साथको वचन दिएर अमेरिकाले एक्लै छोड्यो

टर्कीले सिरियाको उत्तरी क्षेत्रमा कुर्दिस समुदायलाई लक्षित गरी सैन्य अभियान चलाउँदा सर्वसाधारण बिस्थापित भएका छन् । अमेरिकाले साथ छोडेपछि कुर्दिसहरु समस्यामा परेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी सिरियाबाट सैनिक फिर्ता बोलाउने निर्णय गरेसँगै टर्कीले आक्रमण सुरु गरेको हो । टर्कीको आक्रमणका लागि अमेरिकाले स्वीकृति दिएको आरोप छ । तर ट्रम्प प्रशासनले त्यसलाई अस्वीकार गरेको छ ।
कुर्दिस बाहुल्य क्षेत्रमा सिरियाली सरकार विरुद्ध सिरियन डेमोक्र्याटिक फोर्सले चलाइरहेको अभियानमा अमेरिकाले साथ दिँदै आएको थियो ।
तर अहिले अमेरिकाले उनीहरुलाई एक्लै छोडेको छ । अन्तर्राष्ट्रिय रुपमा आलोचना भइरहेको टर्कीको आक्रमणका कारण एक लाख भन्दा बढी कुर्दिस बिस्थापित भएका छन् ।
सिरियन डेमोक्र्याटिक फोर्सेजका प्रवक्ता रेदुर खलिलले कुर्दिसले इमानदारी कामय गरेको तर सहयोगीहरुले निराश बनाएको बताएका छन् । आफूहरुको सहयोग गर्नु अमेरिकाको नैतिक जिम्मेवारी रहेको उनले बताएका छन् ।
सहयोग गर्ने वचन दिएर पनि अमेरिकाले आफूहरुलाई एक्लै पारेको आरोप कुर्दिसको छ । इस्लामिक बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) विरुद्धको लडाईँमा अमेरिकालाई कुर्दिसले साथ दिएका हुन् । तर अमेरिकाले अहिले साथ छोडेको छ ।