युरोकप फुटबल छनौट

इटालीले युरोकपका स्थान बनायो

इटाली आउँदो वर्ष हुने युरोकप फुटबलमा स्थान बनाउन सफल भएको छ । गएको वर्ष रुसमा भएको विश्वकप फुटबलमा छनौट हुन नसकेको इटालीले महादेशीय प्रतिस्पर्धा युरोकपको आगामी संस्करणमा भने सजिलै स्थान पक्का गर्न सफल भएको हो ।

युरोकप छनौट अन्तर्गत समूह जे मा रहेको इटालीले शनिबार राति भएको खेलमा ग्रिसलाई २–० ले पराजित गरेर छनौट भएको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा इटालीले दुवै गोल दोस्रो हाफमा गरेको हो ।

६३ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै जोर्जिन्होले गोल गर्दै इटालीलाई सुरुवाति अग्रता दिलाए । फेडेरिको बेर्नार्डेस्कीले ७८ औँ मिनेटमा गोल गरेपछि इटाली २–० ले विजयी भयो ।

सात खेलबाट २१ अंकसहित इटाली समूहको शीर्ष स्थानमा छ । यसको अर्थ १० अंक रहेको तेस्रो स्थानको अर्मेनियाले कुनै पनि हालतमा उसलाई छनौट हुनबाट रोक्न सक्दैन ।

आइतबार राति नै भएको खेलमा अर्मेनिया लिचेस्टाइनसँग १–१ को बराबरीमा रोकियो । यस्तै बोसनिया हर्जगोबिनासँग ४–१ ले पराजित भएको फिनल्याण्ड १२ अंकसहित समूहको दोस्रो स्थानमा छ ।

असोज २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्