भारतको मैदानमा विपक्षी निरिह, लगातार ११ औँ टेस्ट शृंखला हार

नयाँ दिल्ली : भारतले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टेस्ट क्रिकेट शृंखला जितेको छ। दोस्रो खेलमा आइतबार पाली र एक सय ३७ रनको जित हात पार्दै भारत २-० ले अगाडि बढ्यो। भारतले घरेलु मैदानमा लगातार ११ औँ टेस्ट शृंखला जित हात पारेको हो।

पहिलो पालीमा दुई सय ७५ रनमा सिमित भएपछि फलो अनमा परेको दक्षिण अफ्रिका दोस्रो पालीमा चौथो दिन आइतबार एक सय ८९ रनमा समेटियो।

विज्ञापन

भारतले पहिला पाली ६ सय एक रन जोडेर समाप्तीको घोषणा गरेको थियो। भारतको  पहिलो पालीमा विराट कोहलीले दुई सय ५४ र मायांक अग्रवालले एक सय ८ रन जोडेका थिए।

दोस्रो पालीमा दक्षिण अफ्रिकालाई सस्तोमा समेट्न उमेश यादब र रविन्द्र जडेजाले तीन तीन विकेट लिए। रविचन्द्रन आश्विनले पनि दुई विकेट लिए। पहिलो पालीमा भारतका आश्विनले चार, उमेशले तीन र मोहम्मद सामीले दुई विकेट लिएका थिए।

भारतले पहिलो टेस्ट दुई सय ३ रनले जितेको थियो। भारतले सन् २०१२/१३ यता घरेलु मैदानमा टेस्ट शृंखला हार ब्यहोरेको छैन। भारतले अन्तिमपटक घरेलु मैदानमा इङ्ल्यान्डसँग टेस्ट शृंखला हार व्यहोरेको थियो।

भारतले समग्रमा लगातार चौथो टेस्ट शृंखला जित हात पारेको हो। भारतले अन्तिमपटक इङ्ल्यान्डसँग टेस्ट शृंखला हारेको थियो गत वर्ष इङ्ल्यान्डको मैदानमा। भारत हाल टेस्ट वरियतामा शीर्षस्थानमा रहेको छ।

अशोज २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्