दाङ– पुष्पा शान्ता कामीकी छोरी हुन् । उनको विवाह घोराहीमा भएको छ । पुष्पा माइती आउँदा उनका श्रीमान् र छोरीहरु सुत्ने ठाउँको सधैँ अभाव हुन्थ्यो । छिमेकी र आफन्तकोमा सुत्न जानुपर्थ्यो । तर, यसपालिको दसैँमा बास बस्न अरुको घरमा जानु परेन ।

‘सरकारले घर बनाइदिएको रहेछ, बास बस्न सजिलो भयो, पुष्पाले भनिन् ‘आमाको सपना टिनले छाएको, पक्की इट्टाको गार्‍हो लागेको घरमा बस्ने थियो । त्यो सपना अब पूरा भयो ।’

पुष्पाकी ६० वर्षीया आमा शान्ता कामी खरले छाएको कच्ची घर नजिक टिनको छानो भएको घर उभिएको देख्दा खुशी छिन् । ‘पक्की घरमा टिनको छानो हालेपछि सुत्न थालिसक्यौँ’, उनले भनिन् ‘जीवनको एउटा सपना पूरा भएको छ ।’ तीन महिना अघि शान्ताको घर निर्माण सुरु भएको हो ।

पक्की इट्टाको गाह्रो, टिनको छानो, बरण्डा र शौचालयसहितको घर पाउँदा दलित समुदायका विपन्न वर्गका नागरिक खुशी भएका हुन् । ‘जसले हामी जस्ता गरिब, दुःखीको घरमा टिनको छानोसहितको घर बनाइदिनु भयो, उहाँलाई हामीले कहिल्यै भुल्ने छैनौँ’, दिलमाया विकले भनिन्, ‘पक्की घरले परिवारमा खुशी फर्किएको छ ।’

शहरी विकास तथा भवन कार्यालय दाङ मार्फत गत आर्थिक वर्षबाट जनता आवास कार्यक्रम मार्फत निर्माण थालिएका एक सय ९२ घरको निर्माण कार्य ९० प्रतिशत पूरा भएको छ । ‘आर्थिक वर्षको अन्त्यतिर मात्रै बजेट प्राप्त भयो । कार्यान्वयन ढिलो सुरु भएपनि तीव्रताका साथ घर निर्माण अघि बढेको छ’, शहरी विकास तथा भवन कार्यालय दाङका प्रशासन प्रमुख शेरबहादुर केसीले भने, ‘अब अन्तिम किस्ता वितरणको तयारीमा छौँ ।’

दाङ जिल्लामा गत वर्ष १९२ घर बनाउन ६ करोड ३८ लाख ४० हजार बजेट थियो । चालू आर्थिक वर्षमा जिल्लामा दुई सय ६७ घर बन्ने भएको छ । जस अनुसार दाङ निर्वाचन क्षेत्र नम्बर १ (ख) मा ४४ वटा घर बन्ने भएको हो ।

असोज २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्