको जिम्मा लिने छ । काठमाडौँका प्रजिअ दाहालले तोकिएको मापदण्ड र सिद्धान्त अनुसारको सुरक्षाको व्यवस्था मिलाइएको बताए । उनले ललितपुर र भक्तपुरका सुरक्षाकर्मीसँगसमेत समन्वयमा तयारी गरिएको बताए ।

राष्ट्रपति सीको भ्रमणका लागि सुरक्षामा नेपाल प्रहरीको तर्फबाट नेतृत्व लिनुभएका प्रहरी अतिरीक्त महानिरीक्षक पुष्कर कार्कीले अन्तर्राष्ट्रिय विशिष्ट व्यक्ति आउँदा अपनाउने आवश्यक सुरक्षा व्यवस्था सबै अवलम्बन गरिएको जानकारी दिए ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीसहितको विशिष्ट पाहुनाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डलस्तरमा औपचारिक वार्ता गर्ने छन् । २३ वर्षपछि हुन लागेको भ्रमणले आपसी मित्रता र सहकार्य थप अभिवृद्धि हुने विश्वास गरिएको छ । महत्वपूर्ण विषयमा सम्झौतासमेत हुने जनाइएको छ ।

अशोज २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्