कपिलवस्तुको जगदिसपुर तालमा आप्रवासी चरा। तस्बिर : मनोज पौडेल
सन्दर्भः विश्व आप्रवासी चरा दिवस

आप्रवासी चराको रोचक नेपाल यात्रा

लामो तयारी र उस्तै लामो यात्रा तय गरेर धेरै चराहरु नेपालका विभिन्न क्षेत्र आउने क्रम जारी छ । हिउँद बिताउनका लागि चीन, मंगोलिया तथा रुसको साइबेलियासहितका क्षेत्रबाट चरा आउने क्रम सुरु भइसकेको छ । जाडो छल्न तथा अत्याधिक चिसोका कारण आहाराको अभाव हुँदा चराहरु महादेश नै पार गरेर नेपालसम्म आइपुग्ने गर्छन् ।

जाडो याम सुरु भएसँगै उत्तरतिरबाट अर्थात हिम शृङ्खलामाथिबाट उडेर चराहरु नेपालका विभिन्न स्थानमा आइपुग्छन् । उताको कहाली लाग्दो जाडो र आहराको अभाव छल्नका लागि यहाँ (नेपालमा) जाडो सुरु भएसँगै चराहरु आउन थाल्छन् ।

विज्ञापन

झण्डै ६ महिनाको बसाईका लागि आउने चराहरुमा आधा जति सिमसार तथा बाँकी आधा वन तथा घाँसे मैदान क्षेत्रमा आश्रित हुन्छन् । विशेष गरी हाँस प्रजातिका चराहरुले लामो यात्रा तय गरेर नेपालका सिमसारमा अस्थायी बास रोज्छन् । अरु प्रजातिका चराको गन्तव्य वन तथा घाँसे मैदान बन्छ ।

दक्षिणतिरबाट अर्थात गर्मी छल्नका लागि आउने चराहरुको गन्तव्य पनि नेपालका विभिन्न जंगल तथा चरन क्षेत्र पर्छन् । गर्मी तथा जाडो छल्नका लागि झण्डै २०० प्रजातिका चरा नेपाल आउँछन् । हिउँदमा आउने चराका प्रजातिको संख्या १५० को हाराहारीमा रहने गरेको छ । गर्मी छल्न आउनेमा ५० देखि ६० प्रजातिका चरा हुन्छन् ।

कपिलवस्तुको जगदिसपुर जलासय, कैलालीको घोडाघोडी ताल, बर्दियाको बढैया ताल, कास्कीको फेवाताल, सुनसरीको वर्जु ताल, रुपन्देहीको गैडहवा ताल, चितवनको बिसहजारी तालसहितका सिमसार क्षेत्रमा हाँस तथा गिद्ध प्रजातिका आप्रवासी चराले हिउँद बिताउने गरेको चराविद डा. हेमसागर बरालले बताए ।

हिउँदमा आउने चराहरु १३ हजार माइल भन्दा बढीको यात्रा पाँच दिन पाँच रातसम्मको उडान तय गरेर नेपालका विभिन्न क्षेत्र पुग्छन् ।

यात्राको तयारी

चराविद डा. हेमसागर बराल। तस्बिर : प्रभात खनाल/देश सञ्चार

बसाईँ सरेर आउने चराहरुले यात्राको तयारी केही हप्ता लगाएर गर्छन् । ‘हामीले जसरी लामो या धेरै दिनको यात्रा गर्नु पूर्व तयारी थाल्छौँ, बाटोमा चाहिने खानेकुरा राख्छौँ, त्यसैगरी चराहरुले पनि यात्राको तयारी गरेका हुन्छन्’ चराविद बरालले भने, ‘लगातार उड्ने अधिकांश चराहरुले यात्रा सुरु गर्नु पूर्वका केही हप्ता अत्याधिक चारो खाएर यात्राका लागि शक्ति सञ्चय गरेका हुन्छन् । उनीहरुले शरीरमा खानालाई फ्याटका रुपमा जम्मा गर्ने हुनाले मोटा हुन्छन् ।’

लगातारको उडानको क्रममा शरीरमा सञ्चय गरेको फ्याटलाई ‘बर्न’ गरेर चराहरु शक्ति प्राप्त गर्ने गर्दछन् । उनीहरुले सञ्चय गरेको शक्ति यात्राका क्रममा सकिने हुँदा नेपाल वा त्यो भन्दा पर भारतका विभिन्न क्षेत्र पुग्दा उनीहरु दुब्ला र ख्याउटे हुने गर्छन् ।

ती चरा उड्ने बेलामा सामान्य भन्दा तीन गुणासम्म मोटा हुन्छन् । यताबाट फर्कने बेलामा पनि उनीहरुको शक्ति सञ्चय वा यात्राको तयारी त्यस्तै हुन्छ ।  तर रोकिँदै वा बास बस्दै बसाईँ सर्ने प्रजातिका चराले यसरी शरीरमा शक्ति सञ्चय गरेका हुँदैनन् ।

जाडो छल्न मात्रै होइन बसाईँसराई


जाडो छल्नका लागि चराहरु चीनको विभिन्न भाग, मंगोलिया, कोरियाको छेउछाउ, रुससहितका क्षेत्रबाट आउँछन् । यस्तै साइबेरियाको आर्कटिक सर्कल, मध्य एसियाली क्षेत्र, पूर्वी युरोपका केही भाग, अफगानिस्तानसहितका क्षेत्रबाट यो समयमा चराहरु नेपाल आउने गरेका छन्।

यी चराहरु जोडो छल्नका लागि मात्रै नेपाल या भारतका क्षेत्रमा आउने होइनन् । अत्याधिक चिसोका कारण उनीहरुको स्थायी बसोबास रहने क्षेत्रमा आहारा (किरा फट्यांग्रा) को अभाव हुन्छ । चारोको खोजीका लागि पनि चराले कोशौँ लामो यात्रा तय गर्ने गरेको चराविदले बताएका छन्।

नेपालमा आउने प्रायः सबै आप्रवासी चराले बचेरा हुर्काएर आउँछन् । यहाँ समय बिताएर फेरि बचेरा हुर्काउन आफ्नै थातथलो फर्किन्छन् ।

अलौकिक गन्तव्य, तर जोखिम बढ्दो

कपिलवस्तुको जगदिसपुर तालमा आप्रवासी चरा। तस्बिर : मनोज पौडेल

नेपालका सिमसार तथा वन र घाँसे मैदानहरु समग्र चराका लागि राम्रो बासस्थान हुन् । आप्रवासी चराहरु बास र चारोको खोजीमा आउने चराहरुका लागि सिमसार तथा वन र घाँसे मैदानको विकल्पहरु छन् । चासो पनि छ ।

मानवीय गतिविधिका कारण सिमसार तथा वन र घाँसे मैदानहरु साँघुरिँदै या मासिने क्रम बढ्दा चराका लागि उपलब्ध क्षेत्र सीमित बनेको छ । यसको प्रभाव आप्रवासी चराको संख्यामा परेको छ । विगतको तुलनामा पछिल्ला वर्ष नेपाल आउने आप्रवासी चराको संख्यामा कमी आउन थालेको छ । यसको प्रमुख कारण बासस्थानको अभाव नै रहेको चराविद बरालले बताए ।

चराले बसाईँ सर्दा बासस्थान तथा त्यसका विकल्पहरु र त्यस वरपरको गतिविधिलाई मध्यनजर गर्ने गर्छन् । बासस्थान नजिकै आहाराको खोजीका लागि जान मिल्ने खेतीयोग्य जमिन वा जंगल भएको क्षेत्र चराको रोजाइमा पर्छ ।

तालतलैया, वन जंगल, घाँसे मैदानसँगै अन्नबाली उत्पादन हुने खेती योग्य जमिन भएका क्षेत्र चराको गन्तव्यमा पर्छन् । तर मासिँदै गरेको बासस्थान तथा जैविक खेती प्रणालीको सट्टा विषादीमा आधारिक खेतीले प्राथमिकता पाउँदा चराहरु समस्यामा परेका छन् ।

यस्तै जलवायु परिवर्तनका कारण तालतलैया सुक्ने, नदीहरुमा बहाव घट्दै जाँदा पनि आप्रवासी चराहरु समस्यामा परेका छन् । विशेष गरी मध्य पहाडी र चुरेबाट बग्ने खोलाहरु सुक्न थालेकाले समस्या भएको छ ।

सिमसार तथा नदी आसपासमा उद्योग बनाउने सफा पानी लैजाने र फोहोर पानी फाल्ने गरिएका कारण पनि जटिलता थपिएको छ । यसैगरी खेती प्रणाली सघन बन्दा पानीको प्रयोग बढेकाले आप्रवासीसहित सबै चराहरु समस्यामा परेका छन् ।

समस्यामा पर्नेमा विशेष गरी खास आहार भएका चराहरु सबैभन्दा अघि छन् । सिमसार क्षेत्र खुम्चिँदै जाँदा माछासहितका पानीमा बस्ने प्रजातिहरु आहार रहेका चराहरु समस्यामा परेको चराविद डा. बरालले बताए ।


पुनश्चः शनिबार विश्व आप्रवासी चरा दिवस मनाईँदै छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शनिबार यो दिवस मनाईन्छ । दिवसको अवसरमा यो वर्ष चराको संरक्षणका लागि प्लाष्टिकजन्य फोहोरको समाधानमा जोड दिइएको छ ।

यस्तै आप्रवासी चराको संरक्षणका लागि उनीहरुको उडान मार्ग (बसाईँसराई गर्दा प्रयोग गर्ने मार्ग) लाई सुरक्षित बनाउनु पर्ने विश्वभरका चराविदले बताएका छन् । आप्रवासी चराको उडान मार्ग जोखिम पूर्ण हुन्छ । मार्गमा आहारा नपाउनु तथा शिकारीको जालोमा पर्नु उनीहरुका प्रमुख जोखिम हुन् ।