रोनाल्डोलाई ७०० गोलमा पुग्न अब एक फड्को

पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो खेल जीवनको ‘माइलस्टोन’ ७०० औँ गोलको नजिक पुगेका छन् । उनले क्लब र राष्ट्रिय टिमका लागि ६९९ गोल गरिसकेका छन् ।

अब एक गोल गरेमा उनले खेल जीवनको ७०० गोलको आँकडा पूरा गर्ने छन् । रोनाल्डोले हालसम्म पोर्चुगलका लागि ९४ गोल गरेका छन् । यस्तै युभेन्टस, रियल मड्रिड, म्यानचेस्टर युनाइटेड तथा स्पोर्टिङ्ग लिस्बोन गरी क्लब खेलमा ६०५ गोल गरेका छन् ।

युरोकप फुटबलको छनौट चरण अन्तर्गत शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले लग्जेम्बर्गलाई ३–० ले पराजित गर्ने क्रममा रोनाल्डोले एक गोल गरे । ६५ औँ मिनेटमा गरेको गोल उनको खेल जीवनको ६९९ औँ गोल बन्यो । सो गोल राष्ट्रिय टिमका लागि ९४ औँ गोल थियो ।

युरोकपको छनौटमा पोर्चुगलले आउँदो सोमबार युक्रेनसँग किएभमा खेल्ने छ । सो खेलमा गोल गरेर ७०० गोलको आँकडा पूरा गर्ने विश्वको छैटौँ फुटबलर बन्ने मौका रोनाल्डोसँग छ ।

हालसम्म जोसेफ बिक्यान (८०५), रोमारिओ (७७२), पेले (७६७), फेरिन्क पुस्कास (७४६) तथा जेर्ड मुलर (७३५) गोल गरेका छन् । अब एक गोल गरेमा रोनाल्डो पनि सात सय गोलको आँकडामा हुने छन् । त्यसपछि सो आँकडाको लाइनमा लियोनल मेस्सी छन् । उनले हालसम्म ६७२ गोलगरेका छन् ।

असोज २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्