जापानमा शक्तिशाली आँधी, उद्धार तथा राहतका लागि सैनिक परिचालन

शक्तिशाली समुद्री आँधी हागिबिसका कारण जापानमा कम्तिमा १८ जनाको ज्यान गएको छ। पछिल्लो ६० वर्ष यताकै शक्तिशाली आँधीका कारण जापानको जनजीवन प्रभावित भएको छ ।

स्थानीय समय अनुसार शनिबार बेलुका ७ बजे हागिबिस आँधी टोकियोबाट दक्षिण–पश्चिममा रहेको इजु प्रायद्विपको भूमिमा ठोक्किएको हो । आँधीका कारण मुसलधारे पानी परेको छ भने तीव्र गतिमा हावा चलेको छ । जसका कारण जापानका अधिकांश क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ ।

आँधीका कारण प्रभावित भएकाहरुको उद्धार तथा राहतका लागि जापानले सैनिक तथा उद्धारकर्मी परिचालन गरेको छ । कुल २७ हजार सैनिक तथा उद्धारकर्मी खटाइएको जनाइएको छ ।

हाल हागिबिस आँधी २२५ किलोमिटर प्रति घण्टाको गतिमा जापानको पूर्वी तटीय क्षेत्र तर्फ लागेको छ । आँधीको मार्गमा जापानको मुख्य आवादी क्षेत्र पर्छ । आँधीका कारण चार लाख भन्दा बढी घरमा विद्युत आपूर्ति बन्द भएको जापानको सञ्चार संस्था एनएचकेले उल्लेख गरेको छ ।

आँधी अति शक्तिशाली रहेकाले ७० लाख मानिसलाई घर छोडेर सुरक्षित स्थानमा जान भनिएको छ । टोकियोमा मात्रै आधा मिटरसम्म पानी पर्न सक्ने जापानको मौसम विभागले जनाएको छ । आँधीका कारण हवाई तथा स्थल यातायात सेवा बन्द भएका छन् ।

असोज २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्