इरानको तेल ट्यांकरमा बिस्फोट तथा आगलागी, साउदी अरेबियामाथि आरोप

इरानको तेल ट्यांकरमा बिस्फोट हुँदा आगलागी भएको इरानका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । साउदी अरेबिया नजिकैको तटीय क्षेत्रमा रहेको तेल ट्यांकरमा बिस्फोट तथा आगलागी भएको उल्लेख गरिएको छ ।

इरानको राष्ट्रिय तेल कम्पनी (एनआइओसी) को ट्यांकर साउदी अरेबियाको जेद्दा बन्दरगाहबाट ९७ किलोमिटर पर थियो । ट्यांकरका दुईवटा तेल ट्यांकमा क्षति पुगेको जनाइएको छ ।

ट्यांकरमा रहेको इन्धन रेड सी मा पोखिएको छ । घटनामा कोही घाइते भएको जानकारी छैन । ट्यांकरमाथि दुईपटक आक्रमण भएको इरानको विदेश मन्त्रालयले दाबी गरेको छ, तर त्यसबारे थप विवरण भने खुलाइएको छैन । ट्यांकरमाथि मिसाइल आक्रमण भएको र सो मिसाइल साउदी अरेबियाको हुन सक्ने इरानको भनाई छ ।

अघिल्लो महिना साउदी अरेबियाका दुई ठूला तेल प्रशोधन केन्द्रमा मिसाइल आक्रमण भएको थियो । सो आक्रमण इरानले गरेको आरोप साउदी अरेबियाको छ । तर इरानले अस्वीकार गर्दै आएको छ ।

आक्रमणको जिम्मा इरानको साथ पाएको यमनको हुथी बिद्रोहीले लिएको छ । त्यसपछि साउदी अरेबिया र इरानबिचको सम्बन्धमा थप तनावको अवस्था छ ।

असोज २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्